close

कुन कम्पनीका ग्राहकको भागमा कति इन्टरनेट ?

टेकपाना टेकपाना

माघ ८, २०७७ १५:१०

कुन कम्पनीका ग्राहकको भागमा कति इन्टरनेट ?

काठमाडौं । नेपालमा प्रायः जसो इन्टरनेट प्रयोगकर्ताको गुनासो यसको स्पिडमै हुने गर्छ, सेवाप्रदायकले भनेजति इन्टरनेट पाइएन । यस्तोमा कुन सेवाप्रदायकले एउटा ग्राहकलाई औषत कति इन्टरनेट ब्याण्डविथ दिइरहेका छन् भन्ने कुरा पक्कै पनि धेरैका लागि खुल्दुलीको विषय बन्छ ।

आज हामी नेपालमा भित्रिने गरेको अन्तर्राष्ट्रिय ब्याण्डविथ र प्रति ग्राहकमा त्यसको वितरण हिस्सालाई केलाउने प्रयास गर्दै छौं । त्यसो त इन्टरनेट स्पिड तपाईंले कुन युट्युव, फेसबुक, टिकटक, अमेजन वा अरु कुन सेवा प्रयोग गर्नुहुन्छ भन्ने कुरामा पनि भर पर्छ ।

यसको अर्थ धेरैजसो ब्याण्डविथ खपत हुने सेवाहरुका लागि कम्पनीहरुले नेपालमै क्याश सर्भर राख्ने गरेका हुन्छन् । जसले गर्दा त्यस्ता सेवा प्रयोग गर्न अन्तर्राष्ट्रिय ब्याण्डविथ त्यति धेरै खपत हुँदैन र स्पिड पनि राम्रो हुन्छ ।

सामान्यतया प्रयोगकर्ताले उपयोग गर्ने कूल इन्टरनेट ब्याण्डविथमा २० प्रतिशत अन्तर्राष्ट्रिय र ८० प्रतिशत लोकल हुने गरेको छ । तर क्याश सर्भर नराखिएका सेवाहरुका लागि भने सोझै अन्तर्राष्ट्रिय ब्याण्डविथको जरुरत पर्दछ ।

यसका लागि हाल नेपालमा कुल ७७७ जीबीपीएस गतिको इन्टरनेट ब्याण्डविथ आयात भइरहेको छ । जसमा वर्ल्डलिङ्क सबैभन्दा अगाडि छ । हाल कम्पनी एक्लैले २७० जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेको छ ।

जब कि मोबाइल सेवामार्फत करोडौं प्रयोगकर्तालाई इन्टरनेट दिइरहेका कम्पनीहरुले भने त्यसको तुलनामा निकै थोरै ब्याण्डविथ मात्र ल्याइरहेका छन् । यस हिसाबले नेपालमा खपत हुने कूल इन्टरनेट ब्याण्डविथमध्ये वर्ल्डलिङ्कले मात्रै करिब ३५ प्रतिशत खपत गर्दै आएको छ ।

यसले समेत नेपालमा फिक्स्ड इन्टरनेटको तुलनामा मोबाइल डेटामार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या निकै थोरै रहेको पुष्टी हुन्छ ।

वर्ल्डलिङ्कले वायरलेस, केबल र फाइबरमार्फत देशका करिब १९ लाख प्रयोगकर्तालाई इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । फिक्स्ड लाइन इन्टरनेटमा वर्ल्डलिङ्क नेपालकै सबैभन्दा ठूलो सेवाप्रदायक समेत हो ।

दोस्रो स्थानमा रहेको सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ११४.३५ जीबीपीएस गतिको ब्याण्डविथ विदेशबाट ल्याइरहेको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको एनसेलले ८० जीबीपीएस र चौथो स्थानमा रहेको भायनेटले ७७ जीबीपीएस गतिको इन्टरनेट ब्याण्डविथ खरिद गर्दै आएको छ ।

जसमा बाँकी कम्पनीहरुको ब्याण्डविथ आयात सुबिसुको ७३.१० जीबीपीएस, टेकमाइन्ड्स नेटवर्क ६२ जीबीपीएस, कम्युनिकेसन एण्ड कम्युनिकेटको ५० जीबीपीएस रहेको छ । यसैगरी क्लासिक टेकले ५० जीबीपीएस, नेपाल डिजिटल सर्भिसले ४० जीबीपीएस, ब्रोडलिङ्कले २० जीबीपीएस र मर्कन्टाइल कम्युनिकेसनले ०.१६ जीबीपीएस गतिको ब्याण्डविथ नेपाल भित्र्याइरहेका छन् ।

वास्तवमा इन्टरनेट सेवा प्रदायकले एक जना ग्राहक बराबर कति ब्याण्डविथ छुट्याइरहेका छन् त ? आज हामी यसको विश्लेषण तपाईं सामु प्रस्तुत गर्दै छौं ।

