close

स्मार्टफोन प्रयोगकर्ताले जान्नैपर्ने क्यामेरा फिचर, जुन धेरैलाई थाहा छैन

टेकपाना टेकपाना

फागुन ७, २०७७ २२:४७

स्मार्टफोन प्रयोगकर्ताले जान्नैपर्ने क्यामेरा फिचर, जुन धेरैलाई थाहा छैन

काठमाडाैं । के तपाईंसँग स्मार्टफाेन छ ? धेरैलाई त यस्तो पनि प्रश्न हुन्छ भन्ने लाग्नसक्छ । अवश्य पनि अहिलेको समयमा प्राय: सबैको हातहातमा स्मार्टफोन छ । त्यसमा भएको क्यामेराको प्रयोग पनि बेला मौकामा भइरहेकै हुन्छ ।

तर क्यामेरामा हुने अधिकांश फिचरको विषयमा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी यहाँ त्यस्ता केही स्मार्टफोनको क्यामेरामा भएका उपयोगी र जान्नैपर्ने फिचरका बारेमा जानकारी दिन गइरहेका छौँ ।

एचडीआर मुड

पछिल्लो समय बजारमा आएका सबैजसो स्मार्टफोनको क्यामेरामा हुने एउटा महत्वपुर्ण फिचर हो, एचडीआर अर्थात ‘हाइ डाइनामिक रेञ्ज’ ।

यो क्यामेरामा प्रयोग हुने एउटा यस्तो प्रविधि हो, जसले फोटो खिच्दा कुनै भाग धेरै चम्किलो र कुनै भाग अँध्यारो देखिने अवस्थामा गुणस्तरीय फोटो खिच्न सघाउँछ ।

क्यामेराको यो प्रविधिले स्वचालित रुपमा एक्सपोज, अन्डर एक्सपोज र नर्मल फोटोको सम्मिश्रणबाट क्षणभरमै सन्तुलित फोटो तयार पार्दछ ।

अपार्चर

क्यामेरामा अपार्चर स्मार्टफोन प्रयोगकर्ताहरुले अवश्य पनि सुनिरहेकै विषय हुनसक्छ । सामान्य रुपमा भन्दा क्यामेराको लेन्समा देखिने सानो छिद्र नै अपार्चर हो ।

यही छेद ठूलो वा सानो कत्रो हुने भन्ने विषय नै अपार्चरमा निर्भर हुन्छ । जुन एफ अर्थात फोकल लेन्थको अङ्कमा भर पर्छ । एफ १‍.४, एफ २.०, एफ ८.० यसकै उदाहरण हुन् ।

एफ कम हुँदै जाँदा छेदको आकार बढ्दै जान्छ भने एफको मान बढ्दा छेद साँघुरिदै जान्छ । यसरी छेद जति ठूलो हुन्छ त्यति नै धेरै प्रकाश क्यामेराको सेन्सरसम्म पुग्छ ।

ठीक त्यसैगरी छेद सानो हुँदा तुलनात्मक रुपमा कम प्रकाश भित्र जान्छ । बजारमा उपलब्ध अधिकांश स्मार्टफोनका क्यामेरामा यस्तो अपार्चर निश्चित भएको हुन्छ ।

यद्यपि कुनै कुनै स्मार्टफोनमा अपार्चर घटबढ गराउन सकिने फिचर समेत हुन्छ । त्यसैले क्यामेराको आधारमा स्मार्टफोनको छनौट गर्नुपर्दा एफको अङ्क कमभन्दा कम रहेकोतर्फ ध्यान दिनुपर्ने हुन्छ । यसले आकर्षक बुके इफेक्ट सहितको फोटो खिच्न समेत सघाउँछ ।

पोट्रेट मुड

सबैजसो स्मार्टफोनमा हुने अर्को महत्वपुर्ण फिचर हो पोट्रेट मुड । यो मुडको विषयमा पक्कै जानकार हुनुहुन्छ होला ।

पोट्रेट मुडलाई बुके मुड अर्थात बुके इफेक्ट समेत भन्न सकिन्छ । सामान्य भाषामा भन्नुपर्दा फोटो खिच्दा पृष्ठभूमीको भाग धमिलो पार्ने फिचर नै बुके मुड हो ।

