close

नागरिक एपमाथि साढे ११ लाख पटक साइबर आक्रमणको प्रयास, तर सबै बिफल

टेकपाना टेकपाना

माघ ११, २०७७ १५:५२

नागरिक एपमाथि साढे ११ लाख पटक साइबर आक्रमणको प्रयास, तर सबै बिफल

काठमाडौं । सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपको चर्चा अझै सेलाएको छैन । विभिन्न कोणबाट यो एपमाथि मानिसहरुले चर्चा परिचर्चा गरिरहेकै छन् । 

साथै यसको सुरक्षा र गोपनीयताको विषयमा समेत थुप्रैमा एक किसिमको संसय रहेको छ । यसैबीच टेकपानालाई नागरिक एपमा सार्वजनिक भए यता गरिएका साइबर आक्रमण प्रयासको जानकारी प्राप्त भएको छ । 

नागरिक एपका साइबर सुरक्षा विश्लेषक मनिष अधिकारीका अनुसार नागरिक एपको बेटा सार्वजनिक भएयताको दश दिनमा मात्रै ११ लाख ४७ हजार २८१ पटक साइबर आक्रमणको प्रयास भएको छ । ‘तर हामीले यस्ता सबै आक्रमणलाई रोक्न सफल भएका छौं,’ उनले भने, ‘यसमा नागरिकले एप प्रयोग गर्दा राख्ने गलत इन्ट्रीलाई समावेश गरिएको छैन ।’

बेटा सार्वजनिक हुनु अगावै सिस्टममा रहेका सबै सेक्युरिटी प्याच गरिएकाले संभावित खतरा टरेको अधिकारीको भनाई छ । एपमा कुनै किसिमको कमजोरी फेला पारे डेभलपर टिमलाई खबर गरिदिन उनले आग्रह समेत गरेका छन् ।

अर्को नागरिकको विवरणमा पहुँच बनाउन खोज्ने, सर्भर डाउन गर्ने उद्देश्यका साथ धेरै रिक्वेस्ट हान्ने, टोकन भेरिफिकेसन बाइपास गर्न खोज्ने, सिम कार्ड र नागरिकता भेरिफिकेसन बाइपास गर्न खोज्ने, टोकन राखेको राख्यै गर्ने लगायतका १०६ कोणबाट एपमाथि आक्रमणको प्रयास भइरहेको छ । 

भीपीएन प्रयोग गरेर आक्रमण प्रयास हुने भएकाले लोकेसन तथा आईपी एड्रेस ट्रेस गर्न भने गाह्रो हुने बताइएको छ । यद्यपी धेरैजसो आक्रमणको प्रयास भने नेपालभित्रैबाट भइरहेको नागरिक एपको साइबर सुरक्षा टोलीको विश्लेषण रहेको छ ।

त्यसो त एप डेभलपर टिमले ११६ वटा कोणबाट एपमाथि आक्रमणको प्रयास हुनसक्ने आँकलन यस अघि नै गरेको थियो । बेटा भर्सन सार्वजनिक हुनु अघि नै सूचना प्रविधि विभाग र नेपालकै उत्कृष्ट दुई निजी साइबर सुरक्षा कम्पनीले नागरिक एपको सुरक्षा परीक्षण गरेका थिए ।

त्यस हिसाबले अहिलेसम्मका सबै सरकारी सिस्टमको तुलनामा यो नै सबैभन्दा धेरै साइबर सुरक्षा परीक्षण गरिएको दाबी डेभलपर सर्जिव कार्कीले गरे । डेभलपमेन्टकै फेजमा रहेका कारण सुधार गर्नुपर्ने ठाउँहरु भने अझै बाँकी रहेको एक साइबर सुरक्षा विश्लेषकले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३