close

वर्ष दिनमै इन्टरनेट खपत दोब्बर, कुन सेवा प्रदायकको कति ?

टेकपाना टेकपाना

माघ ६, २०७७ २१:३३

वर्ष दिनमै इन्टरनेट खपत दोब्बर, कुन सेवा प्रदायकको कति ?

काठमाडौं । विगत एक वर्षको अवधिमै इन्टरनेट ब्याण्डविथ खपत दोब्बर पुगेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा इन्टरनेट ब्याण्डविथको आयात शत प्रतिशत बढेको हो ।

गत वर्ष नेपालमा प्रयोग हुने सबैजसो इन्टरनेट सेवाका लागि प्रति सेकेन्ड कूल तीन सय ७८ दशमलव पाँच जीबी अन्तर्राष्ट्रिय ब्याण्डविथ आउने गरेको थियो । त्यसयताको एक वर्षको अवधिमा ब्याण्डविथ खपत दोब्बरभन्दा बढी देखिएको हो ।

कोरोना भाइरसको महामारीका कारण लामो समय कायम रहेको लकडाउन, अनलाइन क्लास र वर्क फ्रम होमका कारण यस पटक भारी मात्रामा इन्टरनेटको प्रयोग बढेको बताइएको छ । हाल नेपालमा ७७७ जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ आइरहेको उल्लेख छ ।

कुन सेवा प्रदायकको कति ?

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क एक्लैको ब्याण्डविथ खपत बाँकी तीन वटा ठूला सेवा प्रदायक बराबर छ । नियामक स्थित विशेष स्रोतबाट टेकपानालाई प्राप्त विवरणअनुसार नेपाल टेलिकम, एनसेल र सुबिसुको जोड्दा मुस्किलसँग वर्ल्डलिङ्क बराबर देखिएको हो ।

विवरण अनुसार वर्ल्डलिङ्कले हाल २७० जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेको छ । जब कि मोबाइल सेवामार्फत करोडौं प्रयोगकर्तालाई इन्टरनेट दिइरहेका कम्पनीहरुले भने त्यसको तुलनामा निकै थोरै ब्याण्डविथ मात्र ल्याइरहेका छन् ।

यस हिसाबले नेपालमा खपत हुने कूल इन्टरनेट ब्याण्डविथमध्ये वर्ल्डलिङ्कले मात्रै करिब ३५ प्रतिशत खपत गर्दै आएको छ । वर्ल्डलिङ्कले वायरलेस, केबल र फाइबरमार्फत देशका करिब १९ लाख प्रयोगकर्तालाई इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

दोस्रो स्थानमा रहेको सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ११४.३५ जीबीपीएस गतिको ब्याण्डविथ विदेशबाट ल्याएको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको एनसेलले ८० जीबीपीएस र चौथो स्थानमा रहेको भायनेटले ७७ जीबीपीएस गतिको इन्टरनेट ब्याण्डविथ खरिद गर्दै आएको छ ।

टेलिकम, एनसेल र भायनेटले आयात गर्ने अन्तर्राष्ट्रिय ब्याण्डविथ २७१.३५ जीबीपीएस हुन आउँछ ।समग्रमा हाल नेपालको कूल अन्तर्राष्ट्रिय ब्याण्डविथ आयात ७७७ जीबीपीएस रहेको छ ।

जसमा बाँकी कम्पनीहरुको ब्याण्डविथ आयात सुबिसुको ७३.१० जीबीपीएस, टेकमाइन्ड्स नेटवर्क ६२ जीबीपीएस, कम्युनिकेसन एण्ड कम्युनिकेटको ५० जीबीपीएस रहेको छ ।

यसैगरी क्लासिक टेकले ५० जीबीपीएस, नेपाल डिजिटल सर्भिसले ४० जीबीपीएस, ब्रोडलिङ्कले २० जीबीपीएस र मर्कन्टाइल कम्युनिकेसनले ०.१६ जीबीपीएस गतिको ब्याण्डविथ नेपाल भित्र्याइरहेका छन् ।

इन्टरनेट सेवाप्रदायक र मोबाइल सेवा प्रदायकले इन्टरनेट सेवा उपलब्ध गराउन विदेशबाट इन्टरनेट ब्याण्डविथ भित्र्याउने गरेका छन् । नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग उल्लेख रुपमा विस्तार भएसँगै ब्याण्डविथ खपत समेत भारी मात्रामा बढेको हो ।

यसरी भित्र्याएको ब्याण्डविथ सेवा प्रदायकले इन्टरनेट तथा डेटा सेवाको रुपमा नेपालमा रहेका विभिन्न किसिमका प्रयोगकर्तालाई इन्टरनेट सेवाको रुपमा बिक्री गर्दै आएका छन् ।

त्यसो त गुगल, युटुव, फेसबुक, टिकटक जस्ता धेरै मात्रामा प्रयोग हुने सेवाका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत कम गर्न विभिन्न सेवा प्रदायकहरुले स्थानीय स्तरमा क्यास सर्भर समेत राखिरहेका हुन्छन् ।

मोबाइल डेटा एकदमै महंगो भएकाले टेलिकम कम्पनीहरूको ब्याण्डविथ खपत कम देखिएको हो । तर इन्टरनेट सेवा प्रदायकहरूले अनलिमिटेड इन्टरनेट दिइरहेका छन् ।

यस्तो इन्टरनेट शेयर समेत हुने भएकाले कसैले न कसैले चलाइरहेकै हुन्छन् । तर, दूरसञ्चार कम्पनीहरूको पहुँच राम्राे भए पनि प्रति एमबी डेटा निकै महंगो छ ।

त्यसैले मानिसहरूले कञ्जुस्याइपूर्वक मोबाइल इन्टरनेट प्रयोग गर्नु परिरहेकाे छ । अन्य देशमा निश्चित रकम तिरेपछि मोबाइल इन्टरनेट समेत अनलिमिटेड चलाउन सकिने गरी डेटा प्याकेज उपलब्ध हुने गरेको छ ।

तर नेपालका मोबाइल सेवा प्रदायकले भने हालसम्म त्यस किसिमको अभ्यास गर्न समेत सकेका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३