close

‘इन्टरनेटमा मदिरा र सुर्तिजन्य वस्तुको भन्दा बढी कर’

टेकपाना टेकपाना

माघ १५, २०७७ १८:५०

‘इन्टरनेटमा मदिरा र सुर्तिजन्य वस्तुको भन्दा बढी कर’

काठमाडौं । सेवाप्रदायकहरुले इन्टरनेट सेवालाई मदिराजन्य र सुर्तीजन्य उद्योगको दर्जामा राखिएको भन्दै गुनासो गरेका छन् । सिंहदरबार स्थित राष्ट्रिय योजना आयोगको हलमा भएको अन्तरक्रिया कार्यक्रममा इन्टरनेट सेवाप्रदायक नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले यस्तो कुरा राखेका हुन् ।

नेपालमा इन्टरनेट सेवा सुरु हुँदा यसलाई बिलासिताको रुपमा हेरिएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले पछिल्लो समय झन् करको भार बढाइएको प्रति दुःख व्यक्त गरे । ‘इन्टरनेट बिलासिताको वस्तु नभएर अत्यावश्यक सेवाको रुपमा स्थापित भइसकेको छ,’ उनले भने, ‘तर सबैले उपभोग गर्नसक्ने गरी सस्तो हुनुपर्ने इन्टरनेट सेवामा सरकारले सुर्तिजन्य तथा मदिराजन्य वस्तुमा भन्दा चर्को कर लगाइएको छ । जसले गर्दा इन्टरनेट सेवा महंगो समेत बनाएको छ ।’

पराजुलीका अनुसार सबै क्षेत्रमा कर्पोरेट ट्याक्स २५ प्रतिशत हुँदा इन्टरनेटमा भने मदिरा र सुर्तीजन्य उद्योग सरह ३० प्रतिशत रहेको छ । दूरसञ्चार सेवा शुल्क, भ्याट, भन्सार दस्तुर, टीडीएस, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष आदि सबै जोड्दा सुर्ति तथा मदिराजन्य वस्तुमा भन्दा बढी कर इन्टरनेट सेवामा रहेको देखिन्छ ।

सञ्चार मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा इन्टरनेट सेवाप्रदायकहरुको तर्फबाट प्रस्तुति दिँदै अध्यक्ष पराजुलीले सरकारले करको दर कम गरे सेवा सर्वसुलभ र पहुँचयोग्य हुनसक्ने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४