close

अब प्रहरी, एम्बुलेन्स र दमकलको एउटै नम्बर, यस्तो छ तयारी

टेकपाना टेकपाना

फागुन ६, २०७७ १२:५७

अब प्रहरी, एम्बुलेन्स र दमकलको एउटै नम्बर, यस्तो छ तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आपतकालीन समयमा प्रयोग हुने विभिन्न नम्बरलाई एउटै बनाउने तयारी गरेको छ । तीन विभिन्न नम्बरहरुः प्रहरीको १००, दमकलको १०१ र एम्बुलेन्सको १०२ लाई एकीकृत गरी एउटै बनाउने तयारी अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितका अनुसार यसका लागि प्राधिकरणले आवश्यक कार्यविधि निमार्ण गरी एक हप्ताअघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको छ । उक्त कार्यविधि अनुसार अब प्रहरी, दमकल र एम्बुलेन्सको एउटै नम्बर १०० हुनेछ ।

यसको अर्थ इमर्जेन्सी नम्बरको रुपमा अब १०० डायल गरी त्यसैमार्फत आवश्यक परेको खण्डमा प्रहरी, एम्बुलेन्स र दमकल जस्ता आपतकालीन सेवाका लागि सम्पर्क गर्न सक्नेछन् । निर्देशक स्थापितका अनुसार यो सिस्टमको सम्पूर्ण जिम्वेवारी नेपाल प्रहरीको हुनेछ ।

आवश्यक अध्ययन गरी गृह मन्त्रालयलाई यसको अधिकार प्रत्यायोजना गर्ने गरी सञ्चार मन्त्रालयलाई कार्यविधि पठाइएको प्राधिकरणले जनाएकाे छ । अब सञ्चार मन्त्रालयले उक्त कार्यविधिमा आवश्यक छलफल गरी यसको जिम्मेवारी गृह मन्त्रालय दिनेछ ।

प्राधिकरणले आईटीयूको स्ट्याण्डर्ड ‘ई.१६४’ अनुसार सबै आपतकालीन सेवामा प्रयोग हुने नम्बरलाई एउटै बनाउन लागेकाे हो । आईटीयुको स्ट्याण्डर्ड ‘ई.१६४’ अनुसार सबै देशमा यस्ता इमर्जेन्सी सेवा अर्थात पब्लिक सर्भिस एनसरिङ प्वाइन्ट (पीएसएपी) का लागि एउटै नम्बर लागू हुने व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार अमेरिकामा हाल सबै आपतकालीन सेवाको नम्बर ९११ रहेको छ । भने युरोपतिर ११२ प्रयोगमा छ । कतिपय देशमा १०० पनि प्रयोग आएका छन् । तर स्ट्याण्डर्ड नम्बर भनेको ‘९११’ र ‘११२’ नै हुन् ।

तर, नेपालको हकमा आपतकालीन नम्बर भनेर १०० सबैको सम्झानामा रहेकाले पनि यसैलाई प्रयोगमा ल्याउन लागिएकाे हो । यसका लागि आववश्यक बजेट नेपाल दूरसञ्चार प्राधिकरणले नै उपलब्ध गराउनुपर्ने भएकाले यो कार्यक्रम आगामी आर्थिक वर्षबाट मात्रै अघि बढ्ने अनुमान गर्न सकिन्छ ।

किनेभने चालू आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणले यसको अध्ययन तथा कार्यविधि निमार्णको लागि भनेर ५ लाख बजेट छुट्याएको थियो । यो सिस्टम देशभर लागू गर्नका लागि १ अर्ब रूपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३