close

साना व्यवसायलाई सेलिब्रेटीबाट प्रचारप्रसार गर्ने अवसर दिँदै ‘सेलेब साथी’

टेकपाना टेकपाना

माघ २१, २०७७ १७:२३

साना व्यवसायलाई सेलिब्रेटीबाट प्रचारप्रसार गर्ने अवसर दिँदै ‘सेलेब साथी’

काठमाडौं । अब नेपालका साना तथा मझौला व्यवसायले पनि अन्तर्राष्ट्रिय स्तरसम्म एक्सपोजर पाउन सक्ने भएका छन् । चाहे सुदूरपश्चिम होस् वा सुदूरपूर्व । जुनसुकै ठाउँका सानोभन्दा सानो व्यवसाय वा पसल नै किन नहोस् ।

करोडौं फ्यान फलाेअर भएका प्रभावशाली सेलिब्रेटी तथा कलाकारहरूबाट आफ्नो ब्राण्डको प्रचार गराउन पाउने अवसर यसले दिएकाे छ ।

प्रविधिको सहयोगमा तीनजना युवाहरुले गत दशैंमा यस किसिमको प्लेटफर्म निर्माण गरेका छन् । र, यसलाई नाम दिइएको छ सेलेब साथी

साना तथा मझौला व्यवसायीको वस्तु तथा सेवालाई बलिउड तथा नेपाली कलाकार तथा विभिन्न क्षेत्रका प्रभावशाली सेलिब्रेटीबाट प्रचार गराउन जीवन श्रेष्ठ, शिव सुवेदी र राजेश श्रेष्ठको सेलेब साथी सञ्चालन गरिरहेका छन् ।

‘सेलेब साथी साना तथा मझौला व्यवसायीको सेवामा केन्द्रित छ,’ सहसंस्थापक जीवन श्रेष्ठ भन्छन्, ‘नेपालको कुनै क्षेत्रमा सानो पसल वा इन्टरप्राइज खुलेको छ । उसँग थोरै मार्केटिङ खर्च छ । कुनै कलाकार वा सेलिब्रेटी ल्याएर व्यवसायको उद्घाटन गराउँछु, उनीहरुबाट भिडियो बाइट बनाउँछु वा उनीहरुको इन्फ्ल्युनसियल सोसल प्रोफाइलबाट मार्केटिङ गर्छु तर उनीहरुसँग पुग्न अप्ठ्याराे छ भने हामी उनीहरुलाई सहयोग गर्न सक्छौं ।’

परम्परागत इन्फ्ल्युनसियल मार्केटिङलाई डिजिटल स्पेसमा सबैको पहुँचमा पुर्‍याउन जीवन, शिव र राजेशले दुई वर्षसम्म गृहकार्य गरेपछि गत कात्तिकमा कम्पनीलाई आधिकारिक रुपमा उद्घाटन गरे ।

अहिले सेलेब साथीसँग चार सय सेलिब्रेटीहरुले सम्झौता गरिसकेका छन् । बलिउडबाट पनि पाँच हजार सेलिब्रेटीसँग सहकार्य गर्ने याेजना उसले सारेकाे छ । नेपाली सेलिब्रेटीमध्ये ७ सयकाे हारहारीमा सेलेब साथीसँग डिजिटल रूपमा साइनअप गरिसकेका छन् ।

यसअन्तर्गत सिताराम कट्टेल (धुर्मुश), ऋचा शर्मा, नवीन के. भट्टराई, रामजी खाँडजस्ता राष्ट्रिय कलाकारहरु सेलेब साथीमा आबद्ध छन् भने बलिउडका सलिम मर्चेन्ट, राजपाल यादव, प्रेम चोपडा, अंकित तिवारी तथा विभिन्न क्रिकेटरहरु छन् ।

यस्तै सेवाग्राहीतर्फ कर्पोरेट र साना तथा मझौला व्यवसायीहरू १५ देखि २० वटा सेलेब साथीमा जोडिएका छन् । तर काम भने दुई चारवटाको मात्र सम्पन्न भएको जीवनले बताए ।

