close

साओमीका यी फाेनले गुगल सर्भिस सपाेर्ट नगर्ने

टेकपाना टेकपाना

माघ २४, २०७७ १५:५५

साओमीका यी फाेनले गुगल सर्भिस सपाेर्ट नगर्ने

काठमाडौं । चीनमा स्मार्टफोन कम्पनीहरुले गुगल मोबाइल सर्भिसबिना आफ्ना डिभाइस सार्वजनिक गर्न थालेका छन् । चीनमा सम्पूर्ण गुगल प्लेटफर्महरु प्रतिबन्धित भएपछि कम्पनीहरुले त्यहाँ गुगल सर्भिस नभएका फोनहरु सार्वजनिक गर्न थालेका हुन् । 

तर प्रयोगकर्ताहरुले चाहेको खण्डमा भीपीएन प्रयोग गरेर होस् वा चीनबाहिर ती फोनमा गुगलका सेवाहरु डाउनलोड गर्न सक्छन् । 

तर चीनका साओमी प्रयोगकर्ताहरुसँग अब यो विकल्प पनि नहुने भएको छ । एमआईयूआईका सहयोगी कर्मचारीहरुले यस महिनाको सुरुवातदेखि एमआई तथा रेड्मी फोनहरुमा प्रि-इन्स्टल गुगल माेबाइल सर्भिस (जीएमएस) नहुने र त्यसलाई डाउनलोड पनि गर्न नसकिने बताएका छन् ।

साओमीले कुन कुन फोनहरुमा गुगल सर्भिस बन्द हुन्छ भनेर जानकारी नदिएपनि यस किसिमको परिवर्तन चीनमा मात्र उपलब्ध शक्तिशाली क्यामेरा फोन एमआई १० अल्ट्रा, रेड्मी के ३० अल्ट्रा र रेड्मी १० एक्स सिरिजका माेडलमा देखिने पक्का भइसकेकाे छ ।

जीएमएस प्रयोग गर्न चाहने प्रयोगकर्ताहरुलाई कम्पनीले ‘कुल एपीके’ प्लेटफर्मजस्ता थर्ड पार्टी सर्भिस प्रयाेग गर्न सकिने बताएको छ, जसले साइडलोडिङ एपका लागि अनुमति प्रदान गर्दछ । 

चीनमा फोन सस्तो हुने र अरू देशमा नपाइने मोडल त्यहाँ पाइने हुँदा चीनबाट फोन किनेर देश भित्र्याउनेहरुको संख्या पनि धेरै छ । यस्ता व्यक्तिहरुले यो परिवर्तनबाट प्रभावित हुने देखिएको छ ।

उनीहरुले गुगल बाहेकका अन्य प्लेटफर्म वा त ह्वावेले विगत दुई वर्षदेखि बनाउन प्रयासरत रहेको गैर गुगल प्लेटफर्ममा निर्भर रहनु पर्नेछ । 

साओमीले जीएमएस प्रि इन्स्टल भएका डोमेस्टिक मोडलहरु यो निर्णयबाट प्रभावित नहुने जनाएको छ । जीएमएस इन्स्टल नभएका फोनहरुमा भने भविष्यमा सर्भिस डाउनलोड गर्न नमिल्ने भएको हो । साओमीको यो निर्णयबाट कम्पनीका अन्तर्राष्ट्रिय मोडललाई भने केही असर पर्नेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१