यसलाई अर्को शब्दमा ‘डेप्थ अफ फिल्ड’ पनि भन्न सकिन्छ । यो फिचरको विशेषता भनेकै मुख्य वस्तुमा क्यामेरालाई केन्द्रित गर्नु हो । यसले फोटोलाई आकर्षक बनाउँछ ।

अप्टिकल जुम, भिएस डिजिटल जूम

क्यामेरामा रुचि भएकाहरुले पक्कै पनि अप्टिकल जुम र डिजिटल जुमको विषयमा सुनेकै हुनुपर्छ । पछिल्लो समय कतिपय स्मार्टफोन निर्माता कम्पनीहरुले क्यामेराको यसै विशेषतालाई लिएर विज्ञापन समेत गरिरहेका छन् ।

सामान्य भाषामा भन्नुपर्दा क्यामेरामा टाढाको वस्तु नजिक तथा ठूलो देखाउन वास्तविक लेन्स प्रयोग गरिएको छ भने त्यो नै अप्टिकल जूम हो। यसरी जुम गरिएका फोटो गुणस्तरीय निस्किन्छ ।

जब कि वस्तुलाई फोटोमा ठूलो देखाउन तथा नजिक ल्याउन सफ्टवेयर प्रणालीको मात्रै प्रयोग गरिएको छ भने त्यो डिजिटल जुम हो ।

यसरी लिइने फोटोको गुणस्तर अप्टिकल जुममार्फत लिइएको फोटोको तुलनामा कमजोर हुन्छ । यस अर्थ डजिटल जुमको तुलनामा अप्टिकल जुम उत्कृष्ट मान्नुपर्ने हुन्छ ।

ईआइएस तथा ओआइएस

क्यामेराको कुरा गर्दा प्रयोगकर्ताले सम्भवत: ईआइएस तथा ओआईएसको बारेमा पनि सुनेकै हुनुपर्छ । कहिलेकाहिँ स्मार्टफोनबाट खिचेको फोटो धमिलो देखिन्छ । हलचल हुँदा भिडियो समेत प्रष्ट आउँदैन ।

यस्तै किसिमको समस्या समाधान गर्न यो फिचर विकास भएको हो । स्मार्टफोनको क्यामेरामा यसले महत्वपुर्ण अर्थ राख्छ । ईआइएस अर्थात इलेक्ट्रोनिक इमेज स्टेबलाइजेशन बढिजसो भिडियो रेकर्डिङ र स्मार्टफोन क्यामेरामा प्रयोग हुने सफ्टवेयर प्रणाली हो ।

यसैगरी ओआइएस अर्थात अप्टिकल इमेज स्टेबलाइजेशन भने हार्डवेयर प्रणाली हो । दुबैको काम एउटै भए पनि तुलनात्मक रुपमा ईआइएसको तुलनामा ओआइएस स्तरीय हुनुका साथै महंगो पनि हुन्छ ।

पानोरमा मुड

स्मार्टफोनको क्यामेरामा हुने अर्को महत्वपूर्ण फिचर हो पानोरमा मूड । मोबाइलकफ क्यामेराले समेट्न नसकिने फराकिलो र ठूलो वस्तु तथा दृश्यको फोटो खिच्न यो फिचर उपयोगी हुन्छ ।

यो मूड अन गरेर एरो अर्थात तिरले सङ्केत गरेको दिशामा विस्तारै मोबाइल घुमाएर फराकिला तथा तथा लामी फोटो खिच्न सकिन्छ ।

टाइम ल्याप्स

तपाईले भिडियोहरुमा अवश्य पनि देखेकै हुनुपर्छ, जहाँ बादल, कुहिरो, मानिस, जनावर, सवारीसाधन लगायतका गतिमा चल्ने चिजवस्तुहरु सामान्यभन्दा एकदमै छिटो गतिमा चलिरहेको हुन्छन् । सूर्य उदाउने र अस्ताउने काम समेत क्षणभरकै भिडियोमा देखाइन्छ । वास्तवमा यस्ता भिडियो टाइम ल्याप्स फिचरकै कारण हुन्छन् ।

