close

मोबाइल कलको शुल्क ४४ पैसा सस्तो बनाउने निर्देशिका यथास्थितिमा राख्दै पुनः अध्ययन

टेकपाना टेकपाना

फागुन १०, २०७७ १७:१

मोबाइल कलको शुल्क ४४ पैसा सस्तो बनाउने निर्देशिका यथास्थितिमा राख्दै पुनः अध्ययन

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधिलाई यथास्थितिमा राखी नयाँ अध्ययन अघि बढाएको छ ।

हाल सेवा प्रदायक कम्पनीले लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो बनाउने ‘अन्तरआबद्धता निर्देशिका २०७६’ कार्यान्वयनबाट पछि हटी नयाँ अध्ययन गर्ने तयारीमा प्राधिकरण बोर्ड पुगेको हो ।

केही समयअघि बसेको प्राधिकरण बोर्ड बैठकले यसअघि जारी गरिएको अन्तरआबद्धता निर्देशिका २०७६ कार्यान्वयन गर्दा सेवा प्रदायकमा पर्नसक्ने प्रभाव विश्लेषण गर्ने निर्णय गरेको हो ।

प्राधिकरण बोर्डको निर्णय अनुसार फागुन ३ गते पहिलो पटक नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमजस्ता सेवा प्रदायकलाई पत्र पठाई आवश्यक जानकारी उपलब्ध गराउन अनुराेध गरिएकाे प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताए ।

उनका अनुसार प्राधिकरण बोर्डले यथाशीघ्र जानकारी संकलन गरी अध्ययन प्रतिवेदन बुझाउन भनेको थियो । त्यसैका आधारमा प्राधिकरणले पनि विगत तीन वर्षदेखिकाे अन्तरआबद्धताको ट्यारिफ रेट र ट्राफिक भोल्युम लगायतका जानकारी उपलब्ध गराउने पत्र पठाएको थियो ।

तर, सेवा प्रदायकबाट तत्कालै जवाफ नआएपछि प्राधिकरणले पुनः फागुन ७ गते तीन दिनको समय दिएर सेवा प्रदायकलाई जानकारी उपलब्ध गराउन भनेको थियो ।

उक्त हिसाबले फागुन १० गते सोमबार अर्थात आज सेवा प्रदायकले प्राधिकरणको पत्र अनुसारको जवाफ बुझाउनुपर्नेछ । प्राधिकरणका अनुसार हालसम्म स्मार्ट टेलिकमले मात्रै उक्त तथ्याङ्क उपलब्ध गराएको छ । भने, नेपाल टेलिकम र एनसेलले भने बुझाएका छैनन् ।

उनीहरुले बुझाएको डेटाका आधारमा अन्तरआबद्धतामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकाे अध्ययन गरी सेवा प्रदायकको कलको अवस्था, कल बढे/नबढेको अध्ययन गरिनेछ । त्यसपछि अन्तरआबद्धता निर्देशिका २०७६ मा तोकिएको शुल्क कायम गर्न सकिने/नसकिने विषय निर्धारण हुनेछ ।

यसअघि प्राधिकरणले गत वर्ष पुस महिनामा अन्तरआबद्धता निर्देशिका २०७६ जारी गरेको थियो ।जसमा सेवा प्रदायकले हाल आफ्नो नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा (उदाहरणका लागि एनसेलबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा) अन्तरआबद्धता शुल्कबापत प्रतिमिनेट ५४ पैसा थप लिँदै आएका छन् ।

निर्देशिकाले उक्त व्यवस्था परिवर्तन गर्दै त्यस्तो शुल्क बढीमा थप १० पैसा कायम गरेको छ । यस्तो अवस्थामा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलमध्ये एउटा सेवाप्रदायक कम्पनीको नम्बरबाट अर्को कम्पनीको नम्बरमा कल गर्दा लाग्दै आएको शुल्क ४४ पैसाले घट्नुपर्ने हुन्छ ।

हाल नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट दुइ रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्छ ।

नयाँ निर्देशिका अनुसार प्रिपेडबाट प्रतिमिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नुपर्ने हो । त्यस्तै एनसेलबाट अन्य सेवा प्रदायकको नम्बरमा कल गर्दा हाल प्रतिमिनेट दुई रुपैयाँ ५४ पैसा लाग्दै आएको छ । जुन दुई रुपैयाँ १० पैसामा सीमित हुनुपर्ने थियो ।

यस्तै स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ४८ पैसामात्रै लाग्नुपर्ने हो । तर हाल स्मार्टबाट अन्य सेवा प्रदायकमा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ९२ पैसा लाग्छ छ ।

सामान्यतया सेवाप्रदायकले अन्य नेटवर्कको तुलनामा नेटवर्कभित्र हुने कलको दर सस्तो तथा समान बनाउने गरेका छन् । यस आधारमा अन्तरआबद्धता कलको दर घट्दा कम्पनीकै नेटवर्क भित्रको कल समेत सस्तो बनाउनुपर्ने बाध्यता हुन्छ ।

तर सेवा प्रदायकको आग्रहमा नियामकले चार महिना ढिलो गरी उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने भन्दै समय थप गरिदिएको थियो ।

त्यो हिसाबले २०७६ चैत २० देखि यो निर्देशिका लागू हुनुपर्ने थियो । तोकिएको समय नजिकिँदै गर्दा सेवाप्रदायक कम्पनीले भने राजश्वमा असर पर्ने भन्दै तत्काल कल शुल्क घटाउने निर्देशिका कार्यान्वयन नगर्न प्राधिकरणलाई पुनः आग्रह गरेका थिए ।

प्राधिकरण भने निर्धारित मितिदेखि (२०७६ चैत २० देखि) नै कल शुल्क घटाउने अडानमा रहेको थियो । तर, कार्यान्वयन ल्याउनु एक हप्ताअघि कोभिड–१९ का कारण लागू गरिएको लकडाउनले गर्दा उक्त विषय त्यही सेलायो ।

सेवा प्रदायकले प्राधिकरणलाई कोभिडका कारण दूरसञ्चार क्षेत्रमा ठूलो असर परेको भन्दै पत्र उक्त कार्यविधि कार्यान्वयन नगर्न निवेदन दिएका थिए । तर, पनि प्राधिकरणले सेवाप्रदायकको पत्रको जवाफमा तोकिएकै समयमा निर्देशिका लागू हुनुपर्ने बताएकाे थियो ।

यही बीचमा प्राधिकरण बाेर्डले भने अब उक्त विषयलाई सम्बोधन गर्न पुनः अध्ययन गर्ने निर्णय गरेको छ । साे अध्ययनपछि बोर्डले आवश्यक निर्णय गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१