close

तपाईंको पुरानो फोन असुरक्षित त छैन ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

फागुन १६, २०७७ २०:२७

तपाईंको पुरानो फोन असुरक्षित त छैन ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । वर्षाैंअघि रिलिज भएका फोनले एन्ड्रोइडको आउटडेटेड भर्सन रन गरिरहेका हुन्छन् । यसकाे अर्थ ती फोनहरुको संवेदनशील सेक्युरिटी अपडेट भइरहेको हुँदैन ।

यसकारण तपाईंका डेटाहरु पनि असुरक्षित भइरहेका हुन्छन् । यदि तपाईं आफ्नो फोनको गोपनीयता र सुरक्षाबारे चिन्तित हुनुहुन्छ भने आफ्नो पुरानो फोनको विषयमा केही कुरा याद गरिराख्नुहोस् ।

सेक्युरिटी प्याच

कुनै ह्याकरले तपाईंको फोनको सफ्टवेयरमा भएको कमजोर पक्षबारे थाहा पायो भने उसले त्यहाँ खेल्ने सम्भावना हुन्छ । तर फोन निर्माणकर्ता कम्पनीहरुले त्यस्ता कमजोरी मर्मत सम्भार गर्छन्, जसकारण कसैले पनि तपाईंको फोनको कमजोरीको फाइदा उठाउन सक्दैन ।

तपाईंको फोनलाई सुरक्षा दिन कम्पनीले बनाउने सुरक्षा कवचलाई सेक्युरिटी प्याच भनिन्छ । जब कुनै पनि साइबर अपराधीले तपाईंको फोनको सेक्युरिटीमा कमजोर पक्ष खोज्न थाल्छ, त्यस्तो बेला तपाईंले सधैं यस्ता प्याचको प्राप्त गर्नु भएको होला ।

फोनमा एउटा सुरक्षा कमजोरी देखिन्छ, नयाँ प्याच बजारमा आउँछ र समस्या हल हुन्छ । पुनः अर्को समस्या देखिन्छ, फेरी अर्को प्याच । यो एउटा निरन्तर चलिरहने प्रक्रिया हो ।

तर धेरैलाई सेक्युरिटी प्याचको बारेमा थाहा हुँदैन । सेक्युरिटी प्याचमात्र एउटा यस्तो कवच हो, जसले तपाईंको फोनलाई अपडेट गरेर खतराबाट जोगाउँछ । 

किन प्याच तयार पार्न छाडे निर्माता कम्पनीले ?

सामसङ, सोनी, गूगल तथा एचटीसी जस्ता कम्पनीले मात्र एउटै फोनका लागि लामो समयसम्म सुरक्षा कवच अपडेट गरिरहन्छन् । प्रत्येक नयाँ फोन र नयाँ एन्ड्रोइड भर्सन सार्वजनिक गरे पिच्छे कम्पनीहरुले जोखिम मूल्याङ्कन गरी नयाँ प्याचिङ बजारमा ल्याउनुपर्ने हुन्छ ।

यो आफैमा ठूलो काम हो । एउटा पुरानो भर्सनको फोनको लागि सुरक्षा कमजोरी खोजेर त्यसका लागि नयाँ प्याच तयार पार्नु आफैमा धेरै महंगो र समय लाग्ने कुरा हो । यो संभव पनि छैन ।

परिणामस्वरुप गुगल तथा अन्य फोन निर्माणकर्ता कम्पनीहरुले पुराना  ह्याण्डसेटहरुमा दिँदै आएको सपोर्ट कटाैती गर्दै आएका छन् ।

फोन जब दुई वा तीन वर्ष पुरानो हुन्छ, तब कम्पनीले सेक्युरिटी अपडेट गर्न छोटि दिन्छन् । त्यसपछि फोनमा जतिसुकै सुरक्षा कमजोरीहरु देखिए पनि त्यो कहिल्यै सम्बोधन हुँदैन ।

आउटडेटेड फोन प्रयोग गर्नु कति सुरक्षित छ ?

सेक्युरिटी इन्टेलिजेन्स कम्पनी लूकआउटका निर्देशक क्रोस्टोफ हेबेसिन भन्छन्, ‘सेक्युरिटी प्याच अपडेट नहुने फोनहरु प्रयोग गर्नु सुरक्षित मानिदैन । प्रेत्यक हप्ता वा महिनामा एउटा न एउटा सुरक्षा कमजोरीहरु सार्वजनिक भइरहेका हुन्छन् ।

एकपटक सिस्टम आउटडेट भएपछि पनि त्यही फोन प्रयोग गरिरहने प्रयोगकर्ताहरुको डिभाइस ह्याकरको निशानामा पर्ने खतरा प्रबल रहन्छ ।’

हेबेसिनका अनुसार एउटा कमजोर फोनले त्यसभित्र रहेका सम्पूर्ण विषयको पहुँच बाहिरी शक्तिलाई सहजै दिन सक्छ । त्यसमा तपाईंको व्यक्तिगत वा संस्थागत ईमेल, सम्पर्क नम्बर सम्बन्धी जानकारी मात्र नभएर बैंकिङ डिटेल लगायतका सबै विषय पर्नसक्छन् ।

तपाईंले जबसम्म त्यस्तो कमजोर फोन प्रयोग गर्नुहुन्छ, तबसम्म ह्याकरले यस्ता जानकारीहरु पाइरहन सक्छ । यदि कसैलाई तपाईंको फोनको कमजोरी थाहा छ र त्यसमा उसले माल्वेयर इन्जेक्ट गरिदिएको खण्डमा त्यो तपाईंको फोनमा सधैंभर रहिरहनेछ ।

फोन आउटडेट भएको कुरा कसरी थाहा पाउने ?

