close

स्नातकमा सबैले पढ्न मिल्ने आईटी कार्यक्रम – बीसीए

टेकपाना टेकपाना

माघ ३, २०७७ १८:९

स्नातकमा सबैले पढ्न मिल्ने आईटी कार्यक्रम – बीसीए

काठमाडौं । नेपालमा सूचना प्रविधिसम्बन्धी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । तर सबै विद्यार्थीले सबै आईटी कार्यक्रम पढ्न पाउँदैनन् । आईटी आफैमा प्राविधिक र प्रयोगात्मक शैक्षिक कार्यक्रमको रुपमा चिनिन्छ । सैद्धान्तिक विषय पढेर आएका विद्यार्थीले आईटी पढ्न सक्दैनन् वा पढ्न पाउँदैनन् भन्ने बुझाइ धेरैलाई हुन सक्छ ।

तर अब आईटी र यसमा पनि कम्प्युटर एप्लिकेशनको पाटो हरेकले थाहा पाउनुपर्ने, प्रयोग गर्नुपर्ने अवस्था आएको छ । विशुद्ध प्राविधिक सोचले मात्रै समाजमा भएका समस्या र त्यसको व्यवस्थापन गर्न सकिँदैन । यसकारण सामाजिक शास्त्र अन्तर्गतका विषय पढेका विद्यार्थीलाई पनि सूचना प्रविधि शिक्षा जरुरत देखिन्छ ।

यही कारण नेपालको जेठो विश्वविद्यालय त्रिभवुन विश्वविद्यालयले केही वर्षदेखि बीसीए (ब्याचलर्स इन कम्प्युटर एप्लिकेशन) कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत राखिएको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन संकाय नपढेका विद्यार्थीले पनि यस्तो आईटी कार्यक्रम अध्ययन गर्न सक्छन् ।

४ वर्षे यो शैक्षिक कार्यक्रम अध्ययन गरेपछि कम्प्युटर ल्याङ्ग्वेज, कम्प्युटर सिस्टम, एप्लिकेसन तथा सफ्टवेयरकाे क्षेत्रमा काम गर्न सकिन्छ । यो कोर्षले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिस्टम तथा एप्लिकेसनहरुमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग गर्ने बताइएको छ ।

उच्च मावि तह (प्लस टु) सकेका विद्यार्थीका लागि आईटी तथा कम्प्युटिङ क्षेत्रमा काम गर्ने अवसर यस कोर्सले प्रदान गर्नुका साथै यसपछि एमसीए अर्थात् मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसीए), एमएससी आईटीलगायतका कोर्स अध्ययन गर्ने बाटो खुल्नेछ ।

त्रिविले आफ्ना ६ आंगिक क्याम्पसबाट चार वर्षको बीसीए कार्यक्रम सुरु गरेको थियो भने हाल १ सय १६ कलेजहरुमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

यो आईटी काेर्ष गरेपछि अन्य कोर्षजस्तै विद्यार्थी आईटी उद्योगसँगै अन्य क्षेत्रका आईटी काम गर्न योग्य हुन्छन् ।

यो कोर्ष गरेपछि कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम म्यानेजर, कम्प्युटर सिस्टम स्पेसलिस्ट, आईटी अफिसर, नेटवर्क एन्ड कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर आदि क्षेत्रमा करिअर बनाउन सकिन्छ ।

यतिमात्रै होइन ग्य्राजुएट्सले इथिकल ह्याकर, वेब डेभलपर, ग्राफिक डिजाइनर, सोसल मिडिया ह्यान्डलर, वेबसाइट डेभलपर, एप्लिकेसन डेभलपर, रिसर्चरलगायतका रुपमा सरकारी, गैरसरकारी तथा आईटी कम्पनीहरुमा काम गर्न सक्छन् ।

सफ्टवेयर इन्जिनियरिङ, डेभलपमेन्ट तथा रिसर्चको क्षेत्रमा भविष्य बनाउन चाहनेका लागि बीसीए एक उत्तम विकल्प हुन सक्छ ।

यसैबीच त्रिभुवन विश्वविद्यालयले बीसीएको इन्ट्रान्स एक्जामको घोषणा गरेको छ । बीसीए पढ्न कक्षा ११ र १२ मा सीजीपीए २.० सहित कम्तीमा हरेक विषयमा डी प्लस ग्रेड ल्याउनुपर्छ ।

विद्यार्थीले भोलि आइतबार अर्थात् माघ ४ गतेदेखि फागुन १० गतेसम्म एप्लिकेशन फर्म भर्न सक्छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजबाट एप्लिकेशन फर्म लिन सकिन्छ । अथवा यो वेबसाइटमा गएर पनि एप्लिकेशन डाउनलोड गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१