close

अन्तर्राष्ट्रिय कलमार्फत पाँच महिनामै दूरसञ्चार कम्पनीले कमाए ७ अर्ब

टेकपाना टेकपाना

माघ ४, २०७७ १५:०

अन्तर्राष्ट्रिय कलमार्फत पाँच महिनामै दूरसञ्चार कम्पनीले कमाए ७ अर्ब

काठमाडौं । अन्तर्राष्ट्रिय कलमार्फत पछिल्लो पाँच महिनामा नेपालका दूरसञ्चार कम्पनीले ७ अर्ब भन्दा बढी आम्दानी गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ को पहिलो पाँच महिनामा टेलिकम्युनिकेशन, कम्युटर र इन्फरमेशन सर्भिसको नाममा ७ अर्ब १७ करोड खुद नाफा भएको हाे ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार उक्त तथ्याङ्कमा दूरसञ्चार कम्पनीले अन्तराष्ट्रिय कल तथा विभिन्न सेवा मार्फत गरेको आम्दानी र सेवा प्रदायकले विदेशी कम्पनीलाई तिरेको मूल्य समेटिएको छ । जसमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम, एनसेल र स्मार्टसेलकाे ठूलाे हिस्सा रहेको छ ।

उक्त प्रतिवेदन अनुसार पाँच महिनामा अन्तर्राष्ट्रिय कलमार्फत कुल ७ अर्ब ९४ करोड आम्दानी भएको छ । यसअन्तर्गत नेपालबाट बाहिर कल गर्दा सेवा प्रदायकले बाहिरी सेवा प्रदायकको नेटवर्क प्रयोग गरेबापत बुझाउनु पर्ने रकमका रुपमा ७६ करोड ८७ लाख बुझाएका छन् ।

यो हुँदा आव २०७७/०७८ को पहिलो पाँच महिनामा टेलिकम कम्पनीहरुले ७ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ६.७ प्रतिशतले कम हो । तर, आव २०७५/०७६ को तुलनमा भने केही वृद्धि भएको छ ।

उक्त प्रतिवेदन अनुसार आव २०७५/०७६ को पहिलो पाँच महिनामा टेलिकम सेवा प्रदायकले अन्तर्राष्ट्रिय कलमार्फत ६ अर्ब ७५ करोड खुदा नाफा कमाएका थिए । उक्त समय ७ अर्ब ६६ करोड आम्दानी गरेकोमा ९० करोड २१ लाख रुपैयाँ बुझाएका थिए ।

आम्दानीको यो क्रम आव २०७६/०७७ मा भने १४ प्रतिशतले वृद्धि भएको थियो । उक्त आवको पहिलो पाँच महिनामा अन्तर्राष्ट्रिय कलमार्फत ८ अर्ब २९ करोड आम्दानी भएको थियो ।

सेवा प्रदायकले उक्त समयमा ५९ करोड ५१ लाखमात्रै बुझाएका छन् । त्यो हुँदा उक्त आवको पहिलो पाँच महिनामा सेवा प्रदायकले ७ अर्ब ७० करोड खुद नाफा गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१