close

अस्ट्रेलियाका मिडियालाई पैसा तिर्न फेसबुक तयार, समाचार शेयरमा लागेको प्रतिबन्ध फुकुवा हुने

टेकपाना टेकपाना

फागुन ११, २०७७ १२:९

अस्ट्रेलियाका मिडियालाई पैसा तिर्न फेसबुक तयार, समाचार शेयरमा लागेको प्रतिबन्ध फुकुवा हुने

काठमाडौं । ६ दिनपछि फेसबुकले अस्ट्र्रेलियाका मिडिया पेज र समाचार शेयरमा लगाएकाे प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । हालै कम्पनीले अस्ट्र्रेलियाकाे अस्ट्र्रेलियाका न्युज पेजहरूलाई केही दिनमा पुरानो अवस्थामा ल्याउन चाहेको खबर त्यहाँकाे संघीय सरकारलाई दिएकाे छ ।

यसअघि फेसबुक र अस्ट्र्रेलियाली सरकारबीचकाे सम्झौतालाई फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्ग र अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्राइडेनबर्गले अन्तिम रूप दिएका थिए ।

अष्ट्रेलियाको प्रस्तवित ‘न्युज मिडिया एन्ड डिजिटल बार्गेनिङ कोड’लाई मान्दै फेसबुकले यस्तो निर्णय गर्न लागेको हाे । हाल अष्ट्रेलियाका सबै फेसबुक पेजहरुले कन्टेन्ट शेयर गर्न पाएका छैनन् भने प्रयाेगकर्ताले अस्ट्रेलियाका सञ्चार माध्यमका समाचार शेयर गर्न पाएका छैनन् ।

सामग्रीका लागि इन्टरनेट प्लेटफर्मले मिडियालाई पैसा तिर्नुपर्ने नियममाथि असन्तुष्टि जनाउँदै ६ दिनदेखि फेसबुकले अष्ट्रेलियालीहरुलाई आफ्नो प्लेटफर्ममार्फत समाचार शेयर गर्न तथा एक्सेस गर्न रोक लगाइरहेकाे छ ।

गत बिहीबारदेखि अष्ट्रेलियाली जनताहरुले आफ्नो फेसबुक अकाउन्टबाट समाचारमा एक्सेस पाउन छाडे । अहिले अष्ट्रेलियाली मिडिया तथा प्रकाशन गृहका सम्पूर्ण समाचार तथा लिङ्कलाई फेसबुकमा शेयर तथा पोस्ट गर्न विश्वको जुनसुकै कुनामा फेसबुकले बन्देज गरेको छ ।

यसबाहेक कमर्शियल तथा सरकारी सञ्चारका पेज, कम्युनिटी सपोर्ट ग्रुप, च्यारिटी तथा अन्य आपतकालीन सेवाबाट आउने समाचारमाथि पनि फेसबुकले बन्देज लगाएको छ । फेसबुक तथा गुगलजस्ता ठूला टेक जायन्ट कम्पनीले समाचार गृहहरुलाई पैसा तिर्न अष्ट्रेलियाको प्रतिनिधि सदनले बाध्यकारी नियमलाई पारित गरेपछि फेसबुकले यस्तो कदम लिएकाे थियाे ।

अष्ट्रलियाको कानूनसँग अधिनमा रहेर सेवा सञ्चालन गर्दा यसले विश्वका बाँकी मुलुकहरुका लागि समेत महङ्गो नजिर बसाल्ने फेसबुकलाई विश्लेषण गरिएकाे बेला फेसबुकले प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेकाे छ । 

अष्ट्रेलियाली अर्थमन्त्री जोस फ्राइडेनबर्गका अनुसार फेसबुकले अष्ट्रेलियाली अनलाइन एडबाट २३ प्रतिशत आम्दानी राशी लग्छ भने गुगलले ५३ प्रतिशत लग्ने गरेको छ । 

सञ्चारगृहलाई ठूला टेक कम्पनीहरुले किन पैसा तिरुन् भन्छ अष्ट्रेलिया ?

बितेको २ दशकदेखि ग्लोबल न्युज कम्पनीहरुले ठूला टेक जायन्ट कम्पनीहरुले आफूहरुको सेवालाई प्रयोग गरी एड बेचेर रातारात धनी भएको, तर आफूहरुलाई नाफाको सानो हिस्सा पनि नबाँडेकाे दाबी गर्दै आएका छन् । 

यस्तो बेला आम्दानी डुबेर कभरेज नै बन्द गर्नुपर्ने अवस्था आएको समाचार उद्योगहरुलाई यसले राहत प्रदान गर्ने र सन्तुलन ल्याउने अष्ट्रेलियाली सरकारको अपेक्षा छ । 

क्यानबेर्राको प्रतिस्पर्धा नियामकले गुगलसँग भुक्तानी योजनामाथि छलफल गर्न प्रयास गरेको थियो । तर यो असफल बन्यो । त्यसपश्चात नै अष्ट्रेलियाको सदनले त्यस्तो प्रस्ताव लिएर आएको थियो । 

उक्त योजनासँग गुगल सहमत छ त ?