मेगापिक्सेलभन्दा यसकारण महत्वपूर्ण हुन्छ सेन्सरको आकार

अहिले स्मार्टफोन निर्माता कम्पनीहरुबीच आफ्नो फोनमा क्यामेराको गुणस्तलाई लिएर प्रतिस्पर्धा नै चलिरहेको छ । तर राम्रो तस्वीरका लागि क्यामेरामा निर्णायक भूमिका भने सधैं सेन्सरले खेल्ने गर्दछ ।

कम्पनीहरु धेरै मेगापिक्सेलको क्यामेरा विकासमा जोड दिइरहेका छन् । तर वास्तवमा राम्रा तस्वीका लागि विशेष भूमिका क्यामेरा सेन्सरले नै खेल्ने गर्दछ । 

उदाहरणका लागि ह्वावेले आफ्नो फ्ल्यागशिप फोनमा ठूला इमेज सेन्सरलाई जोड दिदैँ आइरहेको छ । यस्तै सोनी तथा सामसङ जस्ता कम्पनीहरु पनि सेन्सरको साइजमा केन्द्रीत हुँदै गइरहेका छन् । 

राम्रो तस्वीरका लागि सेन्सर कसरी महत्वपूर्ण छ त ? यो बुझ्नका लागि सबैभन्दा पहिले हामीले फोटो खिच्ने आधारभूत शिद्धान्तलाई बुझ्नुपर्छ । ठूलो सेन्सरले सानो सेन्सरको तुलनामा धेरै प्रकाश पकड्न सक्छ । जति धेरै प्रकाश पकड्न सक्यो, तस्वीर त्यतिकै राम्रो तयार हुन्छ । 

जतिसक्दो धेरै प्रकाश पकड्ने 

आधारभूत तहमा बुझ्दा सेन्सरको आकारले तस्वीर बनाउन क्यामेराका लागि कति प्रकाश उपलब्ध छ भन्ने कुराको निर्धारण गर्दछ । रेजोलुसनको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसले क्यामेराको एक्स्पोजर सन्तुलन, डाइनामिक रेञ्ज र सार्पनेसलाई निर्धाण गर्दछ ।

यसैकारण अहिलेका १०८ मेगापिक्सेल क्यामेरा भएका स्मार्टफोनको भन्दा १६ मेगापिक्सेल र २० मेगापिक्सेलको डीएसएलआरको फोटो गुणस्तरीय हुन्छ । 

अधिकांश स्मार्टफोनहरुको सेन्सर १ बाई २.५५ इञ्च वा करिब एक सेन्टिमिटरसम्मका हुन्छन् । केहीको आकार भने १ बाई १.७ इञ्च ठूलो वा त्योभन्दा माथि हुन्छ । तर डीएसएलआर क्यामेराको सेन्सर आकार भने चार, पाँच गुणाले बढी हुन्छ ।

तुलनात्मक रुपमा स्मार्टफोनहरुको सेन्सर सानो हुन्छ । तर केही ब्राण्डहरुले परम्परागत प्वाइन्ट र सूट सेन्सर आकारबाट यो खाडललाई मेट्दै गइरहेका छन् ।

जति ठूलो सेन्सर भयो, क्यामेराले सटर स्पीड, आईएसओ र अपार्चरमा त्यति नै धेरै प्रकाश छिराउन सक्छ । जब तपाईं सानो सेन्सरको समस्या समाधान गर्न लङ एक्सपोजरमा फोटो लिएर धेरै प्रकाश छिराउनु खोज्नुहुन्छ, तब वस्तुको चाल र हात हल्लिने समस्याका कारण तस्वीर ब्लर हुने वा बिग्रने खतरा बढ्न सक्छ । 

सेन्सरको रेजोलुसन जति नै भए पनि ब्लरले तस्विरको सार्पनेसलाई घटाउँछ । यस्तै लेन्स डिस्टोर्सन आर्टिफेक्ट बिना फराकिला अपार्चर लेन्स निर्माण गर्न अप्ठ्यारो हुन्छ । थोरै प्रकाशमा पनि ठूलो सेन्सरले सानो सेन्सरको तुलनामा पर्याप्त प्रकाश क्यामेराभित्र छिराएर फोटो खिच्न सक्छ । 

सेन्सरको साइज किन महत्वपूर्ण छ ?

