close

स्मार्टफोन व्यवसाय बन्द गर्दै एलजी

टेकपाना टेकपाना

माघ १०, २०७७ ११:२९

स्मार्टफोन व्यवसाय बन्द गर्दै एलजी

काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजी स्मार्टफोनको व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको छ । कम्पनीले मोबाइल व्यवसाय बन्द गर्ने तयारीस्वरुप ६० प्रतिशत कर्मचारीलाई विदाई समेत गरिसकेको छ ।

यद्यपि अर्को रिपोर्ट अनुसार मोबाइल व्यवसायका ती ६० प्रतिशत कर्मचारीलाई अर्को कम्पनीमा सारिएको दाबी समेत गरिएको छ । रिपोर्ट अनुसार एलजी मोबाइल कारोबार बन्द गर्नका लागि विभिन्न सम्भावनाको खोजीमा छ ।

कोरिया हेराल्डको रिपोर्टमा दाबी गरिएको छ कि एलजीका सीईओ काउन बोङ-सेओकले आफ्ना कर्मचारीहरुलाई एउटा ईमेल पठाएर स्मार्टफोन व्यवसाय बन्द गर्ने जानकारी गराएका छन् । गत वर्ष एलजीलाई ४.५ अर्ब डलर घाटा लागेको थियो ।

बताइएअनुसार स्मार्टफोन बजारमा बढ्दो प्रतिस्पर्धाका कारण यो निर्णयमा पुगेको हो । एलजीको प्रतिस्पर्धा घरेलु कम्पनी सामसङसँग त छँदै थियो, त्यस बाहेक बजेट स्मार्टफोन बजारमा साओमी, ओप्पो, भिभो, वनप्लस जस्ता कम्पनीहरुको कब्जा छ ।

यद्यपि कम्पनीका सीईओले कुनै पनि कर्मचारीलाई कम्पनीबाट ननिकालिने आश्वासन दिएका छन् । रिपोर्टको दाबीअनुसार ६० प्रतिशत कर्मचारीलाई अर्को युनिटमा सिफ्ट गरिएको छ र बाँकी ४० प्रतिशत कर्मचारीहरु कम्पनीको फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेका छन् ।

एलजीले अब केवल फ्ल्यागशिप स्मार्टफोनमा मात्र ध्यान दिने बताइएको छ । एलजीले गत वर्ष डुअल स्क्रिन अर्थात दुई वटा स्क्रिन भएको भेल्भेट र फ्लिप एलजी विङ स्मार्टफोन सार्वजनिक गरेको थियो ।

यसै महिना सम्पन्न भएको लस भेगसको कञ्जुमर इलेक्ट्रोनिक शो (सीईएस २०२१) मा एलजीले आफ्नो पहिलो रोलेबल अर्थात बेर्न मिल्ने स्मार्टफोनको पहिलो झलक प्रस्तुत गरेको थियो ।

एलजीको पहिलो रोलेबल फोन माथितर्फ स्लाइड हुने गर्दछ र त्यसपछि फोन एउटा ट्याब्लेट जस्तो देखिन थाल्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३