close

अनलाइनबाट सरकारी सेवा लिन आफ्नै नाममा सिमकार्ड हुन आवश्यक

टेकपाना टेकपाना

माघ ३, २०७७ २२:४०

अनलाइनबाट सरकारी सेवा लिन आफ्नै नाममा सिमकार्ड हुन आवश्यक

काठमाडौं । शुक्रबार सरकारले सबै सार्वजनिक सेवा एउटै मोबाइल एपबाट दिने उद्देश्यसहित नागरिक एप ल्यायो । २४ घन्टामै यो एप एक लाखभन्दा धेरै डाउनलोड भयो । तर, धेरै प्रयोगकर्ताले भिन्न भिन्न गुनासा गर्न थालेका छन् ।

यसअन्तर्गत अर्कैको नाममा सिम भएका प्रयोगकर्ताले सुरुमै एप लगईन गर्न सक्दैनन् । यसकारण आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ र आफ्नो नाममा कसरी नामसारी गर्ने भनेर जानकारी लिनु आवश्यक छ ।

सरकारका हरेक सेवा अनलाइनमैत्री हुँदा त्यसअनुरुप आमनागरिक तयार हुन जरुरी हुन्छ । उदाहरणका लागि, आफ्नो नाममा सिमकार्ड प्रयोग गर्दा सार्वजनिक सेवाको उपभोगमा धेरै सहज हुने देखिन्छ ।सरकारले राष्ट्रिय परिचय पत्रलाई समेत व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउन लागेको बताउने गरेको छ ।

अर्कोतर्फ एकजना व्यक्तिको नाममा एउटै सेवा प्रदायकका दुईभन्दा बढी सिम कार्ड नरहने व्यवस्था गर्दै नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई निर्देशन समेत दिइसकेको छ ।

सिमकार्ड व्यक्तिको बैंकिङ कारोबारदेखि अन्य विभिन्न प्रयोजनमा समेत उपयोग हुने भएकाले यसलाई सुरक्षाको हिसाबले पनि हेर्न थालिएको छ ।

त्यसैले प्राधिकरणले विभिन्न समयमा सूचना जारी गर्दै सिमकार्ड आफ्नै नाममा दर्ता गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ । सेवा प्रदायकले पनि यसबारे आफ्ना प्रयोगकर्तालाई सजग गराउँदै आएका छन् ।

यसैक्रममा नेपाल टेलिकमका ग्राहकले अनस्टक्चर सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सक्छन् ।

यसको लागि टेलिकमका सिम प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर थाहा पाउन सक्नेछन् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ । *९२२# डायल गरी दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १ तथा होइन भने २ नम्बर टाइप गरी पठाउनुहोस् ।

यो लेखमा टेलिकमका ग्राहकले अर्काको नाममा रहेको सिम आफ्नो नाममा नामसारी गर्न के के गर्नुपर्छ, त्यसबारे चर्चा गरेका छौं ।

यदि तपाईं नेपाल टेलिकमको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अब सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने अवस्था आएको छ । त्यसकालागि सुरूमा सिमकार्ड कसकाे नाममा छ पत्ता लगाउन आवश्यक छ ।

त्यति गरेर तपाईं टेलिकमको कार्यालय भने अनिवार्य रुपमा पुग्नुपर्नेछ । टेलिकमले प्रिपेड र पोस्टपेड गरी दुई फरक सिमकार्ड उपलब्ध गराउँदै आएकाले सिमकार्ड नामसारीको प्रक्रिया पनि सिम अनुसार फरक नै रहेको छ ।

१. प्रिपेड

टेलिकमका अनुसार यदि प्रिपेड प्रयोगकर्ताले अन्य व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्नुपरेको खण्डमा लामो समयदेखि उक्त सिमकार्ड आफैले प्रयोग गरिरहेको हुनुपर्छ ।

यदि त्यसो भएको खण्डमा तपाईं सक्कली नागरिकताको साथमा एक प्रति नागरिकताको फोटोकपी र एक प्रति फोटाे लिएर कार्यालयमा पुग्नुपर्ने हुन्छ । त्यहाँ तपाईंले कबुलियत नामको एउटा फर्म भनुपर्ने हुन्छ ।

त्यस्तै विगत ६ महिनाभित्र उक्त सिमकार्ड बाट कल गर्नुभएको ५–७ ओटा नम्बर भेरिफाइ गर्नुपर्ने हुन्छ । यति गरेर तपाईंले अर्को व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्न सक्नुहुन्छ । यसका लागि ५० रुपैयाँ शुल्क लाग्नेछ ।

२. पोस्टपेड

पोस्टपेडको हकमा भने नामसारीको प्रक्रिया केही झन्झटिलो रहेको छ । त्यसका लागि सिमकार्ड लिने र सिमकार्डमा नाम भएका दुवै व्यक्ति कार्यलयमा उपस्थिति हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उक्त व्यक्तिको वारिसनामा सहित कार्यालयमा पुग्नुपर्नेछ ।

त्यतिमात्रै नभएर साथमा लिने व्यक्तिको सक्कली नागरिकता सहित फोटो कपी र सिमकार्डमा नाम भएको व्यक्तिको नागरिकताको फोटोकपी अनिवार्य छ । भने, लिने व्यक्तिको एक प्रति फोटाे पनि आवश्यक पर्नेछ ।

यदि संस्थाको हकमा भएको खण्डमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्नेछ । यी कागजपत्र लिएर कार्यालय पुगी त्यहाँ तपाईंले एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भरी ५ सय ६५ रुपैंया तिरेर तपाईंले सिमकार्ड आफ्नो नाममा सार्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१