close

ब्राजिलका सबै नागरिकको डेटा अनलाइनमा लिक

टेकपाना टेकपाना

माघ २९, २०७७ १५:५७

ब्राजिलका सबै नागरिकको डेटा अनलाइनमा लिक

काठमाडौं । ब्राजिलका सम्पूर्ण नागरिकको डेटा अनलाइनमा लिक भएको छ। याे घटनालाई लिएर ब्राजिलको उपभोक्ता संरक्षणसँग सम्बधित संस्थानले सरकारलाई नागरिकको डेटा तत्कालै सुरक्षित गर्न निर्देशन दिएको छ ।

संस्थानले डेटा सुरक्षाका लागि आवश्यक कदम तत्कालै चाल्न समेत निर्देश दिएको हाे । डेटा लिककाे घटना गत हप्ता भएकाे थियाे, जसअन्तर्गत ब्राजिलका २२ करोड ३० लाख नागरिककाे डेटा बाहिरिएको थियो ।

कुल २२ करोड १० लाख जनसंख्या भएको मुलुकमा कसरी २२ करोड ३० लाखको डेटा लिक हुनसक्छ भन्ने प्रश्न तपाईंको मनमा उब्जन सक्छ ।

साे डेटा लिक घटनामा यसअघि मृत्यु भइसकेका मानिसको पनि जानकारी रहेको उल्लेख गरिएको छ । यसका साथै साे घटनामा १० करोड ४० लाख सवारी साधनको समेत डेटा सार्वजनिक भएको छ ।

यसरी सार्वजनिक भएको डेटामा व्यक्तिको नाम, परिचयपत्र नम्बर, वैवाहिक स्थिति, बुवा, आमा तथा छोरा छोरीको नाम, घरको पूर्ण जानकारी, क्रेडिट स्कोर, भोटर रजिस्ट्रेशन नम्बर, पेशा लगायतका विवरण छन् । व्यक्तिको लिंकडिन प्रोफाइल समेत लिक गरिएकाे छ ।

यी डेटा ब्राजिलको क्रेडिट–स्कोरिङ ब्युरोको सर्भरबाट ह्याक गरी सार्वजनिक गरिएको हुन सक्ने आँकलन गरिएको छ । हालसम्म यो विषयमा ब्राजिल सरकारले कुनै आधिकारिक जानकारी नदिएकाले यसबारेमा कुनै पुष्टी भने हुन सकेको छैन ।

देशको सम्पूर्ण जनसंख्याको डेटा लिक हुने गरी भएको यो घटनालाई लिएर ब्राजिलको उपभोक्ता संरक्षण संस्थानले तत्कालै कदम चाल्न निर्देशन दिएको हो ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१