close

थरीथरीका ब्राण्डबाट यसरी छान्नुहोस् उत्कृष्ट स्मार्टफोन

टेकपाना टेकपाना

माघ ५, २०७७ १३:१३

थरीथरीका ब्राण्डबाट यसरी छान्नुहोस् उत्कृष्ट स्मार्टफोन

काठमाडौं । विश्वबजारमा चलेका ब्राण्डहरुले नै नेपाली बजारमा आफ्नो बजार विस्तार गरिरहेका छन् । सामसङ, साओमी, भिभो, ओप्पो, वनप्लस, आईफोन, रियलमी, नोकिया, मोटोरोला लगायतका ब्राण्डका फाेन नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।

८ हजारदेखि साढे २ लाख रुपैयाँ मूल्य पर्ने स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध छन् । आफ्नो आवश्यकता र बजेट अनुसार तपाईंले नयाँ फोन किन्न सक्नुहुन्छ ।

वास्तवमा स्मार्टफाेन भनेकै विभिन्न प्रयोजनको सहजताका लागि खल्तीमा बोक्ने एक किसिमको कम्प्युटर हो । यसकाे प्रयोग वास्तविक रुपमा हरेक दिन कुन प्रयोजनका लागि कसरी प्रयोग गर्ने भन्ने विषय नियाल्न जरुरी छ ।

सामाजिक सञ्जाल चलाउनकै लागि मात्र हो भने थाेरै हजार तिरेर पनि नयाँ स्मार्टफोन किन्न सकिन्छ । यदि मोबाइल गेममा विशेष रुचि छ र एकदमै ‘स्मुथ’ किसिमले गेमको आनन्द लिन चाहनुभएको छ भने बजेट र चाहना अनुसारका मिडरेञ्जदेखि फ्ल्यागशिप फाेनहरू किन्न सकिने विकल्प छ ।

अपरेटिङ सिस्टम

तपाईं एण्ड्रोइड मोबाइल खरिद गर्दै हुनुहुन्छ भने, बजारमा गुगल सफ्टवेयरका विभिन्न भर्सनपिच्छे मोबाइल उपलब्ध छन् । नयाँ स्मार्टफोन खरिद गर्नुपूर्व पछिल्ला एण्ड्रोइड भर्सनको भिन्नता जान्न जरुरी छ ।

ललिपप, मार्सम्यालो, नौगट, ओरियो, पाई, क्यू जस्ता पछिल्ला एण्ड्रोइड भर्सन भएका स्मार्टफाेन बजारमा भित्रिसकेकाे छ । हालै नयाँ अपरेटिङ सिस्टम एन्ड्राेइड ११ पनि सार्वजनिक भएकाे छ ।

नयाँ र परिमार्जित एन्ड्राेइड भर्सनमा प्रयाेगकर्ताका लागि धेरै सुविधासँगै सुरक्षा प्रदान गरिएकाे हुन्छ । त्यसैगरी एन्ड्रोइड बाहेकका स्मार्टफोन किन्दा पनि सकभर पछिल्लो अपरेटिङ सिस्टम भएका फोन नै छान्नु उत्तम हुन्छ ।

डिजाइन र फिचर

स्मार्टफोन तथा ग्याजेटका लागि बाहिरी बनावट र सफ्टवेयर दुवैमा व्यक्तिगत रुचि नै निर्णायक पक्ष हो । कसैलाई घुमाउरो तथा गोलो किनारा र सिधा डिजाइन मनपर्न सक्छ ।

अनि मजबुत किसिमको तिखो धारयुक्त धातुबाट बनेकोमा अरुको ध्यान होला । पछिल्लो समयमा ग्राहकका बेग्ला बेग्लै रुचि अनुसारका एकपछि अर्को ग्याजेट्सहरु बजारमा आउने क्रम चलिरहेको छ ।

तर, ग्जाजेट्सको डिजाइनमा त्यसमा रहने फिचरहरुको पनि भूमिका रहन्छ । पछिल्लो समय धातुले बनेको ‘युनिबडी’ खुबै रोजाइमा पर्न थालेको छ ।

तर, मेमोरीकार्ड प्रयोग गर्न तथा ब्याट्री निकाल्न भने त्यसमा मिल्दैन । कुनै पनि डिभाइस खरिद गर्नुपूर्व आफ्नो सहजतालाई पनि ख्याल गरेर गुणस्तर जाँच्न आवश्यक हुन्छ ।

आकार र डिस्प्लेको प्रकार

समाचार अपडेट तथा एण्ड्रोइड गेमको उच्च गुणस्तरीय ग्राफिक्स चाहनेहरुका लागि कम्तिमा पनि ५ दशमलव २ इन्चको डिस्प्ले उपयुक्त हुन्छ । खास गरेर फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालका लागि स्मार्टफोन प्रयोग गर्नेहरुका लागि भने सानो स्क्रिन भएपनि काम चल्छ ।

