close

रिभ्यूः आकर्षक अनि पोर्टेबल ल्यापटप डेल इन्स्पिरन ५३०१

प्रज्ञा खनाल प्रज्ञा खनाल

माघ २६, २०७७ २०:१२

रिभ्यूः आकर्षक अनि पोर्टेबल ल्यापटप डेल इन्स्पिरन ५३०१

काठमाडौं । डेल इन्स्पिरन ५००० सिरिजको एउटा नयाँ ल्यापटप मोडल हो, डेल इन्स्पिरन ५३०१ । यस ल्यापटपलाई मैले केही हप्तादेखि प्रयोग गरिरहेको छु  त्यसै आधारमा आज म यसको रिभ्यू गर्दैछु ।

प्रोसेसरको आधारमा यस ल्यापटपमा तपाईंले तीन भेरियन्ट मोडलमा पाउन सक्नुहुन्छ । मसँग भएको यो भेरियन्टमा इलेभेन्थ जेनेरेसन इन्टेल कोर आई सेभेन प्रोसेसर प्रयोग गरिएको छ ।

यसबाहेक अन्य दुई भेरियन्टमा ११ औं पुस्ताको इन्टेल कोर आई थ्री र आई फाइभ प्रोसेसर पाउन सक्नुहुनेछ । सबैभन्दा पहिले म यसको पोर्टेबिलिटीको बारेमा कुरा गर्न चाहन्छु ।

जुन यो ल्यापटपको सबैभन्दा राम्रो विशेषता पनि हो । १३ इन्चको यो ल्यापटपको तौल लगभग एक केजी रहेको छ ।

यसबाटै यो ल्यापटप कति हलुका र बोक्न सजिलो छ भन्ने कुरा तपाईं अनुमान गर्न सक्नुहुन्छ । यसलाई सजिलै एक हातले बोक्न सकिन्छ ।

यदि तपाईं अफिस वा कलेजमा दैनिक ल्यापटप बोकेर जानुहुन्छ भने यो तपाईंको लागि उपयुक्त विकल्प हुन सक्छ । वा तपाईं लगातार यात्रा गरिरहनु हुन्छ भने पनि यसलाई ब्यागमा राखेर सजिलै यात्रा गर्न सकिन्छ ।

न त यसले तपाईंको ब्यागमा धेरै स्थान ओगट्छ, न त भारी नै हुन्छ । यति धेरै हलुका र पोर्टेबल यो ल्यापटपको डिजाइन पनि एकदमै स्टाइलिस र प्रिमियम छ ।

यसको मेटालिक बडी र स्लिम डिजाइनले गर्दा हातमा बोक्दा पनि एकदमै प्रिमियम अनुभव पाउन सक्नुहुन्छ । ल्यापटपमा रहेका पोर्टको कुरा गर्दा यसको बायाँतिर चारवटा पोर्टहरु छन् ।

जसमा चार्जिङ पोर्ट, एचडीएमआई १.४ पोर्ट, यूएसबी ३.२ जेन वान टाइप ए पोर्ट र यूएसबी ३.२ जेन टु टाइप सी पोर्ट) । यस्तै ल्यापटपको दायाँ हातपट्टी तीनवटा पोर्टहरु छन् । जसमा यूएसबी ३.२ जेन टु पोर्ट, हेडफोन ज्याक र माइक्रो एसडी कार्ड रिडर रहेका छन् ।  

ल्यापटपको पछाडितिरको भागमा हेर्ने हो भने यसमा तपाईंले दुईवटा ठूला एयर भेन्टहरु देख्न सक्नुहुन्छ । साथै दायाँ र बायाँ स्पिकर पनि देख्न सक्नहुन्छ ।

त्यसको साथै यसमा तपाईंले रबर मेड ड्रप हिङ पनि देख्न सक्नुहुन्छ । जसले गर्दा ल्यापटप खोल्दा यसको पोजिसन भूँईको सतहभन्दा अलिक माथि उठ्छ ।

यसको फाइदा भनेको ल्यापटपमा हावा राम्रोसँग आउ जाउ गर्न सक्छ र ल्यापटप तात्ने समस्या आउन दिँदैन । साथै यसले तपाईंको ल्यापटपमा टाइप गर्न पनि सजिलो बनाइदिन्छ । 

डिस्प्लेको कुरा गर्दा यसमा एन्टी ग्लेर १३.३ इन्चको फूल एलईडी डिस्प्ले राखिएको छ । यो डब्लूभीए डिस्प्लेमा १९२० बाइ १०८० पिक्सेलको रेजाेलुसन छ भने १६:९ को एस्पेक्ट रेसियो छ ।

यसबाहेक यो ल्यापटपमा तीन सय निट्सको ब्राइटनेस छ । जसले बाहिरको घामको उज्यालोमा पनि मज्जाले स्क्रिन देख्न सक्नुहुन्छ । साथै यसमा ९५ प्रतिशत एसआरजीबी कलर गेमुट पनि छ ।

यसले गर्दा वस्तुको वास्तविक रङ्ग र ल्यापटपमा देखिने रङ्गमा खासै फरक हुँदैन । यसको पर्फमेन्सको कुरा गर्दा यसमा इलेभेन्थ जेनेरेसन इन्टेल कोर आई सेभेन-११६५ जी सेभेन प्रोसेसरको प्रयोग गरिएको छ ।

जुन २०२० को सेप्टेम्बरमा मात्र सार्वजनिक भएको हो । ग्राफिक्सको कुरा गर्दा यसमा एनभिदियाको जिफोर्स एमएक्स ३५० को डिस्क्रेट ग्राफिक्सको प्रयोग गरिएको छ । जसमा दुई जीबी जीडीडीआर फाइभ ग्राफिक्स मेमोरी छ ।

