close

देशका ४ सहरबाट फाइभजी परिक्षण गर्दै टेलिकम

टेकपाना टेकपाना

फागुन १०, २०७७ १३:४१

देशका ४ सहरबाट फाइभजी परिक्षण गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले देशका ४ ठूला सहरबाट द्रुतगतिको मोबाइल इन्टरनेट सेवा फाइभजी परीक्षण गर्ने भएको छ । त्यसका लागि नेपाल टेलिकमले फाइभजी सञ्चालनका लागि आवश्यक व्यावसायिक सम्भाव्यताको अध्ययनका लागि आन्तरिक तयारी अघि बढाएको छ ।

नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाका अनुसार टेलिकम फाइभजी फ्रिक्वेन्सी निर्धारणको पर्खाइमा रहेको छ । फ्रिक्वेन्सी निर्धारणको कार्य सम्पन्न भएसँगै निर्देशन आएको खण्डमा टेलिकम फाइभजी सेवाको परीक्षणका लागि तयार रहेको उनले बताए ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीका लागि फ्रिक्वेन्सी पहिचान गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सिफारिस गरिसकेको छ । प्राधिकरणले फाइभजी फ्रिक्वेन्सी पहिचानका लागि राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम गठन गरेको थियो । उक्त फोरमले फाइभजीका लागि फ्रिक्वेन्सीका प्राधिकरणलाई सिफारिस गरेको थियो ।

उक्त फोरमले गरेको सिफारिसको आधारमा प्राधिकरण बोर्डले निर्णय गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सिफारिस गरेको हो । प्राधिकरणले ७००, ९००, २६००, ३३००, ३६००,४३०० र २६ गिगाहर्ज ब्यान्डमा फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउन सकिने गरी समितिलाई सिफारिस गरेको छ ।

अब सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने उक्त समितिले प्राधिकरणले गरेको सिफारिसका आधारमा आवश्यक अध्ययन गरी निर्णय गर्नेछ ।

उक्त समितिबाट फाइभजी फ्रिक्वेन्सी निर्धारण भएर दूरसञ्चार प्राधिकरणबाट निर्देशन आएको खण्डमा फाइभजी परीक्षणका लागि टेलिकम तयार रहेको प्रवक्ता लोहियाले बताए । यो विषयमा हाल आन्तरिक रुपमा अध्ययनको काम भइरहेको समेत उनले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले पनि फाइभजीको व्यावहारिक प्रयोगका सम्भावनालाई समेत समेटेर अध्ययन गरिने बताएका छन् ।

उनले नेपाल टेलिकम हाल काठमाडौं, पोखरा, विराटनगर र वीरगञ्जमा फाइभजी परीक्षणका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

यसअघि नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि र्‍यान नेटवर्क विस्तारतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) र कोर नेटवर्क विस्तारको जेडटीईसँग सम्झौता गरेको गरेको थियो । उक्त सम्झौता अनुसार यी दुई चिनियाँ कम्पनीले क्रममा पाँच सहरमा फाइभजी सेवा परीक्षण गर्नुपर्ने शर्त समेत रहेको छ ।

सोही सर्तका आधारमा अब उक्त जिल्लाहरुमा फाइभजी परीक्षणको तयारी अघि बढेको हो । भने, नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि नेपाल टेलिकम र एनसेललाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी दिन आवश्यक प्रक्रिया अगाडि बढाइसेको छ ।

यसअघि प्राधिकरणले सेवा प्रदायकले फाइभजी परीक्षण गर्दा ग्राहकलाई निःशुल्क रुपमा फाइभजी अनुभव लिने अवसर प्रदान गर्नुपर्ने खालको प्रावधान समेत अघि बढेको थियो ।

प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा फाइभजी परीक्षणका लागि निःशुल्क रुपमा सेवा प्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउन पाउने गरी फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पठाइसकेको छ ।

यसरी निःशुल्क रुपमा प्राप्त फ्रिक्वेन्सीमा फाइभजी सेवा परीक्षण गर्दा सेवाप्रदायकले समेत ग्राहकबाट शुल्क लिन नपाउने खालको प्रस्ताव प्राधिकरणबाट भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१