close

सानै उमेरमा रोबट बनाएका लम्साल दाजुभाइको रोचक कथा

टेकपाना टेकपाना

माघ १९, २०७७ १७:३८

सानै उमेरमा रोबट बनाएका लम्साल दाजुभाइको रोचक कथा

काठमाडौं । १८ वर्षका कपिल लम्साल र उनका १६ वर्षका भाइ विशाल लम्साल । उमेरमा कलिलो छन्, तर काम भने निकै ठूलो गर्दैछन् । 

गुल्मीबाट पढाइका लागि बुटवल झरेका यी दुई किशोरहरुले एक वर्षअघि बनाएको रोबट ‘एरिसा’ ले पछिल्लो समय नेपालकाे विज्ञान प्रविधि क्षेत्रमा चर्चा पाइरहेकाे छ ।

नेपाली, हिन्दी तथा अंग्रेजी तीन वटा भाषामा बोल्न सक्ने एरिसा एउटा एआई अर्थात् आर्टिफिशियल इन्टेलिजेन्समा आधारित रोबट हो । 

समाचार तथा फिल्ममा रोबट बनेको पढ्दै र हेर्दै आएका दुवैलाई रोबट निर्माणमा विस्तारै चाख बढ्दै जान थाल्याे । 

युट्युबमा ‘हाउ टु मेक अ रोबट’ भनेर सिकाएजस्तो पाटपुर्जा जोडेर मात्रै रोबट बन्दैन थियो । तर दुवैलाई रोबट बनाउनु नै थियो ।

यसैले एउटा रेस्बेरी पाई प्रोग्रामिङ ल्याङ्ग्वेज पाइथन सिकेर त्यसैबाट प्रोग्रामिङ गर्दै उनीहरुले राेबट विकासकाे काम थाले ।

अनि युट्युब र गुगलबाट विधि सिक्दै अन्तत: उनीहरुले एरिसा राेबट निर्माण गरे । 

एआई रोबोट एरिसा तीन भाषामा बोल्छ । नमस्कार गर्छ। साथै यसले लाइट अन र अफ पनि गर्छ । एक वर्षअघि बनेकाे याे राेबट अरू फिचर पनि थप्न सकिने गरी बनाइएकाे छ ।

कपिल र विशालको एरिसा रोबट विभिन्न इन्फोटेक मेलामा प्रदर्शन भइसकेकाे छ । 

पछिल्लो समय रोबटको कारण चर्चामा आएपछि यी दुई किशोर जोडीले लकडाउनको समयमा अटोमेटिक सेनिटाइजर मसिन पनि बनाए । उनीहरूले बनाएकाे १६ वटा मसिन अहिले पनि विभिन्न गाउँपालिका र विद्यालयहरुमा प्रयोग भइरहेकाे छ । 

यसबाहेक उनीहरुले अटोमेटिक ल्याण्डफोल्डिङ रोबट र वेटर डेमो पनि बनाइसकेका छन् । 

यी दुवैले आफ्नो पढाइबाट बचेको समयमा नवप्रवर्तनका कामहरु गर्दै आएका थिए । अब भने पुरा समय यसैमा दिनका लागि आफूहरु कम्पनी दर्ताको प्रक्रियामा रहेको कपिल बताउँछन् ।

आफ्नै खर्च र विद्यालयको सहयोगमा गर्दै आइरहेको कामलाई अब भने व्यवसायिक रुपमा लिएर जाने उनीहरुको योजना छ ।

यो नयाँ संस्थामा ठूला आविष्कारक र इन्न्जिनियरहरु होइनन्, आफैंजस्ता साना-साना साथीहरु जो नवप्रवर्तन र आविष्कारमा रुचि राख्छन्, उनीहरुलाई स्थान उपलब्ध गराउने योजना छ । 

‘अबको दुई/तीन महिनामा हाम्रो संस्था दर्ता भइसक्छ र हामी त्यसैबेला एउटा प्रडक्ट पनि सार्वजनिक गर्नेछौं,’ कपिलले सुनाए । 

कपिलले आगामी दिनमा ल्याउने प्रडक्टको बारेमा कुनै जानकारी त दिएनन्, तर भारत र चीनमा किन्ने भन्दा सस्तो प्रविधि नेपालमै आफूहरुले बनाउने याेजना अनुसार काम गरिरहेकाे बताए । 

कपिल हाल व्यवस्थापन संकायबाट कक्षा १२ को परिक्षा दिएर बसेका छन् भने उनका भाइ विशाल ९ कक्षामा अध्ययन गर्दैछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१