close

यसवर्षको किताब जात्रा माघ १७ देखि, टेलिभिजन र अनलाइनमा हेर्न सकिने

टेकपाना टेकपाना

माघ १२, २०७७ १३:९

यसवर्षको किताब जात्रा माघ १७ देखि, टेलिभिजन र अनलाइनमा हेर्न सकिने

काठमाडौं । किताब यात्रा फाउन्डेसनले हरेक वर्ष आयोजना गर्ने किताब जात्रा माघ १७ गतेदेखि २३ गतेसम्म आयोजना हुने भएको छ । फाउन्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको किताब जात्रा एक सातासम्म चल्ने जानकारी दिएको हो ।

कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेको सन्दर्भमा यस बर्ष किताब जात्रा सञ्चार माध्यम र भर्चुअल रुपमा सम्पन्न गरिने फाउन्डेसनका अध्यक्ष तथा नबिल किताब जात्रा– २०७७ का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले बताए । उनले भने, ‘त्यसका लागि एपीवान एचडी टेलिभिजन तथा किताब यात्रा डटकमको किताब यात्रा एपबीच सहकार्य गरिएको छ ।’

उनका अनुसार माघ १७ गतेबाट हरेक दिन बेलुकी ६ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन अर्थात २३ गते ५ बजेबाट ७ बजेसम्म ‘किताब जात्रा’ उल्लेखित माध्यमबाट हेर्न सकिनेछ । त्यसै सन्दर्भमा किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकहरुबारे जानकारी लिन र खरिद गर्न समेत सकिनेछ ।

प्रेस मिटमा किताब जात्राको टाइटल स्पोन्सरको रुपमा रहेको नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हिजोलाई सम्झिने नभई भोलि हेरिने जात्राको रुपमा किताब जात्रालाई आफूहरुले हेरेको बताए ।

किताबको शक्ति निकै महत्वपूर्ण भएकाले यससँग जोडेर गरिने उत्सवले भविष्यसँग जोड्ने उनको तर्क थियो । उनले भने, ‘हाम्रो देश सांस्कृतिक रुपमा समृद्ध छ, त्यसको प्रमुख अंग जात्रा हो । अन्य जात्राहरु प्राचीन समयको मिथकसँग जोडिएका छन्, धर्मसँग जोडिएका छन् । तिनले हामीलाई विगतसँग जोड्छन् । तर किताब जात्रा भने भोलिको पुस्तासँग जोडिने जात्रा हो ।’

किताब जात्रा ज्ञान र शिक्षाको उत्सव भएकाले यसले वर्तमान पुस्तालाई पूर्ण बनाउन सहयोग पुग्ने उनले बताए । अध्ययनबिना पूर्ण नागरिक बन्न नसकिने भएकाले यस्ता उत्सवले त्यसतर्फ डोर्‍याउने उनको भनाइ थियो ।

नेपाल टेलिकमको ‘इन एसोसिएसन’मा हुन लागेको नबिल किताब जात्रा–२०७७ सँग ‘पावर्ड बाइ’मा नेपाल बैंक लिमिटेड र ई–सेवाले सहकार्य गरेका छन् । नबिल किताब जात्रा– २०७७ को ब्रोडकास्ट पार्टनर एपीवान एचडी टेलिभिजनका प्रमुख सम्पादक टिकाराम यात्रीले जात्रा शब्दसँग पवित्रताको सम्बन्ध रहेको बताए ।

उत्सवले ज्ञानलाई पवित्रतासँग जोडेको उल्लेख गर्दै उनले विमर्शबाट ज्ञानको प्रसार तीव्र हुने भएकाले यसलाई प्रसार गर्ने माध्यमलाई पनि अद्यावधिक र विविधतापूर्ण बनाउनुपर्नेमा जोड दिए ।

‘यस्ता विमर्शलाई टेलिभिजनको माध्यमबाट एकैपटक असंख्य दर्शकसँग जोड्न सकिन्छ । त्यसैलाई मध्यनजर गर्दै यस वर्ष हामीले किताब–जात्रासँग सहकार्य गरेका छौं’ उनले भने, ‘यसले जात्राको उद्देश्यलाई अझ प्रभावकारी रुपमा विस्तार गर्न सघाउने भन्ने विश्साव छ ।’

उनले हरेक मानिसको जीवन–विकास अक्षरको सोपान चढ्दै हुने भएकाले यस्ता उत्सवको हरेक व्यक्तिसँग भावनात्मक नाता हुने उल्लेख गरे । पत्रकार भेटघाटमा बोल्दै किताब जात्राका प्रमुख सल्लाहकार तथा वरिष्ट चार्टर्ड एकाउन्टेन्ट भरत रिजालले सुपठित समाज निर्माणले हरेक क्षेत्रको विकासलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस्तो जात्रा निरन्तर भइरहनुपर्नेमा जोड दिए । 

‘नबिल किताब जात्रा– २०७७ को विमर्श सेसनको मोडरेटरको तर्फबाट बोल्दै कवि शकुन्तला जोशीले साहित्यलाई आम मानिसको जीवनसँग जोड्न यस्ता उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने किताब जात्राको यो तेस्रो संस्करण हो । यसमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया हुने गरेको छ ।

यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरु समावेश ७ वटा सेसन, विशेष काव्यिक प्रस्तुतिका साथै अन्य कार्यक्रम रहने सात वटा सेसनका साथै अन्य विभिन्न प्रकृतिका कार्यक्रमहरु रहने फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए ।

त्यसैगरी यसै अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने प्रेम साहित्य सम्मान पनि घोषणा गरिने उनले जानकारी दिए । नगदसहित प्रदान गरिने सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो । उनी फाउन्डेसनका संस्थापक अध्यक्ष ऋषिराम अधिकारीको पिता हुन् ।

गत वर्षको प्रेम साहित्य सम्मान साहित्य साधक सरु भक्तलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहित प्रदान गरिएको थियो । त्यसैगरी हरेक नागरिकले सहज रुपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्ने ध्येयका साथ अनलाइन बुकसेलिङ किताब यात्रा डटकम सञ्चालन गरिरहेको कम्पनी किताब यात्रा प्रालिले किताब जात्राकै अवसरमा आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई किताब यात्रा बेस्ट सेलर अवार्ड प्रदान गर्नेछ ।

यो अवार्ड गत वर्ष आख्यानकार अमर न्यौपानेको गुलाबी उमेरले प्राप्त गरेको थियो । सम्मान र अवार्ड दुवै किताब जात्राको अन्तिम दिन नै घोषणा गरिने अनुरागीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४