close

अनलाइनबाटै रक्तदाता खोज्न मिल्ने प्लेटफर्म : रगतदान

टेकपाना टेकपाना

माघ १३, २०७७ ८:४१

अनलाइनबाटै रक्तदाता खोज्न मिल्ने प्लेटफर्म : रगतदान

काठमाडौं । रक्तदानको सञ्जाललाई प्रविधिमार्फत सहजीकरण गर्न झापाका दुई युवाले रगतदान एप तयार गरेका छन् ।

रगत आवश्यक परेका बिरामी तथा रक्तदान गर्न इच्छुकहरुलाई एउटै प्लेटफर्ममा ल्याउनका लागि सो एप तयार गरेको एप निर्माण टोलीका सदस्य दिपेश पोखरेल बताउँछन् ।

अध्ययनका लागि जापान पुगेका झापाका पोखरेलले २०१५ मै रक्तदान प्रणालीलाई सहज बनाउन यस एपका लागि तयारी गर्दै आइरहेका थिए । लकडाउनको समयमा तयार गरी गत कात्तिकमा दिपेश र उनका साथीले सो एप लन्च गरेका हुन् ।

साथी डेभलपर भएका कारण रगतदान एप इनहाउस डेभलप भएको दिपेश बताउँछन् । गुगल प्ले स्टोरबाट हालसम्म पाँच सयको हारहारीमा यो एप डाउनलोड भएको छ ।

एपलाई देशैभर पुर्‍याएर रक्तदानको भरपर्दो र सहज प्लेटफर्म बनाउने योजना दिपेशको छ । यस एप प्रयोगकर्ताले मेम्बर तथा डोनरको रुपमा दुई तरिकाले साइनअप गर्न सक्छन् ।

डोनरले रगत लिन र दिन दुवै गर्न सक्छन् । तर मेम्बरले भने रगत दिन नपर्ने र चाहिएको समयमा रगत लिन र अरुको लागि रगत खोजिदिन सक्छन् ।

एपमा साइनअप गर्दा प्रयोगकर्ताले आफू नजिकको अस्पताल, एम्बुलेन्सको नाम तथा नम्बरहरु इन्ट्री गर्न सक्छन् । त्यसलाई आफूहरुले भेरिफाई गरेर अन्तिम डेटा इन्ट्री भने कम्पनीले नै गर्छ ।

यस एपमा तपाईंले जहाँसुकै भए पनि अथवा बिरामी जहाँसुकै भए पनि आवश्यक स्थानको जिल्ला, पालिका तथा रगत समूह इन्टर गरी रगतदानको डेटाबेसमा भएका नजिकका रगतदाताहरुसँग सम्पर्क गर्न सक्छन् ।

प्रयोगकर्तालाई जीपीएस ट्रयाक नगरी डेटाबेसमा भएको प्रयोगकर्ताहरुको आधारमा रेकमेण्ड गर्ने गरेको उनी बताउँछन् । प्रयोगकर्ताहरुले रक्तदान एप निःशुल्क प्रयोग गर्न सक्छन् ।

आगामी दिनमा रक्तदान एपलाई मोफसलको टेलिमेडिसिन एपको रुपमा विस्तार गरेर लैजाने उद्देश्य रहेको दिपेश बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४