नेपालमा उपलब्ध इन्टरनेट सेवाका लागि हाल ७७७ जीबीपीएस अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत हुँदै आएको छ । जसमध्ये करिब २०० जीबीपीएस मोबाइल तथा दूरसञ्चार सेवामार्फत खपत भइरहेको छ भने बाँकी इन्टरनेट सेवाप्रदायकले बिक्री गर्दै आएका छन् ।

वास्तवमा इन्टरनेटका ग्राहकले प्राप्त गर्ने इन्टरनेट स्पिड सेवाप्रदायकले उपलब्ध गराउने ब्याण्डविथमै निर्भर हुने गर्दछ । यस्तो अवस्थामा कुन सेवाप्रदायकले प्रति ग्राहक औषत कति ब्याण्डविथ बिक्री गरिरहेका छन् भन्ने विषय टेकपानाले केलाउने प्रयास गरेको छ ।

आम रुपमा धेरैजसो प्रयोगकर्ताले खपत गर्ने इन्टरनेट शेयर अर्थात साझा गरिएको हुन्छ । यसको अर्थ २० एमबीपीएसको इन्टरनेट भनिएको छ भने त्यस्तो इन्टरनेट ८ वटा ग्राहकसम्म बाँडिएको हुन्छ ।

जसले गर्दा तपाईं हामीले घरमा प्रयोग गर्ने इन्टरनेट कर्पोरेट अर्थात डेडिकेटेड इन्टरनेट भन्दा सस्तो पर्न जान्छ । प्रयोगकर्ताले खपत गर्ने इन्टरनेट ब्याण्डविथ कति ?

अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत औषत प्रयोगकर्तामा कसको कति ?

सेवाप्रदायकग्राहक संख्याप्रति ग्राहक ब्याण्डविथ केबीपीएस
वर्ल्डलिङ्क४३५७९६६२०
सुबिसु१८०३८४५९९.२८
भायनेट१२७७८१६०९.१३
क्लासिक टेक११९९२८४१७
टेकमाइन्ड्स९६३३६६२९
वेबसर्फर (डिजिटल सर्भिस)६६३४२६०३
ब्रोडलिङ्क३९०९०५१२
नेपाल दूरसञ्चार प्राधिकरण, एप्निकपोट्यारोको तथ्याङ्कमा आधारित

नेपालमा हाल इन्टरनेट सेवाका लागि ११ वटा सेवाप्रदायकले अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याउँदै आएका छन् । यसका लागि उनीहरुले नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेका छन् ।

नेटवर्क सेवाप्रदायकले भित्र्याएको ब्याण्डविथ इन्टरनेट सेवाप्रदायकले प्रयोगकर्तासम्म पुर्‍याउने काम गरिरहेका हुन्छन् । त्यसो त नेपालमा ब्याण्डविथ भित्र्याउने धेरैजसो नेटवर्क सेवाप्रदायकसँग इन्टरनेट सेवाको अनुमतिपत्र समेत रहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण, एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टरपोट्यारोको तथ्याङ्कमा आधारित भएर हामीले कुन सेवाप्रदायकमार्फत प्रति प्रयोगकर्ता कति इन्टरनेट खपत भइरहेको छ भन्ने विश्लेषण गर्ने प्रयास गरेका छौं ।

नेटवर्क सेवाप्रदायकले आयात गर्ने ब्याण्डविथ यकिन भए पनि नेटवर्क सेवाप्रदायकमार्फत इन्टरनेट सेवाप्रदायकले खपत गर्ने ब्याण्डविथ भने प्रष्ट छैन । यस अलावा सेवा सञ्चालनका लागि हाल १२७ वटा इन्टरनेट सेवाप्रदायकले अनुमतिपत्र लिएका छन् ।

तर त्यसमध्ये ४० वटा कम्पनीले मात्र आफ्नो ग्राहक विवरण बुझाएको प्राधिरणको तथ्याङ्कमा देखिन्छ । एप्निकको तथ्याङ्क प्राधिकरणको तथ्याङ्कसँग भिडाउँदा ग्राहक विवरण बुझाउने कम्पनीले समेत नियमित तथा यथार्थपरक विवरण उपलब्ध नगराएको प्रष्ट देखिन्छ ।

यस्तोमा प्राधिकरणमा उपलब्ध नभएको प्रयोगकर्ताको तथ्याङ्कका लागि हामीले एप्निकको तथ्याङ्क प्रयोग गरेका छौं । यस्तै नेटवर्क सेवाप्रदायकको रुपमा रहेका इन्टरनेट सेवाप्रदायकको ग्राहक संख्यामा उनीहरुले उपलब्ध गराएको ब्याण्डविथ प्रयोग गर्ने अन्य सेवाप्रदायकको ग्राहक संख्या समेत जोडिएको छ ।

