close

आईफोनमा किन खुल्दैन नागरिक एप ?

टेकपाना टेकपाना

माघ ९, २०७७ १२:०

आईफोनमा किन खुल्दैन नागरिक एप ?

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै मोबाइल एपबाट दिने उद्देश्यका साथ सरकारले परीक्षणको रुपमा नागरिक एप सार्वजनिक गरेको छ । एप सार्वजनिक भएसँगै प्रयोगकर्ताले यसमा अनेक समस्याको सामना गर्नुपरेको गुनासो गर्न थालेका छन् ।

त्यसो त एपको डेभलपर टिम समस्या समाधानका लागि लागिपरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । एप डाउनलोड भए पनि एपमा खाता खोल्न सिम अर्कैको नाममा रहेको, सिम दर्ताको क्रममा विवरण त्रुटि भएको, नागरिकता विवरण नमिलेको जस्ता अनेक झन्झट प्रयोगकर्ताले सामना गरिरहेका छन् ।

यस्तै किसिमको अर्को समस्या हो, आईफोनमा एप नचल्ने । हामीले नागरिक एप डेभलपर टिमसँग यसको कारण खोज्ने प्रयास गरेका छौं । आईओएसमा सुरुदेखि नै एप नचल्ने समस्या देखिएको भन्दै एपका एक डेभलपरले समस्या समाधानको प्रयास जारी रहेको जानकारी दिए ।

समस्या सधामानका लागि एप्पललाई दुई साताअघि नै अपडेट पठाइएको भए पनि एप्पलले बिहीबार मात्र अपडेट क्यान्सिल भएको जानकारी दिएको छ । त्यससँगै शुक्रबार पुनः अपडेट पठाइएको डेभलपर टोलीले बताएको छ ।

शनिबारसम्म आईओएसमा एपको नयाँ भर्सन उपलब्ध हुने अपेक्षा गरिएको छ । नयाँ भर्सन आएसँगै अहिलेको यो समस्या समाधान हुने डेभलपर टोलीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३