close

एज कम्प्युटिङ के हो ? सजिलै यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

माघ ४, २०७७ ९:३१

एज कम्प्युटिङ के हो ? सजिलै यसरी बुझ्नुहोस्

काठमाडौं । क्लाउड कम्प्युटिङको बारेमा त तपाईंले सुन्नु भएकै होला । अनि क्लाउड कम्प्युटिङको अवधारणा सटिक रुपमा भन्नुपर्दा इन्टरनेटको प्रयोग गरी डेटाको प्रशोधन, व्यवस्थापन र भण्डारण नै हो ।  

तर आज हामी तपाईंलाई नयाँ प्रविधि एज कम्प्युटिङको बारेमा बताउँदै छौं । नेक्स्ट जेनेरेसन कनेक्टिभिटीमा यसको विशेष महत्व छ । 

एज कम्प्युटिङलाई तपाईंले क्लाउड कम्प्युटिङको एउटा एक्सटेन्सन वा एउटा अतिरीक्त प्रकार पनि भन्न सक्नुहुन्छ । क्लाउड सर्भरमा सबै जसो अपरेसन सम्पन्न हुन्छन् । 

तर क्लाउड सर्भरमा हुने भारलाई कम गर्न एज कम्प्युटिङले बीचमा भूमिका खेल्ने गर्दछ । एज कम्प्युटिङको मूख्य उद्देश्य भनेको सबै काम क्लाउड सर्भरमा गर्नुको सटो कतिपय कामहरु लोकल डिभाइसको पाटोमा समेत गर्न सक्नु हो । 

एज क्लाउडिङमा तपाईंलाई एडिसनल रिसोर्स अर्थात् एउटा एज डिभाइसको आवश्यकता पर्दछ । क्लाउड कम्प्युटिङमा दुई वटा तत्व हुन्छन् । एउटा डिभाइस र अर्को क्लाउड सर्भर । 

तर एज कम्प्युटिङमा यी दुवै तत्वबीच एउटा इन्टरमिडियट नोड हुन्छ, जसलाई एज डिभाइस भनिन्छ । एज कम्प्युटिङलाई राम्रोसँग बुझ्न एउटा उदाहरण लिउँ ।

 जस्तै तपाईं एउटा यस्तो ठाउँमा हुनुहुन्छ, जहाँ सीसी टिभी क्यामेरा छ । त्यो सीसी टिभी क्यामेरामा वरपरको भौतिक गतिविधि रेकर्ड गर्नुपर्नेछ । 

यदि तपाईं यसलाई परम्परागत विधिबाट गर्नुहुन्छ भने सबैभन्दा पहिले तपाईंले त्यो स्थानलाई २४ सै घण्टै रेकर्ड गर्नुहुन्छ र त्यसपछि रेकर्डेड भिडियो क्लाउड सर्भरमा जान्छ । अनि त्यहाँबाट त्यो भिडियो प्रोसेसिङ भएर आवश्यक भाग क्लाउड डेटाबेसमा स्टोर हुन्छ ।

यो परम्परागत विधिमा इन्टरनेट र क्लाउड सर्भरमा डेटँ लोड हुन्छ । ब्याण्डविथ पनि धेरै नै खपत हुन्छ ।  यसको स्मार्ट समाधान खोज्नुहुन्छ भने क्यामेरामा मोसन डिटेक्टर सेन्सर लगाउन सक्नुहुन्छ ।

जसले स्वचालित रुपमा भौतिक गतिविधिलाई मात्र डिटेक्ट तथा रेकर्ड गरी क्लाउड डेटाबेसमा स्टोर गर्दछ । यसरी तपाईंको क्लाउड संसाधन पनि कम प्रयोग हुन्छ ।  यो प्रक्रियामा भएको मोसन सेन्सरले एज डिभाइसको काम गरिरहेको हुन्छ ।

जसलाई सोर्स अफ डेटा अर्थात् क्यामेराको नजिक इन्स्टल गरिन्छ । आजको समयमा अफिस होस् वा घर, आईओटी (इन्टरनेट अफ थिङ्स अर्थात इन्टरनेटमा जोडिने उपकरण) डिभाइसको प्रयोग एकदमै धेरै मात्रामा हुने गरेको छ ।

स्टाटिस्टिकाको प्रक्षेपण अनुसार सन् २०२५ सम्म आईओटी डिभाइसको संख्या ७५ अर्बभन्दा धेरै हुनेछ । यति धेरै आईओटी डिभाइस सञ्चालन गर्न तपाईं परम्परागत कम्प्युटिङमा मात्र निर्भर रहन सक्नुहुन्न । त्यसैले तपाईंलाई एज कम्प्युटिङ जस्तो उदाउँदो प्रविधिको खाँचो हुनेछ ।    

तपाईंको मनमा प्रश्न उठ्न सक्ला जब आईओटी डिभाइस आफैंमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हुन्छ, तब यसलाई किन अर्को डिभाइसको आवश्यकता पर्छ र ?

वास्तवमा आईओटी डिभाइसमा सबैभन्दा आवश्यक तत्व भनेको कनेक्टिभिटी हो । आईओटी डिभाइसलाई सर्भरसँग कनेक्ट रहनु पर्ने हुन्छ ।

यदि तपाईंको आईओटी डिभाइस इन्टरनेट नभएको वा समस्या भएको स्थानमा पुगेको छ भने सञ्चारमा त्यसलाई समस्या पर्छ । यस्तो बेला एज डिभाइसको भूमिका महत्वपूर्ण हुन्छ ।

यो तपाईंको आईओटी डिभाइस अर्थात् सोर्स अफ डेटाको नजिक हुन्छ र यसले प्रतिक्रिया दिन पनि सहयोग गर्दछ । यसको फाइदाको कुरा गर्दा यसले क्लाउड रिसोर्सको प्रयोगलाई घटाउँछ र एकदमै छिटो र रियल टाइम रेस्पोन्स दिन्छ ।

किनभने तपाईंले प्रोसेसिङको लागि क्लाउड सर्भरसँग कनेक्सनमा रहनुपर्दैन । साथै यसमा कुनै सञ्चार अवरोध अर्थात कम्युनिकेसन ग्याप पनि हुँदैन ।

ब्याण्डविथ तथा लेटेन्सी पनि घट्छ । तर एज कम्प्युटिङका लागि तपाईंले पैसा भने तिर्नुपर्छ । यसलाई प्रयोग गर्न अतिरीक्त डिभाइसको आवश्यकता पर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१