‘सिङ्गापुरको एजेन्सीसँग पनि हाम्रो कुरा भइरहेको छ । त्यहाँ पछि हाम्रो आर्टिस्टलाई त्यहाँको प्लेटफर्ममा पनि प्रोमोट गर्ने छौं ।‘

विभिन्न क्याटेगोरीमा गरिने प्रोमोसनका लागि कम्पनीसँग कुनै निश्चित प्राइसिङ मोड्युल नभएको जीवन बताउँछन् ।

‘हामीसँग प्राइसिङ मोड्युल धेरै छन्, कुनै एउटा निश्चित छैन । सेलिब्रेटीले आफू र सेवा अनुसार आफैले शुल्क निर्धारण गर्नु सक्छन् र हामी प्लेटफर्मको रुपमा त्यहाँबाट केही प्रतिशत सेवा शुल्क सेलिब्रेटीबाटै लिन्छौं ।

विजनेसको लागि प्रोमोट गर्ने पर्‍यो भने ब्राण्ड प्रोमोसनमा हुन्छ, कसैको लागि फोटोग्राफी मात्र होला, कसैको भिडियो मात्र होला । कसैको सोसल मिडियाबाट ब्राण्ड प्रोमोसन मात्र होला । त्यसमा तपाईंको कुन क्याटागोरी हो, त्यसै अनुसार शुल्क लिन्छौं ।’

शुल्क एकदमै पारदर्शी भएको जीवन बताउँछन् । साथी कतिपय सेलिब्रेटीले सोसल कजका लागि पनि योगदान दिन सक्ने उनले बताए ।

‘कतिजना आर्टिस्टले सामाजिक योगदान दिने भए हामी दुई तीनवटा बालबालिकासँग सम्बन्धित संस्थासँग काम गरिरहेका छौं । यसमा वर्काउट गर्न थालेका छौं ।’

यससँगै सेलेब साथीमा आबद्ध हुने सेलिब्रेटीका लागि अर्को फाइदा भनेको उनीहरुको पोर्टफोलियो बनाउने तथा व्यवस्थापन गर्ने जिम्मा पनि कम्पनीले निःशुल्क लिइदिने अर्का सहसंस्थापक राजेश श्रेष्ठ बताउँछन् ।

इन्फ्ल्युन्शियल मार्केटिङलाई सहजीकरण गरेर सबैको पहुँचयोग्य बनाउनु सेलेब साथीको मुख्य लक्ष्य हो । तर यसबाहेक पनि कम्पनीका अन्य व्यवसायिक मोड्युलरपाटाहरु छन् ।

‘इन्फ्ल्युन्सियल मार्केटिङको एउटा पाटो बाहेक हामीसँग विभिन्न विभिन्न एजेन्सी पनि छन्,’ शिव भन्छन्, ‘हामीले वास्तवमा एउटा युनिफाइड मोडलमा गरिरहेका छौं । हाम्रो प्लेटफर्ममार्फत विभिन्न एजेन्सीहरुले सेवा किनबेच पनि गर्न सक्छन् ।

जस्तै फोटोग्राफरहरु छन्, डिजाइनर, फेसन डिजाइनर आएर आफ्नो सेवा बेच्न सक्छन् ।, डिजिटल मार्केटिङ एजेन्सी प्रिज्मासँग हामीले सम्झौता गर्न लागेका छौं । उहाँहरुले आएर सेवा सेल वा लिन पनि सक्नुहुन्छ । यो एउटा यूनिफाइड प्लेटफर्म हो ।’

हालसम्म कम्पनीले रोजगारी डटकम र अफरिङ ह्याप्पीनेस जस्ता संस्थासँग मिलेर काम गरिसकेको छ ।

डिजिटल मार्केटिङ पृष्ठमूभिका जीवन, इभेन्ट म्यानेजमेन्ट पृष्ठभूमिका राजेश र एनआरएन शिवको यो संस्था हालसम्म बुट्सट्रयापिङबाट चलिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१