close

७७ जिल्लाका ६३१ स्थानीय तहमा पुग्यो टेलिकमको फोरजी

टेकपाना टेकपाना

माघ २२, २०७७ ११:१७

७७ जिल्लाका ६३१ स्थानीय तहमा पुग्यो टेलिकमको फोरजी

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको छ । कम्पनीले देशका सबै जिल्लामा गरी कुल ६३१ ओटा स्थानीय तहमा फोरजी सेवा पुगेको जनाएको हो ।

अझै देशका १२२ स्थानीय तहका प्रयोगकर्ताले भने फोरजी सेवा प्रयोग गर्न पाएका छैनन् । कम्पनीले देशव्यापी रुपमा तीव्र गतिको वायरलेस प्रविधिको रुपमा एड्भान्स फोरजी तथा एलटीई सेवा विस्तारको काम जारी रहेको बताएको छ । कम्पनीले आज माघ २२ गते आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाउँदैछ ।

यस अवसरमा प्रतिवद्धता जारी गर्दै कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले फोरजी विस्तारको कार्य तीव्रताका साथ भइरहेको उल्लेख गरेका छन् । ‘फोरजी सेवाको देशव्यापी विस्तारसँगै प्रमुख चार सहरमा फाइभजी सेवाको समेत परीक्षण गरिनेछ,’ उनले भनेका छन् ।

कम्पनीले एउटै फाइबरबाट इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा दिने कार्यलाई समेत तीव्र रुपमा विस्तार गर्न थालेको छ । यो सेवा हाल देशका ४२ जिल्लामा पुगिसकेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१