close

ह्वाट्सएपको नयाँ गोपनीयता नीति यसकारण छ चिन्ताजनक

टेकपाना टेकपाना

माघ ३, २०७७ १४:३५

ह्वाट्सएपको नयाँ गोपनीयता नीति यसकारण छ चिन्ताजनक

काठमाडौं । ह्वाट्सएप विश्वमै सर्वाधिक प्रयोग गर्ने म्यासेजिङ एप हो । यसको म्यासेजिङ, कलिङ फिचरमा मानिसहरुं यति धेरै निर्भर छन् कि यो जीवनको महत्वपूर्ण पाटो जस्तै बनिसकेको छ ।

तर अब ह्वाट्सएप प्रयोगकर्ताहरुको अनलाइन क्रियाकलापमा एउटा परिवर्तन आउँदैछ, जुन गोपनीयतासँग जोडिएको छ । किनभने ह्वाट्सएपले आफ्नो गोपनीयता नीति तथा शर्तमा केही कुरा परिवर्तन गर्दैछ । युरोपभन्दा बाहिर हरेक मुलुकका नागरिक अर्थात् हामी नेपालीहरुमाथि पनि यो नीति लागू हुनेछ ।

साथै यदि तपाईं आगामी दिनमा पनि ह्वाट्सएपको साथ चाहनुहुन्छ भने यो नीति र शर्त तपाईले स्वीकार्नै पर्छ । स्वीकारोक्ति दिनुभयो भने गोपनीयतामा आँच आउनेछ, दिनुभएन भने अकाउन्ट नै चल्ने छैन ।

तपाईं आईओएस वा एन्ड्रोइडको प्रयोगकर्ता हुनुहुन्छ भने ह्वाट्सएपले आफ्नो गोपनीयता नीति र शर्तमा ल्याएको परिवर्तन मोबाइलमा नोटिफिकेसनको माध्यमबाट दिइरहेको छ ।

उक्त नोटिफिकेसनमा ८ फेब्रुअरी २०२१ सम्म त्यसलाई मन्जुरी दिन अनिवार्य रहेको स्पष्ट उल्लेख छ । यदि तपाईंले त्यसलाई स्वीकार गर्नुभएन भने तपाईंको अकाउन्ट बन्द हुनेछ । यसको अर्थ ८ फेब्रुअरीपछि तपाईंको अकाउन्ट जे पनि हुनसक्छ ।

ह्वाट्सएपले यो काम हामीबाट जबरजस्ती गराइरहेको छ ।

नयाँ गोपनीयता नीतिमा के छ ?

सामान्यतय कुनै पनि नीतिमा प्रयोगकर्ता सहमत हुने नहुने दुवै विकल्पहरु राखिएका हुन्छन् । तर यसपटक यस्तो छैन । यी दिनसम्म आइपुग्दा ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षाको सम्मान गर्ने बताउँदै आएको थियो ।

तर ४ जनवरीमा अद्यावधिक गरिएको नयाँ नीतिमा गोपनीयता र सुरक्षाप्रति ह्वाट्सएपको जोड शब्द नै हराएर गएको छ । त्यसमाथि ह्वाट्सएपले फेसबुक ब्राण्डका अन्य कम्पनीसँग प्रयोगकर्ताको डेटा साझा गर्ने कुरा खुल्ला रुपमा बताएको छ ।

नयाँ गोपनीयता नीति अनुसार ह्वाट्सएपले प्रयोगकर्ताको इन्टरनेट प्रोटोकल एड्रेस अर्थात् आईपी एड्रेस फेसबुक, इन्स्टाग्राम वा अन्य कुनै तेस्रो पार्टीलाई दिन सक्नेछ ।

ह्वाट्सएपले अब तपाईंको डिभाइसको सिग्नल स्ट्रेन्थ, ब्याट्री लेभल, एप भर्सन, ब्राउजरको जानकारी, एप भर्सन, भाषा, टाइम जोन, फोन नम्बर, मोबाइल वा इन्टरनेट सेवा प्रदायक सम्बन्धि जानकारी पनि संकलन गर्नसक्दछ ।