खास गरेर एण्ड्रोइडको डिस्प्ले एलसीडी र एमोलेड गरी दुई किसिमको प्रविधिमा उपलब्ध छ । दुवैबीचको मुख्य भिन्नता भनेकै प्रकाश प्रक्षेपण हो ।

सैद्धान्तिक रुपमा एलसीडी स्क्रिन चम्किलो र सूर्यको सोझो प्रकाशमा हेर्न उत्तम मानिन्छ । जब कि एमोलेड डिस्प्लेचाहिँ तिखो प्रकाश र सीमित रङ्ग भएको अवस्थाका लागि उपयुक्त मानिन्छ ।

तर, नयाँ प्रविधिको आगमनसँगै दुवै किसिमका डिस्प्लेबीचको भिन्नता कम महत्वको विषय बन्दै गएको छ । तस्वीरका लागि फुल एचडी तथा क्यू एचडी रिजोलुशन लगभग त्रुटिरहित मान्न सकिन्छ ।

प्रोसेसर

प्रोसेसरलाई डिभाइसको अत्यन्त महत्वपुर्ण पक्ष मानिन्छ, जसमा सम्पुर्णरुपमा डिभाइसको ‘पर्फरमेन्स’ निर्भर हुन्छ । कहिलेकाहिँ प्रोसेसरको क्षमताले सफ्टवेयरको अपडेटलाई सीमित पारिदिन्छ ।

‘क्वालकम र ‘मेडियाटेक’ लाई प्रोसेसरका लागि सुरक्षित मान्न सकिन्छ । यद्यपि, ह्वावेले आफ्नै किरिन प्रोसेसरको माध्ययमबाट प्रयोगकर्तालाई राम्रो ‘पर्फमेन्स’ दिन सफल पनि भइरहेकै छ ।

यसआधारमा कुनै पनि प्रोसेसरले सहीरुपमा काम गर्नका लागि उपलब्ध र्‍यामको मात्रा महत्वपुर्ण हुन्छ । प्रोसेसर महत्वपुर्ण हुँदाहुँदै स्मार्टफोन र त्यसको प्राविधिक ‘स्पेशिफिकेशन’ सम्पूर्णरुपमा नियाल्न भने जरुरी छ ।

इन्टर्नल मेमोरी र स्पेस

अहिले तपाईंले प्रयोग गरिरहेको पुरानो मोबाइलमा भएको स्पेस थोरै भएको अनुभूति गर्नुभएको छ र त्यसको विस्तार गर्न चाहनुभएक हो भने स्मार्टफोनमा रहेको र्‍याम र आन्तरिक ममोरी राम्रोसँग जाँच गर्नुस् ।

स्टिकर र बट्टामा लेखिएकै विषयलाई मात्र आधार भने नबनाउनुहाेस् । पूर्ववतरुपमा इन्स्टल गरिएका एपहरुले कति ठाउँ ओगटिरहेका छन्, त्यसलाई पनि ख्याल राख्नुस् ।

माइक्रो एसडी कार्डमार्फत स्मार्टफोनको स्टोरेजको क्षमता बढाउने सकिने भए पनि बाहिरी मेमोरीकार्ड प्रयोग गर्नुभन्दा ठूलो आन्तरिक मेमोरी रोज्नु उपयुक्त हुन्छ ।

६४ वा १२८ जीबी आन्तरिक मेमोरी छनौट गर्नुपूर्व आफूलाई वास्तवमा आवश्यक मेमोरी कति हो भन्ने राम्ररी विचार गर्नुहाेस् । मुभी, म्युजिक, फाइल र एभी एप सेभ गर्नका लागि कम्प्युटरको हार्ड ड्राइभको रुपमा पयोग गरिरहनु भएको छ कि ? छैन भने ३२ जीबी आन्तरिक मेमोरीले पनि काम चल्न सक्छ ।

हार्ड ड्राइभको विकल्पमा पछिल्लो समयमा उपलब्ध क्लाउड सेवालाई पनि उपयोग गर्न सकिने विकल्प त छँदैछ । कम्तीमा २ जीबी र्‍याम र ३२ जीबी आन्तरिक मेमोरीलाई चाहिँ न्युनतम आधार बनाउन सक्नुहुन्छ ।

ब्याट्री

स्मार्टफोनको छनौट गर्दा अर्को एउटा महत्वपुर्ण पक्ष ब्याट्रीको आयूको पनि हो । एमएएचको उच्च अङ्क हुनुसँग ब्याट्रीको आयूको खासै त्यति मतलब हुँदैन । चार्ज लामो समय टिक्नका लागि विभिन्न पक्षले काम गरिरहेको हुन्छ ।

