close

मोबाइल र इन्टरनेटको गुणस्तर मापन गर्न स्वचालित प्रणाली जडान हुँदै

टेकपाना टेकपाना

माघ २८, २०७७ १९:३२

मोबाइल र इन्टरनेटको गुणस्तर मापन गर्न स्वचालित प्रणाली जडान हुँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेटको गुणस्तर मापनका लागि आवश्य सिस्टम जडान गर्ने भएको छ । त्यसका लागि मंगलबार पुनः अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दै नियामकले यस्तो तयारी थालेको हो ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि प्रोबमा आधारित स्वचालित प्रणाली राख्ने योजना रहेको छ । जसको क्षमता मोबाइल इन्टरनेट फाभइजीको समेत परीक्षण गर्नसक्ने हुनुपर्ने उल्लेख गरिएको छ ।

यसका साथै ओटीटी (भाइबर, म्यासेञ्जर, ह्वाट्सएप लगायत) सेवा प्रदायकको समेत गुणस्तर मापन गरिने उल्लेख गरिएको छ ।

‘प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनी तथा इन्टरनेट सेवा प्रदायकले दिइरहेका सेवाको गुणस्तर मापनका लागि आवश्यक उपकरण तथा सफ्टवेयरका लागि टेण्डर आह्वान गरेको हो,’ नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘योसँगै प्राधिकरणले स्थानअनुसार सेवाको गुणस्तर मापन गर्न सक्नेछ ।’

यो हुँदा सेवा प्रदायक कम्पनीहरुको सेवा सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाउन पनि सहयोग पुग्ने अर्याल बताउँछन् । अर्यालका अनुसार ओटीटी सेवा प्रदायकको सेवाको गुणस्तर समेत मापन गर्न मिल्ने सिस्टम हुनुपर्ने मापदण्ड राखिएको छ ।

प्राधिकरणले माग गरेको प्रस्तावमा बेसिक भ्वाइस कल टेस्ट, टुजी, थ्रिजी, फोरजी, वाईफाई, ईमेलमा आधारित टेष्ट, एफटीटीएच, एचटीटीपीडीएल, यूल सर्भिस लगायतको परीक्षण गर्न सक्ने प्रणाली राखिने उनले बताइएको छ ।

साथै आगामी दिनमा फाइभजी सेवाको गुणस्तर मापनका लागि समेत काम गर्न सक्ने प्रणाली हुनुपर्ने विषय समेत राखिएको छ ।

त्यति मात्र नभएर जीपीआरएस, यूएमटीएस, एलटीई सर्भिस, एसएमएसरएमएमएस टेस्ट, आईटीयूको मापदण्ड अनुसार भ्वाइस तथा भिडियो सर्भिसको टेस्ट, वेब ब्राउजिङ टेस्ट, ओटीटी सर्भिस एपको परीक्षण गर्न सक्ने हुनुपर्ने भनिएको छ ।

यसमा सहभागी हुनका लागि विगत तिन वर्षभित्र एउटै सम्झौतामा ७ लाख अमेरिकी डलर बराबरको सामान सप्लाई गरेको अनुभव हुनेपर्ने छ । साथै प्रयोगमा ल्याईने प्रविधि फाइभजीलाई समेत सर्पोट गर्न सक्ने हुने पर्ने उल्लेख गरिएको छ ।

छनोट भएको कम्पनीले तीन महिनासम्म प्राधिकरणलाई आवश्यक टेक्निकल सपोर्ट उपलब्ध गराउनुका साथै तालिम प्रदान गर्नुपर्ने लगायतका सर्त राखिएका छन् ।

यदि यसअघि टेलिकम सेवा प्रदायकलाई टेलिकम नेटवर्क सिस्टम र टेलिकम बिलिङ सिस्टम उपलब्ध गराएको भएमा त्यस्ता कम्पनीले यसमा सहभागी हुन पाउने छैनन् ।

त्यस्तै प्रस्ताव पेश गर्ने कम्पनीका वार्षिक कारोबार १५ लाख डलरभन्दा बढी हुनुपर्ने उल्लेख गरिएको छ । भने, कम्पनी आईएसओ शर्टिफाइड हुनुपर्नेछ । यद्यपि यो परियोजना अघि बढेको यो पहिलो पटक भने होइन ।

२०७६ असोज अन्तिममा पहिलो पटक दूरसञ्चार सेवाको गुणस्तर अध्ययनका लागि स्वचालित गुणस्तर मापन प्रणाली जडान गर्न टेन्डर आह्वान गरिएको थियो । त्यसमा उल्लेखित मापदण्ड परिमार्जित गर्दै प्राधिकरणले कात्तिक २१ गते पुनः टेन्डर आह्वान गरेको थियो । जसमा ६ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

तर, प्राधिकरणले तोकेको अनुभव कुनै पनि प्रस्तावकमा नभएपछि फागुनमा उक्त टेण्डर प्रक्रिया नै रद्द भएको थियो । राष्ट्रिय रुपमा गरिएको टेण्डरमा अनुभव र मापदण्ड पुरा गर्न सक्ने कम्पनी फेला नपरेपछि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरिको थियो ।

त्यसपछि प्राधिकरणले पुनः गएको जेठमा यो परियोजा अघि बढाएको थियो । जेठमा भएको अन्तराष्ट्रिय टेण्डरमा आएको आवेदनमा पनि माग अनुसारको आवेदन नपरेपछि प्राधिकरण तेस्रो पटक अहिले पुनः टेण्डर आह्वान गरेको हो ।

जसको लागत प्राधिकरणले छुट्याएको बजेटलाई आधार मान्ने हो भने १५ करोडको हाराहारीमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१