त्यसो त गुगलले यसको बदला लिने धम्की त दिएको थियो । यद्यपि उसले अहिले रुपर्ट मूर्धोजको न्युज कर्प र सात पश्चिमा मिडियासँग अष्ट्रेलियामा सम्झौता गरेको छ । यस्तै अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन र अन्य ९ वटा इन्टरटेन्मेन्टहरु वार्ताकै चरणमा छन् । 

यी छलफल तथा सम्झौताको वित्य विवरण त बाहिर आएको छैन, तर समाचार गृहहरुले आम्दानीको नयाँ स्रोत पाएको भन्नेमा चाहिँ पक्का भएको छ । 

अष्ट्रेलियास्थित स्काई न्युजको स्वामित्वकर्ता न्युज कर्पले भने गुगलबाट तीन वर्षे सहमति अन्तर्गत निकै ठूलो भुक्तानी पाउन लागेको बताएको छ । जसमा गैरअष्ट्रेलियाली समाचार गृह न्यूयोर्क पोस्ट, द टाइम्स तथा वेलायतको द सन जस्ता कम्पनीलाई पनि कभर गर्नेछ । 

गुगलसँगको यस्तो सम्झौताले पाठक, दर्शक तथा श्रोतालाई थप धेरै कभरेज दिने नदिने कुरामा भने हालसम्म स्पष्ट भएको छैन । हाल अष्ट्रेलियाको पत्रकार युनियनले भने त्यो नयाँ आम्दानी बोर्डरुममा भएर समाचार संकलनकै क्षेत्रमा खर्च हुनुपर्ने कम्पनीलाई दबाब दिदैँ आएका छन् । 

के अन्य मुलुकले पनि अष्ट्रेलियालाई पछ्याउलान् त ?

अष्ट्रेलियाले यस्तो किसिमको प्रस्ताव पहिलोपटक पारित गरेपनि अन्य मुलुकले भने गुगल, फेसबुक र अन्य ठूला टेक कम्पनीहरुलाई यसअघि देखि नै दबाब दिदैँ आइरहेका छन् । 

२०१९ को युरोपियन युनियत कपिराइट निर्देशिका अन्तर्गत गुगलले पैसा तिर्नु पर्ने बताइएपछि गत वर्ष फ्रान्समा गुगलले त्यहाँका प्रशासकहरुसँग वार्ता नै गरेको थियो । 

उक्त कानुनलाई लागू गर्न चाहने फ्रान्स पहिलो मुलुक थियो । यदि त्यहाँ उक्त प्रस्ताव पारित भयो भने अन्य २७ मुलुकले पनि सोही कुरा लागू गर्न चाहाने छन् । 

गुगलले प्रत्येक प्रकाशकसँग लाइसेन्सिङ डिलका लागि वार्ता गर्नुपर्ने फ्रेम वर्क एग्रिमेन्ट गुगल र फ्रान्सेली प्रकासकको समूहले गरेक थियो । 

यसबीच ले मोन्डे न्युजपेपर तथा आइ ओब्स जस्ता साप्ताहिक म्याग्नजिनले गुगलसँग सम्झौता गरिसकेको छ । 

विभिन्न मुलुकका महत्पूर्ण समाचार प्रदायकहरुसँग कम्पिटिङ डिल पछि फेसबुकले बेलायतमा फेसबुक न्युज ट्याब सार्वजनिक गरेको थियो । 

२०१४ मा एउटा कानूनले समाचार प्रकाशकलाई पैसा तिर्नुपर्ने बाध्यकारी नियम बनाएपछि गुगलले स्पेनमा आफ्नो न्युज वेबसाइट नै बन्द गरिदिएको थियो । 

२०२० मा फेसबुकले पनि यूएसए टुडे, वाल स्ट्रिट जर्नल तथा वासिङटन पोस्ट जस्ता अमेरिकी मिडियालाई पैसा तिर्न तयार भएक थियो । तर त्यसको वित्तीय विवरण भने हालसम्म सार्वजनिक भएको छैन । 

अष्ट्रेलियाली अर्थ मन्त्री फ्राइडेनवर्गले गुगल नयाँ कानुनको अधिनमा रहेर काम गर्न तयार भएकोमा आफू खुशी भएको बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१