close

ई-सिमका लागि के गर्दैछन् नेपालका मोबाइल सेवाप्रदायक ?

टेकपाना टेकपाना

फागुन ३, २०७७ १६:४३

ई-सिमका लागि के गर्दैछन् नेपालका मोबाइल सेवाप्रदायक ?

काठमाडौं । सामान्यतया सिम भन्ने बित्तिकै हामी के सम्झन्छौं ? त्यही प्लास्टिकले बनेको चिप जडित सानो कार्ड । जसलाई मोबाइलमा राखेर फोन गर्न र डेटा चलाउन सकिन्छ । चाहे त्यो माइक्रो, मिनी वा न्यानो किन नहोस् ।

तर, अहिलेको समयमा त्यतिले मात्रै सिमलाई बुझ्दा अपूर्ण हुन्छ । देख्दा प्लास्टिकले बनेको सानो कार्ड भएता पनि त्यसमा मोबाइल नम्बर, कन्ट्याक्ट नम्बर स्टोर गर्न सकिने स्टोरेज लगायतका जानकारी हुन्छन् ।

मोबाइल परिवर्तन गर्नुपर्दा पनि सिम निकालेर अर्को फोनमा राख्न मिल्छ । जसले गर्दा सहज हुने गर्छ ।

त्यसलाई पनि अझ सहज बनाउने क्रममा पछिल्लो समय ई–सिमको सुरुवात भएको छ । जसले फिजिकल (भौतिक) रुपमा उपलब्ध हुने प्लास्टिकका साना कार्डलाई नै विस्थापित गरी दिएको छ ।

यससँगै मोबाइल डिभाइसमै सिम कार्ड इम्बेड भएर आउन थालेका छन् । जसमा भएको डेटा हामी एउटा फोनबाट अर्को फोनमा सार्न पनि सक्छौं ।

यति मात्र होइन, ई–सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । यसको अर्थ तपाईंले सिमकार्ड ननिकालेरै अर्को मोबाइल सेवा प्रदायकको नेटवर्कमा जोडिन सक्नुहुन्छ ।

यसको अर्को फाइदा भनेको सिम कार्ड राख्नका लागि मोबाइल डिभाइसमा छुट्टै स्थान नै बनाउनु पर्ने छैन । यस्तो अवस्थामा स्मार्ट वाच तथा फिटनेस डिभाइसमा समेत सिम प्रयोग गर्न सकिन्छ ।

यसरी डिभाइसमा इम्बेड भएर आउने ई–सिमले भविष्यमा फिजिकल (भौतिक) सिम कार्डलाई पूर्ण रुपमा प्रतिस्थापन गर्नसक्ने संभावना प्रबल छ । यद्यपी हालसम्म ई–सिम उपलब्ध गराउने टेलिकम सेवा प्रदायक र ई–सिम सपोर्ट गर्ने मोबाइल डिभाइसको संख्या त्यति धेरै छैन ।

त्यसो त विश्वका कतिपय देशका मोबाइल सेवाप्रदायकले ई-सिम सपोर्ट गर्ने सिस्टम बनाइ सकेका छन् । भारतका एयरटेल र जियो जस्ता कम्पनीले समेत यस्तो सपोर्ट उपलब्ध गराउन सुरु गरिसकेका छन् ।

हाल एप्पलको आईप्याड प्रो, एप्पल वाच सिरिज थ्री, वाच सिरिज फोर, सिरिज ‍फाइभ, आईफोन एक्स र एक्स एस म्याक्स, आईफोन एक्स आरका साथै आईफोन इलाभेन र ट्वेल्भ सिरिजका आईफोनले ई–सिम सपोर्ट गर्दछन् ।

त्यस्तै गुगलको पिक्सेल टु, गुगल पिक्सेल थ्री, पिक्सेल थ्री एक्सएल र पिक्सेल फोर, पिक्सेल फोर एक्सएल, पिक्सेल फोर एमा पनि ई–सिम सपोर्ट रहेको छ । यसका साथै सामसङको ग्यालेक्सी एस ट्वान्टी, एस ट्वान्टी प्लस, एस ट्वान्टी अल्ट्राले पनि ई–सिम सपोर्ट गर्दछ ।

यसरी टेलिकम सेवा प्रदायक र मोबाइल डिभाइसको संख्या क्रमशः बढ्दो क्रममा रहेको छ । यस हिसावले ई-सिम भोलिको भविष्य बन्ने निश्चित छ ।

यसरी विस्तारै विश्व बजारमा ई–सिम प्रयोगमा जाँदै गरेको अहिलेको अवस्थामा नेपालमा चाहिँ यसका लागि तयारी के भइरहेको छ ? हामीले यही विषयमा नेपालका टेलिकम सेवा प्रदायक कम्पनीसँग बुझ्ने प्रयास गरेका छौं ।

नेपालमा के छ तयारी ?

नेपालका टेलिकम सेवा प्रदायकले हालसम्म यो विषय योजना मै नरहेको पाइएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार टेलिकमले ई–सिमको यो विषयमा कुनै तयारी गरेको छैन ।

उनले समयको माग अनुसार ई–सिम आवश्यक भएको खण्डमा टेलिकम त्यस्तो सेवा उपलब्ध गराउन तयार हुने बताए । त्यस्तै अर्को सेवाप्रदायक एनसेलले समेत हालसम्म ई–सिम इनेबल भएका डिभाइस नै निर्माणको क्रममा भएकाले कम्पनीले त्यसका लागि कुनै तयारी नै नभएको बताएको छ ।

बजार विस्तारै तयार हुँदै गएपछि अध्ययन गरी आवश्यकताका आधारमा ई–सिम उपलब्ध गराउने एनसेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३