close

खपत दोब्बर बढेको डेटाबाटै एनसेलले गुमायो २ अर्ब आम्दानी

टेकपाना टेकपाना

फागुन १५, २०७७ १५:४०

खपत दोब्बर बढेको डेटाबाटै एनसेलले गुमायो २ अर्ब आम्दानी

काठमाडौं । नेपालको सबैभन्दा धेरै आम्दानी गर्ने दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले अहिलेसम्मकै ठूलो आम्दानी गुमाएको छ । समग्रमा करिब सवा १२ अर्ब आम्दानी गुमाएको एनसेलले डेटा व्यवसायमा समेत खुम्चिनु परेको हो ।

एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले जारी गरेको सन् २०२० को वित्तीय प्रतिवेदनमा एनसेलको डेटा खपत सन् २०१९ को तुलनामा दोब्बरभन्दा बढीले बृद्धि भएको छ । सन् २०१९ मा ९ करोड ४ लाख जीबी रहेको एनसेलको डेटा खपत सन् २०२० मा बढेर १८ करोड २१ लाख जीबी पुगेको छ ।

त्यस्तै गत वर्ष महिनामा औषत ९६३ एमबी डेटा खपत गर्न कम्पनीका प्रयोगकर्ताले पछिल्लो वर्ष मासिक औषत २ जीबी ४३ एमबी डेटा खपत गरेका छन् । यो कम्पनीको इतिहासकै सबैभन्दा धेरै बृद्धि हो ।

तर कम्पनीले डेटा वापत गर्दै आएको आम्दानी भने निकै भारी मात्रामा घटेको छ । डेटाको शुल्क सस्तो भएकाले त्यसको प्रयोग बढे पनि आम्दानी भने सोही अनुपातमा बढ्न नसकेको कम्पनीले जनाएको छ ।

सन् २०१९ मा डेटा बिक्रीबाट १२ अर्ब १२ करोड १२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको एनसेलले सन् २०२० मा केवल १० अर्ब ८ करोड ७९ लाख ६० हजार रुपैयाँ मात्रै कमाउन सकेको छ । प्रयोगको मात्रा बढे पनि कम्पनीको डेटा सेवा लिने ग्राहकको संख्या भने घटेको छ ।

सन् २०१९ को वर्ष कूल ८२ लाख ३३ हजार रहेका एनसेल डेटा प्रयोगकर्ता पछिल्लो वर्ष घटेर ७६ लाख ३२ हजार ९२० मा सीमित भएका छन् । एनसेलले हाल ३ हजार २ सय ८३ थ्रीजी बीटीएस तथा ३ हजार ४ सय ६ फोरजी बीटीएस टावरमार्फत देशभर मोबाइल सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अनुसार हाल ६५ प्रतिशत प्रयोगकर्ताले स्मार्टफोन प्रयोग गर्दै आएका छन् । भाइबर, ह्वाट्सएप, म्यासेञ्जर लगायतका ओटीटी सेवाको प्रयोग बढ्दै गएपछि दूरसञ्चार कम्पनीहरुले भ्वाइस कलमार्फत बटुल्दै आएको ठूलो आम्दानीको स्रोत गुम्दै गएको छ ।

अर्कोतर्फ इन्टरनेट सेवाप्रदायकले आक्रामक रुपमा बजार विस्तार गरिरहेका छन् । जसले गर्दा मोबाइल सेवाप्रदायकलाई आफ्नो डेटा सेवाको मूल्य घटाउनुपर्ने दबाब छ ।

भ्वाइस सेवाबाट गुमेको आम्दानी डेटा सेवाबाट परिपूर्ति गर्नुपर्ने बाध्यतामा रहेका दूरसञ्चार कम्पनीहरुलाई डेटा सेवाको आम्दानी समेत खुम्चिएपछि अर्को चुनौति थपिएको छ । यसबाट डेटा सेवाको मूल्य घटाउँदैमा प्रयोग बढ्ने र सोही अनुसार आम्दानी बढ्ने विषयमा सेवाप्रदायकहरु ससंकित बनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४