close

ओप्पोको सस्तो फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ १२, २०७७ २१:४४

ओप्पोको सस्तो फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले आफ्नो नयाँ फाइभजी स्मार्टफोन ओप्पो ए फिफ्टी फाइभ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले चीनमा सार्वजनिक गरेको यो फोनमा मिडियाटेक डाइमेन्सिटी ७०० प्रोसेसर तथा ६ जीबी र्‍याम रहेको छ ।

ओप्पो ए फिफ्टी फाइभ फाइभजीमा वाटर ड्रप नोच डिस्प्लेका साथै ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ओप्पोको यो नयाँ स्मार्टफोनमा १३ मेगापिक्सेलको प्राइमरी सेन्सर सहित तीन वटा रियर क्यामेरा रहेका छन् ।

कति छ मूल्य ?

ओप्पो ए फिफ्टी फाइभ फाइभजी एउटा मात्र भेरियन्टमा सार्वजनिक भएको छ । ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको यो फोनको मूल्य १५९९ युआान अर्थात करिब २९ हजार रुपैयाँ राखिएको छ ।

यो फोन ब्रिस्क ब्लू र रिदम ब्ल्याक कलर भेरियन्टमा खरिद गर्न सकिनेछ । फोनको बिक्री जेडी डटकमबाट भइरहेको छ ।

यस्तो छ स्पेसिफिकेसन

ओप्पो ए फिफ्टी फाइभ फाइभजीको स्पेसिफिकेसनको कुरा गर्ने हो भने फोनमा डुअल सिम सपोर्टसँगै एन्ड्रोइड इलाभेनमा आधारित कलर ओएस इलाभेन रहेको छ । फोनमा ६.५ इञ्चको एचडी प्लस डिस्प्ले दिइएको छ ।

जसको रेजोलुसन ७२० बाई १६०० पिक्सेल छ । डिस्प्लेको रुपमा एलसीडी प्यानल प्रयोग गरिएको छ ।

जसको रिफ्रेश रेट ६० हर्ज तथा ब्राइटनेस ४८० निट्स रहेको छ । फोनको स्टोरेज क्षमता एसडीकार्डमार्फत एक टीबीसम्म विस्तार गर्न सकिन्छ ।

यसको क्यामेराको कुरा गर्ने हो भने फोनमा ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ । जसमा १३ मेगापिक्सेलको मूख्य क्यामेरा रहेको छ, जसको अपार्चर एफ/२.२ छ । सँगै अर्को लेन्सको रुपमा दुई मेगापिक्सेलको म्याक्रो तथा तेस्रो दुई मेगापिक्सेलकै पोट्रेट लेन्स दिइएको छ ।

सेल्फीका लागि यो फोनमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । क्यामेराको साथमा स्लो मोसन, टाइम ल्याप्स, सुपर टेक्स्ट, अल्ट्रा क्लियर जस्ता फिचर रहेका छन् ।

ओप्पो ए फिफ्टी फाइभ फाइभजीमा कनेक्टिभिटीका लागि ३.५ एमएम अडियो ज्याक, वाईफाई फाइभ, ब्लुटुथ भि ५.१ र चार्जिङका लागि यूएसबी टाइप सी पोर्ट राखिएको छ । फोनको पावर बटनमा फिंगरप्रिन्ट सेन्सर छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४