पुरानो गोपनीयता नीतिमा यस्तो कुनै व्यवस्था थिएन ।

यदि तपाईं आफ्नो मोबाइलबाट ह्वाट्सएप मात्र डिलिट गर्नुहुन्छ र माइ अकाउन्ट सेन्सरमा गएर इन एपको अप्सन चयन गर्नुभएन भने तपाईंको सबै डेटा ह्वाट्सएपसँग रहन्छ । ह्वाट्सएपको एप डिलिट गर्दा मात्र तपाईं सुरक्षित हुन सक्नुहुँदैन ।

नयाँ नीतिमा ह्वाट्सएपले स्पष्टरुपमा भनेको छ कि उसको मुख्यालय र डेटा सेन्टर अमेरिकामा भएको हुँदा आवश्यक परेको खण्डमा प्रयोगकर्ताको निजी जानकारीलाई उसले त्यहाँ स्थानन्तरण गर्न सक्छ । अमेरिकामा मात्र होइन ह्वाट्सएप र फेसबुकको कार्यालय भएको जुनसुकै ठाउँमा त्यो पुर्‍याउन सक्छ ।

नयाँ नीतिको अनुसार तपाईंले ह्वाट्सएपको लोकेसन फिचर प्रयोग नगरेपनि तपाईंको आईपी एड्रेस, लोकेसन, फोन नम्बर देश तथा शहर जस्ता जानकारीहरु ह्वाट्सएपसँग हुनेछ । यदि तपाई ह्वाट्सएपको विजनेस अकाउन्ट प्रयोग गर्नुहुन्छ भने तपाईंको विजनेसको जानकारी फेसबुक तथा अन्य बिजनेससँग सम्बन्धित संस्थाहरुमा पुग्नेछ ।

ह्वाट्सएपले भारत लगायतका मुलुकमा आफ्नो पेमेन्ट सेवा पनि सुरु गरिसकेको छ । यसबाट त ह्वाट्सएपले अझ धेरै निजी जानकारीहरु लिनेछ । जस्तै तपाईंको पेमेन्ट अकाउन्ट तथा कारोबारसम्बन्धी जानकारी ।

फेसबुकले २०१४ मा १९ अर्ब डलरमा ह्वाट्सएपको स्वामित्व खरिद गरेको थियो । २०१६ को सेप्टेम्बर महिनादेखि नै ह्वाट्सएपले यो डेटा फेसबुकसँग साझा गर्दै आइरहेको छ ।

तर ह्वाट्सएप यसले सामान्य प्रयोगकर्ताको जीवनमा कुनै असर नगर्ने बताउँछ ।

साइबर सुरक्षा विशेषज्ञ तथा ‘ह्वाट्सएप ल’ किताबका लेखक पवन दुग्गल ह्वाट्सएपको नयाँ नीतिले प्रयोगकर्ताको मात्र नभएर गोपनीयता सुरक्षा सम्बन्धी देशको कानुनको समेत उल्लंघन भएको बताउँछ । तर ह्वाट्सएपले आफू क्यालिफोर्नियाको कम्पनी भएको कारण त्यहाँको कानूनको अधिनमा रहेर काम गरिरहेको दाबी गर्दछ ।

तर कम्पनीहरुले जहाँसुकै बसेर सञ्चालन भइरहे पनि आफूले सेवा प्रदान गरिरहेको मुलुकको कानुनको परिपालना गर्नुपर्दछ । तर ध्यानपूर्वक हेर्नुभयो भने ह्वाट्सएपले युरोप, अमेरिका तथा ब्राजिल जस्ता क्षेत्रहरुमा फरक फरक नीति लागू गरेको छ ।

यसरी यस किसिमका विषयलाई सम्बोधन गर्नसक्ने नेपालमा आईटी बिलको कानून पारित नभइसकेको अवस्थामा ह्वाट्सएपको यस प्रकारको नयाँ नीतिले थप चिन्ताजनक अवस्था सृजना गरेको छ ।

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१