डेटिङ एप चलाउने झण्डै २३ लाख प्रयोगकर्ताको डेटा लिक टेकपाना मंगलवार, माघ १३, २०७७ १६:१३ काठमाडौं । चर्चित डेटिङ साइट मिटमाइण्डफुलका लाखौं प्रयोगकर्ताको डेटा इन्टरनेटमा लिक भएको छ । एक नामुद ह्याकरले हालै सो साइटकाे माेबाइल एपका २२ लाख ८० हजार प्रयोगकर्ताकाे संवेदनशील डेटा लिक गरिदिएका छन् । उक्त डेटिङ साइटको डेटा सार्वजनिक रुपमा पहुँच गर्नसक्ने गरी ह्याकिङ फोरमा निःशुल्क डाउनलोडका लागि ती ह्याकरले शेयर गरिदिएका छन् । १.२ जीबी साइजकाे सो डेटा, साइटको युजर डेटाबेसमा रहेको थियो । लिक भएको डेटामा प्रयोगकर्ताले उक्त साइटको वेब तथा एप भर्सनमा साइनअप गर्नुअघि राख्ने सम्पूर्ण विवरणहरु समावेश छन् । जसमा वास्तविक नाम, ईमेल एड्रेस, ठेगाना तथा जिप डिटेल, शारीरिक विवरण, वैवाहिक अवस्था, जन्म मिति, आईपी एड्रेस, बिक्रिप्ट ह्यास अकाउन्ट पासवर्ड, फेसबुक युजर आईडी, फेसबुक अथेन्टिकेसन टोकन आदि समावेश छन् । तर लिक भएको फाइलमा प्रयोगकर्ताबीच आदानप्रदान भएको म्यासेज भने छैन । यद्यपि यस घटनालाई बेवास्ता नगर्न सुरक्षा जानकारहरुको सचेत गराएका छन् । यसबारे मिटमाइण्डफुल साइटले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । ‘साइनी हन्टर्स’ नाम राखेका एक चर्चित ब्ल्याकह्याट ह्याकरले साे डेटा सार्वजनिक गरिदिएका हुन् । अघिल्लो हप्ता मात्र उनले टेसप्रिङमा दर्ता भएका करोडौं डिटेल लिक गरिदिएका थिए ।