close

खल्तीको चार वर्षे यात्रा, डिजिटल कारोबारमा यसरी बन्दै छ सहयात्री

टेकपाना टेकपाना

माघ १३, २०७७ १३:३

खल्तीको चार वर्षे यात्रा, डिजिटल कारोबारमा यसरी बन्दै छ सहयात्री

काठमाडौं । प्रविधिको विकाससँग सबैभन्दा नजिक रहेर अगाडि बढिरहेको एउटा क्षेत्र नेपालको मोबाइल वालेट पनि हो । आज जसरी हामी मोबाइलबाटैआर्थिक कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंकसँगै नेपालका वालेट कम्पनीलाई जान्छ ।

प्रविधिको बैंकिङ पाटो फिनटेक (वित्तीय प्रविधि) को रुपमा चिनिँदै आएको छ । फिनटेकलाई सँगै अगाडि बढाउन र त्यसको छुट्टै पहिचान दिन मोबाइल वालेटहरुले खेलेको भूमिका निश्चय नै सराहनीय छ ।

प्रविधि र फिनटेकको यो अभ्यास पछ्याउने मामलामा ४ चार वर्षदेखि सञ्चालनमा आएको मोबाइल वालेट ‘खल्ती’ ले बजारमा आफूलाई फरक रुपमा उभ्याएको छ । आफूसँग जोडिएको प्रयोगकर्ता भनौं या खल्तीका सहयात्रीहरुलाई पनि नयाँपन दिन सफल भएको छ ।

त्यही खल्तीले आज ठीक चार वर्ष पुरा गरेको छ । डिजिटल वालेटको सोचलाई सार्थकता दिन सन् २०१७ को जनवरी २६ मा नेपालको चर्चित एसएकएस सेवा प्रदायक स्प्यारो एसएमएसको टिमले यसको सुरुवात गरेको थियो ।

अमित अग्रवाल, मनिष मोदी, धुुव्र अधिकारी र अरविन्द शाह गरी चार युवाले नेतृत्व गरेको टिमको रिजल्ट आजको ‘खल्ती’ हो । मानिसको दैनिक जीवनसँग जोडिएको नाम ‘खल्ती’ आज नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय छ ।

जसले गर्दा सुरुवाती चार वर्षमै १४ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता जोडिएको छन् । भने, २६ हजारभन्दा बढी एजेन्ट नेटवर्क तयार भएको छ । यतिसम्म कि सेवा सुरु भएको साढे तीन वर्षको अवधिमा १० लाख प्रयोगकर्ता पुर्‍याउने वालेटमा पहिलो खल्ती नै होला ।

कुनै समय नेपालमा एकीकृत भुक्तानी प्रणाली नभएको अवस्थामा प्रत्येक दिन नयाँ नयाँ बैंक तथा वित्तीय संस्थासँग छुट्टाछुट्टै सहकार्य गर्दै अघि बढेको खल्तीमा आज केही सीमित बैंकबाहेक धेरै बैंक जोडिएका छन् ।

‘सेवा सुरु गर्दा बजारमा धेरै वालटेहरु थिए,’ कम्पनीका निर्देशक अमित अग्रवाल भन्छन, ‘जसले गर्दा सुरुमा खल्तीलाई पत्याउन कुनै पनि बैंकले गतिलो आधार भेटेका थिएनन् । प्रयोगकर्ताहरुले त खल्ती मन पराइरहेका थिए, तर आफ्नो खाता भएको बैंकसँग खल्ती लिंक नहुँदा प्रयाोगकर्ताहरु निराश भएर फर्किन वाध्य थिए ।’

अर्कोतर्फ पेमेन्ट गेटवेको रुपमा खल्तीले नेपाल राष्ट्रबैंकबाट स्वीकृति पाउन पनि निकै ठूलो मेहेनत गर्नुपर्‍यो । लाइसेन्स नभएका कारण धेरै बैंकहरुले खल्तीसँग साझेदारी गर्न पनि मानिरहेका थिएनन् । अन्ततः खल्तीले २०१९ को अप्रिलमा लाइसेन्स पायो । त्यसपछि भने बैंकहरुले खल्तीसँग साझेदारी गर्न चासो देखाउन थाले ।

त्यसैबीच ‘रिफर एण्ड अर्न’ क्याम्पियन सुरु भयो । जसले धेरै प्रयोगकर्ता जोड्यो । भने, प्रयोगकर्ताको सहजताको लागि बैंकहरु पनि जोडिँदै गएर आज नेपालका ९५ प्रतिशतभन्दा बढी बैंक खल्तीसँग जोडिएका छन् । भने, अन्य बैंक तथा वित्तीय संस्थासँग सहकार्यका लागि समेत काम भइरहेको छ ।

यस्ताे साझेदारीसँगै ग्राहकले खल्तीमा पैसा नै लोड नगरी सोझै बैंक खाताबाटै खल्तीमा उपलब्ध सेवाको भुक्तानी गर्न सक्ने छन् । यसको उद्देश्य प्रयोगकर्ताले बैंकको खातमा आउने ब्याज निरन्तर पाउनु भन्ने नै हो । यो सेवमकम अबको केही दिनमै थप तीन बैंक जोडिने तयारीमा रहेको अग्रवाल बताउँछन् ।

उनका अनुसार नेपालमा पहिलोपटक वालेटबाटै होटल बुकिङ गर्न सकिने, सिट सेलेक्सन सहित मुभि टिकेटिङ, इभेन्ट टिकेटिङ, खल्ती बजार हाइपर लोकल प्लेटफर्म, स्मार्ट स्कुलको फी भुक्तानी, स्मार्ट छोरी ईन एप लर्निङ जस्ता सेवाहरु सार्वजनिक गर्‍यो ।

जसले खल्तीका लागि आजसम्मको बाटो तय गर्न मद्दत पुर्‍याएकाे छ । आज खल्तीबाट हजारौं सेवाको भुक्तानी सम्भव छ ।

यसका अलावा कम्पनीले आउँदो असार–साउनमा खल्तीको परिस्कृत भर्सन ल्याउने तयारीका साथ काम गरिरहेको छ । यस अन्तर्गत युआई र युएक्समा पूर्ण परिवर्तन हुनेछ ।

जसको उद्देश्य प्रयोगकर्तामैत्री खल्ती तयार गर्नु हो । साथै ग्राहक सपोर्ट समेत अपग्रेड हुँदैछ । यस्तै आउँदो दिनमा कम्पनीले थप बैंक तथा फण्ड लोड गर्ने तरिकाहरुको पनि खोज तथा अन्वेषण गर्दै लाने बताएको छ ।

ह्याप्पी बर्थडे खल्ती !

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४