यस आधारमा टेकमाइन्ड्स नेटवर्कका ग्राहकको औषत ब्याण्डविथ खपत सबैभन्दा बढी छ । जस अनुसार कम्पनीका प्रति ग्राहकको भागमा ६२९ केबीपीएस गतिको ब्याण्डविथ पर्न आउँछ ।

नेटवर्क सेवाप्रदायक कम्पनीको रुपमा समेत रहेको टेकमाइन्डले आफूले भित्र्याएको अधिकांश ब्याण्डविथ स्वयम्‌ प्रयोग गर्दै आएको छ । त्यस बाहेक कम्पनीले यन नेट, फाइबर वर्ल्ड, मेट्रोलिङ्क, प्राइम नेटवर्क, फर्स्ट लिङ्क, वर्ल्ड फाइबर, एरो नेट, इस्ट लिङ्क, वर्ल्ड फाइबर जस्ता अन्य इन्टरनेट सेवाप्रदायकलाई समेत ब्याण्डविथ उपलब्ध गराउँदै आएको छ ।

टेकमाइण्ड्स पछि प्रति प्रयोगकर्ता औषत ब्याण्डविथ दोस्रो धेरै खपत गर्नेमा वर्ल्डलिङ्क रहेको छ । कम्पनीअन्तर्गत प्रति प्रयोगकर्ता ६२० केबीपीएस ब्याण्डविथ खपत हुने गरेको छ ।

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रुपमा समेत रहेको वर्ल्डलिङ्कले प्रभु डिजिटल, डोयन नेट, सुर्खेत केवलनेट, मेट्रो लिङ्क, ब्रोडब्याण्ड सोलुसन्स, सर्भरनेट, रिलायन्ट, पाथभारा जस्ता अन्य कम्पनीलाई समेत ब्याण्डविथ उपलब्ध गराउँदै आएको छ ।

यसैगरी प्रति प्रयोगकर्ताका लागि औषत ब्याण्डविथ धेरै उपलब्ध गराउनेमा भायनेट र वेबसर्फर समान हैसयतमा छन् । दुवै कम्पनीले आफ्ना ग्राहकलाई औषतमा ६०९.१३ केबीपीएस ब्याण्डविथ छुट्याउने गरेको छ ।

नेटवर्क सेवाप्रदायक समेत रहेको भायनेटले नेटम्याक्स टेक्नोलोजी र नेटवर्क पूल जस्ता इन्टरनेट सेवाप्रदायकलाई ब्याण्डविथ उपलब्ध गराउँदै आएको छ । त्यसपछि प्रति प्रयोगकर्ता औषत ब्याण्डविथ खपत सुबिसुको ५९९.२८ केबीपीएस, ब्रोडलिङ्कको ५१२ केबीपीएस र क्लासिक टेकको ४१७ केबीपीएस रहेको छ ।

प्रति प्रयोगकर्तामा औषत ब्याण्डविथ खपत कम देखिए पनि कम्पनीअन्तर्गतका सबै प्रयोगकर्तामा शेयरिङ हुने भएकाले ग्राहकले भने फास्ट इन्टरनेट प्रयोग गर्न पाइरहेका हुन्छन् ।

सुरुमा इन्टरनेट प्रयोग गर्न थाल्दा यही अन्तराष्ट्रिय ब्याण्डविथले काम गरिरहेको हुन्छ । त्यससँगसँगै लोकल ब्याण्डविथ मिसिएर आउने भएका कारण प्रयोगकर्ताले लोकल र इन्टरनेसनल ब्याण्डविथलाई अलग्याएर अनुभूत गर्न सक्दैनन् ।

सेवाप्रदायकहरुबीच प्रति प्रयोगकर्ता ब्याण्डविथ खपत धेरै अन्तर देखिनु नपर्ने प्राधिकरणका एक अधिकारीले बताए । धेरै फरक पर्नुको पछाडि सेवाप्रदायकले उल्लेख गरेको सम्पूर्ण ब्याण्डविथ आयात नभएको वा सेवाप्रदायकले ग्राहक विवरण आवश्यकताभन्दा बढी देखाएको हुनसक्ने अन्दाज गरिएको छ ।

नियामकको कमजोर नियमन र अनुगमनका कारण समेत यस किसिमको अवस्था उत्पन्न भएको एक दूरसञ्चार विज्ञले बताए ।

साथै सेवाप्रदायकले उपलब्ध गराउने कर्पोरेट तथा डेडिकेटेड इन्टरनेट प्रयोगकर्ताको छुट्टै विवरण प्राधिकरणसँग छैन । यस्ता प्रयोगकर्तालाई समेत सामान्य प्रयोगकर्ताकै रुपमा राखेर विश्लेषण गरिएको हो ।

नोटः सम्बन्धित निकायमा प्रष्ट र यथार्थ तथ्याङ्कको अभाव भएका कारण हामीले सकेसम्म वास्तविकताको नजिक पुग्नेगरी यो विश्लेषण प्रस्तुत गरेका छौं । स.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३