close

चीन र भारतको तुलनामा नेपालको इन्टरनेट सस्तो !

टेकपाना टेकपाना

फागुन ४, २०७७ २१:३

चीन र भारतको तुलनामा नेपालको इन्टरनेट सस्तो !

काठमाडाैं । विश्वव्यापी इन्टरनेट पुहँचको विषयमा नयाँ प्रतिवेदन सार्वजनिक भएको छ । बेलायती अनुसन्धान संस्था ब्रोडब्याण्ड च्वाइसले हालै इन्टरनेट एक्सेसिबिलिटी इन्डेक्स–२०२१ सार्वजनिक गरेको हाे ।

१६९ देशको ब्रोडब्याण्ड तथा मोबाइल पूर्वाधारका आधारमा उक्त प्रतिवेदनले नयाँ तथ्य बाहिर ल्याएकाे छ । प्रतिवेदन अनुसार एक्सेसिबिलिटी इन्डेक्समा नेपाल ६५.४ अंक प्राप्त गर्दै १३२ औं स्थानमा रहेको छ ।

प्रतिवेदनले विभिन्न मापण्डका आधारमा उक्त अध्ययन गरेको हाे । जसमा फिक्स्ड ब्रोडब्याण्डको गति, होम इन्टरनेट प्याकेजको मूल्य, मोबाइल डेटा (प्रति जीबी), इन्टरनेट पुहँचमा रहेको देशको जनसंख्या समेटिएको थियो ।

यसका साथै मोबाइल इन्टरनेट, कभरेज, सार्वजनिक रुपमा उपलब्ध वाईफाई हटस्पटको संख्या र आफ्नै भाषमा सञ्चालनमा रहेका वेब पेजको हिस्सालाई आधार मानी प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार इन्डेक्समा सबैभन्दा अघि डेनमार्क रहेको छ । एउटा मात्रै इन्टरनेट सेवा प्रदायकको आधिपत्य रहेको डेनमार्कमा इन्टरनेट सस्तो हुनुका साथै गुणस्तरीय र द्रुत गतिको समेत रहेको उल्लेख छ ।

यसैसन्दर्भमा प्रतिवेदनले छिमेकी देश भारत र चीनकाे तुलनामा नेपालकाे इन्टरनेट समग्रमा सस्ताे देखाएकाे छ । प्रतिवेदन अनुसार सस्ताे इन्टरनेट हुने देशकाे सूचीमा नेपाल १६९ देशमध्ये १३औं स्थानमा छ ।

नेपालमा इन्टरनेट सेवाकाे न्यूनतम मासिक शुल्क औषतमा १३.८ डलर अर्थात १६ सय रुपैयाँको हाराहारीमा रहेको साे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार सबैभन्दा सस्ताे इन्टरनेट हुने देश युक्रेन हाे । त्यहाँ प्रति महिना इन्टरनेटकाे मूल्य औषतमा ७ डलर मात्रै रहेकाे छ ।

जबकि छिमेकी देश भारतमा प्रतिमहिना इन्टरनेटकाे मूल्य १४.६ डलर र चीनमा २४ डलर रहेको छ । भारत र चीन एक्सेसिबिलिटी इन्डेक्समा क्रमश: १०८ र ११४ स्थानमा रहेका छन् ।

समग्र मासिक शुल्कमा सस्ताे भएपनि माेबाइल डेटामा भने नेपाल ६२ औं स्थानमा छ । जबकि भारत माेबाइल डेटामा विश्वकै सबैभन्दा सस्ताे देशमा परेकाे छ । त्यहाँ एक जीबी डेटाकाे मूल्य औषतमा ०.४ डलर मात्रै रहेकाे छ ।

चीन र नेपालमा भने एक जीबी डेटाकाे मूल्य समान ३/३ डलर रहेकाे छ । याे तथ्यांक देशकाे इन्टरनेट पुहँच र जनसंख्यालाई आधार मानेर निकालिएकाे बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३