close

१९ मिनेटमै मोबाइल फुल चार्ज हुने प्रविधि ल्याउँदै साओमी

टेकपाना टेकपाना

माघ ३, २०७७ १७:१७

१९ मिनेटमै मोबाइल फुल चार्ज हुने प्रविधि ल्याउँदै साओमी

काठमाडौं । प्रविधिको क्षेत्रमा समयसँगै निकै तीव्र रुपमा आविष्कारका गतिविधि भइरहेका छन् । यसै क्रममा चीनको लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी साओमीले समेत फास्ट चार्जिङ तथा वायरलेस चार्जिङ प्रविधिमा केन्द्रीत भएर नयाँ खोज तथा आविष्कार गरिरहेको छ ।

कम्पनी चाँडै नै ८० वाट वायरलेस फास्ट चार्जिङ प्रविधि प्रयोगकर्तामाझ ल्याउने तयारीमा छ । जुन आगामी दिनमा कम्पनीले उत्पादन गर्ने स्मार्टफोन, ल्यापटप लगायतका उपकरणमा प्रयोग हुनेछ ।

साओमीले हालै मात्र सार्वजनिक गरेको साओमी मि टेन अल्ट्रा तथा साओमी मि इलाभेन जस्ता फ्ल्यागशिप स्मार्टफोनमा ५० वाटको फास्ट चार्जिङ फिचर दिएको छ । अब आउँदा दिनमा भने कम्पनीका आफ्ना फ्ल्यागशिप मोबाइल ८० वाट फास्ट चार्जिङ प्रविधियुक्त हुनेछन् ।

लोकप्रिय टिप्सटर डिजिटल च्याट स्टेसनले केही समयअघि भिबोलाई हवाला दिँदै साओमीले आफ्ना अपकमिङ फ्ल्यागशिप स्मार्टफोनमा ८० वाट वायरलेस चार्जिङ प्रविधि परीक्षण गरिरहेको खुलासा गरेको थियो ।

साथै चाँडै नै प्रमाणीकरणको प्रक्रिया पुरा गरेर त्यसको उत्पादन सुरु हुने बताइएको छ । यद्यपि साओमीका निकट भविष्यमा सार्वजनिक हुने स्मार्टफोनमा यो प्रविधि समावेश हुनेछ कि हुनेछैन भन्ने कुरा आधिकारिक रुपमा भने पुष्टी हुन बाँकी छ ।

साओमीले आउँदो फेब्रुअरीमा आफ्नो फ्ल्यागशिप स्मार्टफोन साओमी मि इलाभेन प्रो सार्वजनिक गर्दैछ । साओमीले गत वर्ष अक्टुबरमै ८० वाट वायरलेस चार्जिङ प्रविधि प्रदर्शन गरेको थियो । यो प्रविधिबाट १९ मिनेटमै मोबाइल फुल चार्ज हुनेछ ।

यसका लागि विशेष प्रकारको स्ट्याण्ड बनाइएको छ, जसमा स्मार्टफोन फिट हुन्छ । यद्यपि अचेल मोबाइलमा फास्ट चार्जिङ तथा वायरलेस चार्जिङ जस्ता फिचर अत्यावश्यक मानिन थालेका छन् ।

यस्तोमा प्रयोगकर्ताले समेत स्मार्टफोन निर्माता कम्पनीहरुसँग चाँडै नै छिटो चार्ज हुने प्रविधिको अपेक्षा समेत गरिरहेका छन् । सामसङ, एप्पल, भिभो, ओप्पो, वनप्लस, ह्वावे, अनर, मोटोरोला लगायतका कयौं कम्पनीहरु आ-आफ्नै किसिमका फास्ट चार्जिङ प्रविधि विकास गर्ने प्रयासमा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१