close

समयमै परियोजना सम्पन्न गर्न र गुणस्तर सुधारमा ध्यान दिन टेलिकम नेतृत्वलाई सञ्चार मन्त्रीको खबरदारी

टेकपाना टेकपाना

माघ १३, २०७७ २०:२९

समयमै परियोजना सम्पन्न गर्न र गुणस्तर सुधारमा ध्यान दिन टेलिकम नेतृत्वलाई सञ्चार मन्त्रीको खबरदारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले फोन तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । नेपाल टेलिकमका पदाधिकारीलाई मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री गुरुङले काम हुन नसकेकोमा ठेकेदार कम्पनीलाई देखाएर पन्छिन नपाइने भन्दै खबरदारी गरेका हुन् ।

मन्त्री गुरुङले हिमाली जिल्लाहरुमा सेवा विस्तार र गुणस्तर सुधारका लागि तीव्र गतिका साथ काम गर्न समेत निर्देशन दिएका छन् । सञ्चार मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जारी गरेको प्रेस नोटमा सबै हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिइएको छ । 

मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई गुणस्तरीय बनाउन भन्दै सचेत समेत गराएका छन् । टेलिकमको टावरलगायतका पूर्वाधारहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्नका लागि समयमै आवश्यक व्यवस्था मिलाउन उनले आग्रह गरे ।

सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भनेर भन्नुपर्ने अवस्था नआउने गरी काम गर्नुपर्ने आवश्यक्ता पनि मन्त्री गुरुङले औंल्याएका थिए । उनले व्यापारिक फाइदा नहेरी टेलिकमलगायत सूचना प्रविधिको विकासमा तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

‘व्यापारमा फाइदा हुँदैन कि भनेर चुुप लागेर नबसौं,’ ठेकेदार कम्पनीप्रति संकेत गर्दै मन्त्री गुरुङले भने, ‘आफूले जिम्मा लिएको जिल्लामा समयमै काम सकौं ।’ त्यसो हुन सकेमात्रै प्रधानमन्त्री केपी शर्मा आलीको ‘डिजिटल नेपाल’ बनाउने परिकल्पना साकार हुने उल्लेख गर्दै मन्त्री गुरुङले देशमा भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्न सूचना प्रविधिको विकासमा ढिलाई गर्न नहुने स्पष्ट पारे ।

मध्यपहाडी लोकमार्गमा गोरखा पूर्व तथा कर्णाली र सुदूरपश्चिममा सूचना महामार्ग तयार पार्न र फोरजी परियोजना सम्पन्न गर्न ढिलाई भएको प्रति मन्त्री गुरुङले गम्भीर चाँसो व्यक्त गरेका हुन् । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४