जस्तो, उच्च रेजुलेशनले बढी ऊर्जा खपत गर्छ भन्ने कतिपयलाई लाग्न सक्छ, जब कि पछिल्ला प्रोसेसरले ब्याट्रीको आयू बढाउँछ । जसमा सुस्त र तीव्र चार्ज गर्ने प्रविधि पनि रहेको छ ।

एउटा मात्रै प्राविधिक विशेषता हेर्नुभन्दा डिभाइसमा यस्ता सबै कारकले समग्रमा कसरी काम गर्छ भन्ने मापदण्ड र त्यसको परिणाम थाहा पाउन जरुरी छ । तैपनि न्यूनतम ३ हजार एमएएचको ब्याट्रीलाई एउटा आधारकाे रुपमा भने लिन सक्नुहुन्छ ।

क्यामेरा

स्मार्टफोन र ग्याजेट्सका प्रयोगकर्ताका लागि क्यामेराको गुणस्तर तथा फिचर एकदमै महत्वपुर्ण विषय हो । त्यसैअनुसार स्मार्टफोन निर्माता कम्पनीहरुले पनि क्यामेराको गुणस्तर बढाउन विशेष ध्यान दिइरहेका छन् ।

मेगापिक्सेलको अङ्क, हाइब्रिड अटो फोकस, अप्टिकल स्ट्याबलाइजेशन, म्यानुअल मोडल, विशेष इफेक्ट र सेल्फी विशेष फिचर डिजिटल क्यामेराका लागि महत्वपूर्ण पक्ष हुन् । विशेषतः देखाइएका प्राविधिक अङ्कमा धेरै विश्वास नगर्नुहाेस् ।

मेगापिक्सेल मात्र बढी हुँदैमा गुणस्तरीय फोटो आउने होइन, एकीकृत सेन्सर, लेन्सको गुणस्तर, पिक्सेलको आकार आदी जस्ता धेरै पक्षमा ध्यान दिनुपर्ने हुन्छ । पसलमा हुनुहुन्छ भने मोबाइलको क्यामेरा एप्लिकेशन सुरु गर्न र सटको उज्यालोपन जाँच गर्न र सफ्टवेयर फिचरको बारेमा स्वयम् थाहा पाउन सक्नुहुन्छ ।

सफ्टवेयर तथा फिचर

के तपाईंलाई सबै किसिमका काम पूर्णताका साथ गर्नसक्ने फोनको आवश्यकता हो ? त्यसमा फिङ्गरप्रिन्ट सेन्सर, मुटुको धड्कन नाप्ने, यूभि सेन्सर, स्वीस आर्मि नाइफ, ब्याटमोबाइल लगायतका सबै फिचर पनि चाहनुहुन्छ ? त्यसो हो भने तपाईंको रोजाइको दायरा फराकिलो छ ।

पछिल्लो समय बजारमा आएका मध्यम श्रेणीका स्मार्टफोनहरुले त्यस किसिमको आवश्यकता पुर्ति गर्न सक्छन् । यद्यपि हार्डवेयर फिचरमा भर परेर आफ्ना लागि स्मार्टफोन छनौटको दायरा सीमित पार्नु भने राम्रो होइन । त्यसका लागि डिस्प्ले अन गरेर फोनमा भएका भित्री सफ्टवेयर फिचरहरु हेर्नुस् ।

बेलाबखत बालबालिकालाई आफ्नो ग्याजेट दिने गर्नुभएको छ भने ‘गेस्ट मुड’ वा ‘प्यारेन्टल कन्ट्राेल’ फिचरको सुनिश्चिता गर्न पनि नबिर्सिनुहाेस् ।

एण्ड्रोइडमै ई–बुक पढ्ने बानी छ भने डिस्प्लेको रङ्ग मिलाउने विकल्प छ कि छैन हेर्नुहाेस् । त्यसले आँखाको सुरक्षाका लागि केही सहयोग पुर्‍याउन सक्छ । त्यसैले बाहिरी बनावट र डिभाइसको फिचर सामान्य किसिमले नियाल्नेमा मात्रै सीमित हुनुहँदैन ।

मूल्य

संभवतः आफूसँग स्मार्टफोन खरिदका लागि सीमित रकम मात्रै छ भने, त्यो नै खरिद गर्न लागिएको मोबाइलको मूल्यको लागि पहिलो आधार हो ।

आफ्नो भएभरको सबै तलब प्रयोग गर्ने कि केही सस्तो तर समानान्तर रुपमा आवश्यकता पुर्ति गर्ने अर्को कुनै सेट किन्ने व्यक्तिगत रोजाइको कुरा हो ।

तर, सबैजसो रेन्जमा रहेका केही डिभाइस अन्यको तुलनामा उत्तम हुन सक्छन् भन्नेतर्फ चाहिँ विचार गर्न नभुल्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१