साथै यसमा स्टोरेजका लागि ५१२ जीबी एसएसडी दिइएको छ भने एलपीडीडीआरफोर एक्स प्रविधि सहितको ८ जीबी र्‍याम छ । जसले गर्दा ल्यापटपको मेमोरी स्पिड एकदमै छिटो छ अनि यसले पावर पनि एकदमै कम खान्छ ।

यसमा तपाईंले सजिलै मल्टिटास्किङ गर्न सक्नुहुन्छ । एउटा एपबाट सजिलै अर्को एपमा जान आउन सक्नुहुन्छ । हाई इण्ड गेमिङ त भन्न सकिन्न, तर सामान्य गेमिङ भने बिना ल्याग मज्जाले खेल्न सकिन्छ ।

साथै यसमा तपाईंले १०८० पिक्सेलसम्मको भिडियो पनि सरलरुपमा सजिलैसँग एडिट गर्न सक्नुहुन्छ ।  वास्तवमा सीपीयू र जीपीयू दुवै आधारमा तपाईंको दैनिक क्रियाकलापका लागि यो ल्यापटपको पर्फमेन्स एकदमै राम्रो छ । 

अब यसको वेबक्यामको कुरा गरौं । यसमा तपाईंले ३० एफपीएसमा १२८० बाइ ७२० रेजाेलुसनसम्मको भिडियो लिन सक्नुहुन्छ । भिडियो क्वालिटी पनि ठीकै छ ।

भिडियो कन्फ्रेन्स प्रयोजनका लागि यसको वेबक्यामले मज्जाले काम गर्छ । साउण्ड इन्पुटका लागि यसमा दुई ओटा माइक्रोफोन राखिएका छन् । 

किबोर्डको कुरा गर्दा मलाई यो ल्यापटपको किबोर्ड एकदमै राम्रो लाग्यो । यसमा सबै किको साइज ठीक छ । किहरु बीचमा खाली ठाउँ पनि पर्याप्त छ ।

टाइप गर्न एकदमै सजिलो छ र टाइप गरिरहँदा कुनै आवाज पनि आउँदैन । यसमा अलिकति चित्त नबुझेको कुरा भनेको यसको ब्याकलाइट हो ।

पुरै अध्याँरो हुँदा त यसको ब्याकलाइट ठीकै छ । तर अलिकति पनि उज्यालो छ भने यसको ब्याकलाइटले गर्दा किहरु देख्न झन् गाह्रो हुन्छ ।

किबोर्डको माथिल्लो दायाँ भागमा पावर बटन छ र यसको पावर बटनमा नै फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ । फिङ्गरप्रिन्ट सेन्सरले पनि मज्जाले काम गर्छ ।

एकदमै कम समयमा ल्यापटप अन हुन्छ । यसको टचप्याड पनि एकदमै रेस्पोन्सिभ छ । ब्याट्रीको कुरा गर्दा यसमा ४० वाट क्षमताको तीन सेल स्मार्ट लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ ।

मलाई यसको ब्याट्री लाइफ भने खासै चित्त बुझेन । यसमा करिब तीनदेखि चार घण्टाको ब्याट्री लाइफ छ । यस्तो किसिमको पोर्टेबल र ट्राभल फ्रेण्ड्ली ल्यापटपमा ब्याट्री लाइफ अलिक धेरै भएको खण्डमा चार्जर बोकेर हिँड्नुपर्ने झन्झट हुँदैन थियो । 

यसको अर्को राम्रो फिचर भनेको यसमा एडप्टिभ थर्मल सेन्सर राखिएको छ । ल्यापटप केमा राखेर प्रयोग गर्दै हुनुहुन्छ, यो एडप्टिभ थर्मल सेन्सरले थाहा पाउन सक्छ र त्यसै अनुसार यसले आफ्नो थर्मल प्रोफाइल एडप्ट गर्छ ।

उदाहणका लागि यदि तपाईंले ल्यापटपलाई हात वा काखमा राखेर चलाइरहनु भएको छ भने यसले ल्यापटपलाई धेरै तात्न दिँदैन । ल्यापटप आफैं अलि लो पावरमा चल्छ ।

अनि डेस्कमा राखेर चलाइरहनु भएको छ भने ल्यापटप आफैं फुल पावरमा चल्छ । यस्तै यो ल्यापटपमा अर्को राम्रो फिचर भनेको यसमा डेल मोबाइल कनेक्ट भन्ने इनब्युल्ट एप पाइन्छ ।

यसबाट तपाईंले आफ्नो फोनलाई कनेक्ट गरी ल्यापटपबाटै फोनका सबै कामहरु गर्न सक्नुहुन्छ । जस्तै कल गर्ने, टेक्स्ट गर्ने, आफ्नो ग्यालरी, फाइल तथा नोटिफिकेसनहरु हेर्ने र डेटा ट्रान्सफर गर्ने ।

समग्रमा हेर्दा मलाई चाहिँ यो ल्यापटप एकदमै राम्रो लाग्यो । विशेषगरी यसको पोर्टेबिलिटीको आधारमा । बोकेर हिँड्न सजिलो अनि पर्फमेन्स पनि राम्रो ।

अफिस प्याकेज प्रयोग गर्न, अनलाइन ब्राउजिङ गर्न, भिडियो स्ट्रमिङ गर्न, सामान्य गेमिङ वा सामान्य एडिटिङका लागि यो एउटा अल राउण्डर ल्यापटप हो ।

यो ल्यापटपको मूल्य चाहिँ एक लाख ५६ हजार एक सय रुपैयाँ हो । अलिकति महङ्गो भए पनि यो ल्यापटपले मूल्य अनुरुपको प्रतिफल दिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१