close

नागरिक एपमा नागरिकता सम्बन्धी देखिएको त्रुटि सच्याउन अनलाइन प्रणाली प्रारम्भ

टेकपाना टेकपाना

माघ ६, २०७७ १४:१५

नागरिक एपमा नागरिकता सम्बन्धी देखिएको त्रुटि सच्याउन अनलाइन प्रणाली प्रारम्भ

काठमाडौं । नेपाल सरकारले सार्वजनिक गरेको नागरिक एपमा भएका त्रुटि सच्याउन अनलाइन प्रणाली सुरु भएको छ । एप प्रयोगकर्ताहरुले नागरिकता सम्बन्धी कतिपय विवरण मेल नखाएको भन्दै गुनासो गर्न थालेपछि गृह मन्त्रालयले त्रुटि सच्याउन अनलाइन प्रणाली प्रारम्भ गरेकाे हाे ।

मन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेले जारी गरेको सूचनामा नागरिकता सम्बन्धी कतिपय विवरण मेल नखाएकाे गुनासाे प्राप्त भएकाले सानोतिनो त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरू भएकाे जनाइएकाे छ ।

नागरिक एपबाट नागरिकको समय बचत हुने, झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढाएर भ्रष्टाचार न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो एप हरेक नेपाली नागरिकले सहजै प्रयोग गर्न सक्ने गरी तयार पारिएको छ ।

तर सबै प्रयाेगकर्ताले समान रूपमा याे एपकाे प्रयाेग गर्न सकिरहेका छैनन् । धेरैले नागरिकता विवरणमै समस्या भाेगिरहेकाे गुनासाे गरिरहेका छन् । यदि यस्ता समस्या हट्ने हाे भने धेरैले एपबाटै धेरै सेवा लिन सक्ने अवस्था सिर्जना हुनेछ ।

अहिले सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सकिने डिजिटल विवरण छन् । उदाहरणको लागि गृह मन्त्रालयसँग दुई करोडभन्दा बढी नागरिकताको विवरण छ । तर अनलाइन प्रणालीमा आउँदा कतिपय विवरण मेल नखाने समस्या देखिन थालेको छ ।

हाल औंठा छाप र फोटोसहित एक करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगको सर्भरमा छ । त्यस्तै ६० लाखभन्दा बढी नागरिकको पासपोर्ट राहदानी विभागसँग छ ।

यी तीनै स्थानमा रहेका विवरणलाई प्रयोग गरी यो एपमा नागरिकको डिजिटल परिचय स्थापित गरिएको बताइएकाे छ । यसमा क्रमशः राष्ट्रिय परिचयपत्रलाई समेत जोड्ने सरकारको योजना छ ।

सरकारले नागरिक एप बेटा भर्सनमा सार्वजनिक भएको र यसमा रहेका त्रुटि सच्याउँदै नयाँ फिचर थप्दै जाने योजना ल्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एपमा आवश्यक सुझावका लागि आग्रह गरेका छन् । नागरिक एप परीक्षणका क्रममा रहेको भन्दै उनले सबैबाट सुझाव मागेका हुन् ।

‘हामी नागरिक एप परीक्षणको क्रममा छौं । यसमा भएका सुविधाहरुमा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाहरु हामीलाई भन्नुहोला,’ मन्त्री गुरूङले भने ।

कुनै सेवा लिँदा कागजपत्र बुझाउनुपर्ने झन्झट अन्त्य गर्न याे एपले स्वचालित रुपमा आवश्यक विवरण लिने तथा पुष्टी गर्ने काम गर्ने जनाइएकाे छ । यसअन्तर्गत नागरिकले आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता अनेकथरी विवरण बुझाउनुपर्ने लगायतका झन्झट यसले अन्त्य गरिदिने बताइएको छ ।

उदाहरणका लागि एपमा नागरिकता नम्बर राखेर त्यसकै आधारमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने प्रकृया थाल्न सकिन्छ । यो सेवा एपमा उपलब्ध भइसकेको छ ।

आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट यो एप र यसमा रहेका सुविधा प्रयोग गर्न सकिन्छ । मोबाइल नम्बर राखिसकेपछि कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचालित रुपमा पत्ता लगाउन सक्छ ।

नागरिकता नम्बरकै भरमा एपले सम्बन्धित निकायको सिस्टममा पहुँच बनाउँछ । उदाहरणका लागि कुनै सरकारी कार्यालयलाई तपाईंको प्यान अथवा नागरिकता विवरण चाहिने भए एपले राजश्व विभाग वा गृह मन्त्रालयको सिस्टमबाट स्वचालित रुपमा त्यसलाई प्राप्त गर्न सक्छ ।

यसको अर्थ तपाईंले नागरिकता र प्यानको फोटोकपी बुझाइरहनु पर्दैन । केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एपबाटै प्रदान गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमै उपलब्ध हुने घोषणा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छ । नागरिक एपमा कुनै विवरण भर्नु वा अपलोड गरिरहनु पनि पर्दैन ।

एक क्लिक गरेकै भरमा सम्बन्धित सरकारी सेवाका लागि स्वतः आवेदन भरिने गरी यसको डिजाइन गरिएको छ । सरकारका विभिन्न निकायसँग भएका तपाईंका प्रमाणीत विवरण नै यसले स्वचालित रुपमा रुजु गर्दछ ।

जसले गर्दा फेरबदल वा किर्ते गर्ने सम्भावना पनि नरहने बताइएको छ । पहिलो चरणमा सरकारी सेवा अनि दोस्रो चरणमा अर्धसरकारी सेवा यो एपमा समेटिनेछन् ।

यसले नागरिकको सहजता, सुशासन, भ्रष्टाचार न्यूनिकरण र सरकारको सञ्चालन खर्च कटौतीमा समेत ठूलो टेवा पुर्‍याउने अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३