close

ह्वाट्सएपको नयाँ गोपनीयता नीति विरुद्ध भारतमा मुद्दा

टेकपाना टेकपाना

माघ ४, २०७७ १३:२०

ह्वाट्सएपको नयाँ गोपनीयता नीति विरुद्ध भारतमा मुद्दा

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले जारी गरेको नयाँ नीतिको विरुद्ध पहिलो पटक भारतीय अदालतमा मुद्दा दायर भएको छ । ह्वाट्सएपले प्रयोगकर्ताको डेटा फेसबुकसँग शेयर गर्ने गरी नयाँ नीति जारी गरेपछि उक्त नीति खारेज गर्न कन्फेडेरेसन अफ अल इण्डिया ट्रेडर्स (सीएआईटी) ले भारतीय सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको हो ।

सीएआईटीले ह्वाट्सएपको प्रस्तावित गोपनीयता नीतिले संविधानमा उल्लेख भएको नागरिकको कतिपय मौलिक अधिकार समेत हनन गरेको भन्दै मुद्दा दायर गरेको हो । ह्वाट्सएपको प्रमुख बजार भारतमा करोडौंको संख्यामा प्रयोगतर्का रहेका छन् ।

यति धेरै प्रयोगकर्ता भएको अवस्थामा यसैमार्फत देशको आर्थिक तथा राजनितिक क्रियाकलापमा समेत ह्वाट्सएपले प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ । त्यसैले ह्वाट्सएप जस्ता ठूला टेक्नोलोजी कम्पनीको सञ्चालनका लागि सरकारले छुट्टै नीति बनाएर नागरिक र व्यवसायको गोपनीयतालाई जोगाउनु पर्ने सीएआईटीले जनाएको छ ।

सीएआईटीका राष्ट्रिय अध्यक्ष बी. सी. भारतीय र राष्ट्रिय महासचिव प्रवीण खण्डेलवालले ह्वाट्सएपले ‘माई वे वा हाई वे’ को अवधारणा अपनाएको अरोप लगाएका छन् । उनीहरुले ह्वाट्सएपको यस्तो मनोमानी अनुचित, असंवैधानिक भएकाले लोकतान्त्रिक देशमा मान्य नहुने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१