close

आईटी र बिजनेश दुवैको पढाई हुने शैक्षिक कार्यक्रम ‘बीआईएम’

सूर्य बस्नेत सूर्य बस्नेत

माघ ५, २०७७ १९:२६

आईटी र बिजनेश दुवैको पढाई हुने शैक्षिक कार्यक्रम ‘बीआईएम’

कक्षा १२ को परीक्षाफल कुरिरहेका विद्यार्थीहरु अब विश्वविद्यालयको उच्च शिक्षा हासिल गर्नतर्फ अग्रसर छन् । यसका लागि विद्यार्थीसामु धेरै विकल्प छन् । स्नातक तहमा आईटी शिक्षा पढेर भविष्य सुनिश्चित गर्न चाहनेका लागि हाल विभिन्न विश्वविद्यालयका फरक-फरक शैक्षिक कार्यक्रम छन् ।

याे भिडमा पछिल्लो समय विद्यार्थीहरु ‘बीआईएम’ कार्यक्रमप्रति आकर्षित भइरहेका छन् । बीआईएम अर्थात् ‘ब्याचलर्स इन इन्फर्मेशन म्यानेजमेन्ट’ त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम हो ।

यसलाई सरल रुपमा बुझ्दा यो आईटी र बिजनेश दुवै पढाई हुने कार्यक्रम हाे । बीआईएममा ४ वर्षमा ८ वटा सेमेस्टर रहेका छन् । यसअन्तर्गत १२६ क्रेडिट आवरको ४२ वटा विषय समावेश छ ।

यसमा ४ वटा बेसिक फाउन्डेशन कोर्षहरु रहेका छन् । बिजनेशका १२ वटा कोर्षहरु पढ्नुपर्छ भने २६ वटा कोर्षहरु इन्फर्मेशन तथा इन्फर्मेशन टेक्नोलोजीका कोर्षहरु रहेका छन् ।

यो कार्यक्रम पढेका विद्यार्थीहरु भविष्यमा गएर आईटीको कुनै पनि क्षेत्रमा आफ्नो काम गरेर अगाडि जान सक्छन् ।

नेटवर्किङ, सेक्युरिटी, सिस्टम एडमिन, डाटाबेस, सफ्टवेयर इन्जिनियर, एआई तथा क्वालिटी अस्योरेन्स लगायतका कुनैपनि फिल्डमा गएर प्राविधिक क्षेत्रमा जस्तै डाटाबेस डिजाइनर, टेक्निकल मेनपावर, फाइनान्सियल इन्फर्मेशन सिष्टम म्यानेजर, एनालिस्ट, इन्फर्मेशन सिस्टम म्यानेजर लगायतका कुनैपनि आईटी फिल्डमा काम गर्न सकिन्छ ।

अर्कोतिर बीआईएम पढेका विद्यार्थीहरु म्यानेजमेन्ट तिरको फिल्डमा जस्तै बैंकिङ, इन्स्योरेन्स, फाइनान्स, सरकारी संस्था र गैरसकारी संस्थाहरुमा गएर व्यवस्थापन तथा आईटी कुनैपनि सेक्टरमा काम गर्न सक्छन् ।

बीआईएममा उद्यमशीलताका कोर्षहरु पढाई हुने भएकाले यो कार्यक्रम पढेका विद्यार्थीहरु आफै उद्यमी बन्न सक्छन् । बीआईएम पढेका विद्यार्थीहरुमा बिजनेश र प्रविधि दुवैको राम्रो ज्ञान हुने भएकाले कुनैपनि कम्पनीमा काम गर्नका लागि व्यवस्थापनकाे छुट्टै अनि प्रविधिकाे छुट्टै २ जना जनशक्ति राख्नुको सट्टा बीआईएम पढेको एकै जना जनशक्तिबाट काम गर्न सकिन्छ ।

नेपालमा हाल ३५ भन्दा बढी बीआईएम कलेजहरु रहेका छन् । याे विषय पढेका विद्यार्थीहरू नेपालका विभिन्न आईटी कम्पनीहरुमा प्रोजेक्ट म्यानेजर, सफ्टवेयर इन्जिनियर लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । साथै विश्व बजारमा बहुराष्ट्रिय कम्पनीहरुमा समेत आईटी र व्यवस्थापनको उच्च पदहरूमा रहेर पनि काम गरिरहेका छन् ।

(लेखक राजधानीस्थित किस्ट कलेजका बीआईएम विभाग प्रमुख हुन् ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३