close

पोर्न उद्योगका लागि गोप्य क्यामेराको प्रयोग बढ्दै, महिला प्रत्यक्ष मारमा

टेकपाना टेकपाना

माघ ८, २०७७ १५:५३

पोर्न उद्योगका लागि गोप्य क्यामेराको प्रयोग बढ्दै, महिला प्रत्यक्ष मारमा

काठमाडौं । गत कार्त्तिकमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी तथा उनकै पार्टी पाकिस्तान मुस्लिम लिगकी उपाध्यक्ष मरियम शरिफले एउटा गम्भीर खुलासा गरिन् ।

चौधरी चिनी मिल प्रकरणमा पक्राउ परेको केही समय हिरासतमा बसिरहँदा केही अधिकारीहरुले आफ्नो काेठा र बाथरुममा गोप्य क्यामेरा फिट गरेको आरोप उनले लगाइन् ।

यस्तै अघिल्लो वर्ष तामिलनाडुको एउटा घरमा भाडामा बस्ने युवतीको कोठामा उनको घरबेटीले गोप्य क्यामेरा लगाएको फेला पर्‍यो । हेयर ड्रायरको प्लग सकेटमा रहेको क्यामेरा एक्कासी फुटेपछि त्यो घटनाबारे खुलासा भएकाे थियाे ।

यी त भए केही छिमेकी मुलुकका घटनाहरु । आपसी समझदारीमा बनेका भिडियो एकाएक भाइरल भएका उदाहरण नेपालमै छन् । अझ सार्वजनिक स्थल, जस्तै शौचालय तथा ड्रेसिङ रुममा गोप्य क्यामेराको प्रयोगको घटना त झनै डरलाग्दो छ ।

क्यामेराले तपाईंको निजी जीवनलाई कैद मात्र गर्दैन । घटना अझ विकराल तब बन्छ, जब यी कुराहरु इन्टरनेटको पोर्न साइटहरुमा अपलोड हुन्छन् । तपाईंकै डिभाइसको वेब क्यामेराबाट तपाईंमाथि कसैले सुराकी गरिरहेको हुन्छ ।

यस्ता कति धेरै घटना छन्, जुन इन्टरनेटको दुनियाँमा तपाईं आफ्नै बन्द कोठामा पनि सुरक्षित हुनुहुन्न भन्ने गतिला उदाहरणहरु हुन् ।

यस्ता घटनााहरुबाट विशेषगरी महिला धेरै नै प्रताडित हुने गर्दछन् । चेन्जिङ रुममा राखिएको गोप्य क्यामेरालाई पत्ता लगाउनु सजिलो हुँदैन । अझ त्यसलाई फिट गर्ने अपराधीहरुलाई पकड्न त असम्भव जस्तै छ ।

क्यामेरा पत्ता लगाउन जति समय लाग्छ, त्यसलाई फिट गर्न र निकाल्न त्योभन्दा कम समय लाग्छ । यसैले यस्ता घटना सार्वजनिक हुन नपाई भित्रभित्रै विकराल बनिरहेका हुन्छन् ।

यसैबीच बीबीसीकाे एक रिपाेर्ट अनुसार दक्षिण काेरियामा यस्ता गलत गतिविधि विरूद्द महिला जाग्न थालेका छन् ।

याे देशमा गोप्य क्यामेराको गलत प्रयोगका मामिलाहरु महामारी जत्तिकै फैलिएकाे र पब्लिक ट्वाइलेटदेखि ड्रेसिङ रुमसम्म राखिएका क्यामेराले खिचेका भिडियो एकाएक पोर्न साइटहरुमा अपलोड भएपछि समाजमा निकै नराम्राे असर परेकाे छ ।

बीबीसीकाे समाचारमा दक्षिण कोरियाकी सामान्य नागरिक किममाथि केही समय पहिले यस्तै एउटा घटना भएकाे उल्लेख छ । किमले साथी मानेका व्यक्तिले नै उनको जानकारीबिना भिडियो एउटा रेस्टुरेन्टमा बनाएका थिए । टेबलमुनीबाट उनको स्कर्टको तस्वीर पनि लिइएको थियो ।

त्यसबेला उनले आफूलाई एकदमै एक्लो महसुस गरिरहेकी थिइन् । नगरेको गल्तीको सजाय भोगिरहनु परेको उनलाई लागेको थियो । साथीभाइ र परिवारहरुले थाहा पाए के सोच्छन् भनेर डर पनि लागिरहेको थियो ।

यद्यपि दक्षिण कोरियामा यसविरुद्ध कुनै ठोस कदम नउठाएको त्यहाँका महिलाहरुलाई लाग्दछ । न त अपराधीहरुका लागि सजाय सुनिश्चित गरिन्छ । प्रहरीले हजारौं ट्वाइलेट चेक गरे, तर उनीहरुले केही फेला पार्न सकेनन् ।

वास्तवमा यस्ता क्यामेरा खोज्न जति समय लाग्छ त्यसलाई लगाउन र खोल्न त्यति नै कम समय लाग्दछ ।

कोरियाको अपार्टमेन्टको बेसमेन्टमा एउटा यस्तो महिला समूह सक्रिय छन् जसले यस्ता भिडियोहरु पत्ता लगाउने र इन्टरनेटबाट हटाउने काम गर्ने गर्छ । तर यस कामका लागि अन्य मुलुकको सहयोग आवश्यक पर्नसक्ने यी महिलाहरु बताउँछन् ।

सुडान र अमेरिकामा पनि यस्तो मामिला देखा परिसकेका छन्, तर दक्षिण कोरिया प्राविधिक रुपमा अगाडि छ । इन्टरनेट र अत्याधुनिक ग्याजेटको सर्वत्र उपलब्धतासँगै यस्ता समस्या अब अन्य देशमा पनि फैलन सक्ने सम्भावना टाढा छैन ।

दक्षिण कोरियामा महिलाहरु एकजुट भएर गोप्य क्यामेराको विरोधमा उत्रिएका छन् । ताकि उनीहरु सुरक्षित रुपमा सार्वजनिक स्थलहरुमा उठ्न बस्न सकुन् ।

नेपालमा यस किसिमको अपराधलाई विद्युतिय कारोबार ऐन २०६३ ले नियमन गर्दछ । ऐनको दफा ४७ अन्तर्गत त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्मको कैद सजाय वा एकलाख जरिवाना वा दुवै हुने व्यवस्था छ ।

-बीबीसीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३