मोबाइल स्पेसमा देखिएको अर्को नयाँ ट्रेण्ड भनेको पिक्सेल बाइनिङ प्रविधि हो । यो प्रविधिले राम्रो लाइट क्याप्चरका लागि हाई रेजोलुसन सेन्सरलाई पिक्सेलसँग समायोजन हुने अनुमति दिन्छ ।

यो ठूलो सेन्सर र ठूलो पिक्सेलको समायोजनले लो लाइट फोटोग्राफीलाई व्यापक सुधार गरिरहेको छ । यसले फोटोमा नोइजको कमी र राम्रो कलर प्रदान गर्दछ । 

ठूला सेन्सरले रेजोलुसनलाई मात्र होइन, तपाईंको सटको लूक्स र गुणस्तरतामा पनि प्रभाव पारिरहेको हुन्छ । तपाईंको फोटोमा जति धेरै सटर स्पीड र कम आईएसओ भयो, तपाईको फोटो त्यत्ति नै सार्प बन्छ । धेरै लाइट छिराउनका लागि तपाईंलाई ठूलो अपार्चर आवश्यकता पर्दैन ।

ठूलो सेन्सरले फेन्सी लुकिङ, बोके ब्लर इफेक्ट पनि प्रदान गर्दछ । जसबाट हामीले ब्लर पृष्ठभूमिबाट वस्तुलाई अलग्गै छुट्याउन सक्छौं । मोबाइलका साना सेन्सरले डीएसएलआरको जस्तो ठूलो सेन्सरसँग प्रतिस्पार्धा गर्न सक्दैनन् । तर ठूला सेन्सरले यो अन्तरलाई बन्द गर्न मद्दत गर्दछ । 

स्मार्टफोनमा सेन्सरको तुलना

अहिलेका स्मार्टफोनहरुमा उपलब्ध इमेज सेन्सरको रेञ्जलाई सोकेस गर्न हामीले ठूलो सेन्सर साइज भएका हाई ईण्ड फोनहरुको बारेमा उल्लेख गरेका छौं । 

स्मार्टफोनहरुलाई  १ बाई १.५ इञ्चको सेन्सरको सीमा नाघ्न २०२० सम्म कुर्नुपर्‍यो । यो १ बाई १.५ इञ्चको सेन्सर २०१३ को नोकिया लुमिया १०२० मा उपलब्ध थियो । ठूलो सेन्सर नयाँ अवधारणा होइन, तर अहिले कम्पनीहरु यो बाटोमा हिँड्न थालेका छन् । 

सेन्सर आकारको मामिलामा अहिले गूगलको पिक्सेल फोर र आईफोन इलेभेन सबैभन्दा तल छ । तर यी दुवै फोन उत्कृष्ट क्यामेरा भएको फोनको सूचीमा पर्दछन् । यसले राम्रो मोबाइल फोटोग्राफीका लागि सेन्सर मात्र निर्णायक नहुने र सबै तत्वको समायोजन बराबरी हुनुपर्ने देखाउँछ । 

सेन्सर एउटा मात्र तत्व हो 

मोबाइल फोटोग्राफीमा ठूलो सेन्सरको उल्लेखनीय भूमिका छ । तर यो मात्र एउटा निर्णायक तत्व भने होइन । राम्रो फोटोका लागि क्यामेरामा राम्रो लेन्स, शक्तिशाली इमेज प्रोसेसिङ चेन, हार्डवेयरबाट धेरै उत्पदकत्व दिनसक्ने सफ्टवेयरको पनि आवश्यकता पर्दछ कम्प्युटेसन फोटोग्राफी र मसिन लर्निङमा अत्याधुनिकतासँगै स्मार्टफोनको क्यामेरा गुणस्तरतामा समेत बढोत्तरी भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१