तपाईंले प्रयोग गर्दै आएको फोन आउट डेट भएको छ वा छैन ?  यसमा सेक्युरिटी प्याच राखिएको छ वा छैन ? यस्ता जानकारी थाहा पाउन सजिलो छ । यसका लागि सबैभन्दा पहिले आफ्नो सेटिङमा गएर सेक्युरिटी अपडेट चेक गर्नुहोस् ।

उपलब्ध लेटेस्ट अर्थात पछिल्लो भर्सन इन्स्टल गर्नुहोस् । फोन पछिल्लो पटक कहिले अपडेट भएको छ भन्ने जानकारी तपाईंले त्यहाँ पाउन सक्नुहुन्छ ।

यदि त्यसमा तपाईसँग लेटेस्ट सफ्टवेयर छ, तर लेटेस्ट भर्सन धेरै महिना वा वर्ष अघि रिलिज भएको देखाउँछ भने त्यो तपाईंका लागि नराम्रो समाचार हो । तपाईंको फोनलाई अब कुनै सेक्युरिटी अपडेट नदिइएको हुनसक्छ ।

निर्माणकर्ता कम्पनीहरुले तपाईंलाई कहिल्यै पनि उसले तपाईंलाई सेक्युरिटी अपडेट कहिलेदेखि दिन छोड्छ भनेर जानकारी दिदैँनन् । यसकारण यो सबै कुरा तपाईं आफैले खोजेर पत्ता लगाउनुपर्ने हुन्छ ।

यसका लागि सबैभन्दा सजिलो उपाय भनेको यदि तपाईंको फोन दुई तीन वर्ष पुरानो हो भने त्यसमा सुरक्षा अपडेटले सपोर्ट गर्न छाडेको भनेर बुझ्नुहोस् । यद्यपी यो कुरा कम्पनी कम्पनीबीच फरक रुपमा लागु हुन्छ ।

उदारहणका लागि गुगलले एन्ड्रोइड भर्सन ८.०, ८.१, ९.० र १० का लागि सेक्युरिटी अपडेट उपलब्ध गराउँदै आएको बताइरहेको छ । आफ्ना पिक्सेल फोनमा कम्पनीले तीन वर्षदेखि सक्युरिटी अपडेट दिँदं आएको छ ।

बिक्री गर्दै गर्दा गुगलले पनि अनिवार्य रुपमा कम्तिमा दुई वर्षको अपडेट उपलब्ध गराउने बाचा गर्दै आएको छ । यसको तुलनामा एप्पलका फोनहरु अझै फाइदाजनक छन् । किनभने उसले पाँच वर्ष पुराना फोनका लागि पनि सेक्युरिटी अपडेट उपलब्ध गराउँदै आएको छ ।

किनभने एप्पलसँग थोरै मोडेलका फोनहरु मात्र छन् । २०१५ मा रिलिज भएको उसको सिक्स एस फोनमा अझैं पनि आईओएस १३ इन्स्टल गर्न सकिन्छ ।

एन्ड्रोइड फोनमा यो सुविधा कस्तो छ भन्ने कुरा खोजी गर्न अलिक व्यापक अध्ययन आवश्यक छ । नोकियाले आफ्नो एन्ड्रोइड फोनमा अपडेट हेर्ने टूलबारे दिएको जानकारी थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

त्यस्तै सामसङ कम्पनीको जानकारीका यहाँ उपलब्ध छ । गुगलले पिक्सेल फोनको लागि यहाँ क्लिक गर्नुहोस् । गूगलका अनुसार उसका सबै नेक्सस फोन र फस्ट जेनेरेसनका पिक्सेल फोनहरुमा सपोर्ट बन्द भइसकेको छ ।

यस्तै पिक्सेल टु फोनले पनि यसै अक्टोबरबाट सपोर्ट गुमाउँदैछ । आफ्नो फोनको बारेमा जानकारी लिन सम्बन्धित कम्पनीको माथि उल्लेखित सपोर्ट पेजमा गएर हेर्नुहोला ।

फोन आउटडेट भएको कुरा पत्ता लगाउने अर्को सजिलो माध्यम भनेको जब तपाईं कुनै एप डाउनलोड गर्न चाहनुहुन्छ, त्यस्तो बेला तपाईं कति पुरानो सफ्टवेयर प्रयोग गरिरहनु भएको छ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

तपाईको फोनमा भएको सफ्टवेयर तथा हार्डवेयरको सीमितताले तपाईंको फोनमा कुनै पनि एप डाउनलोड हुन अप्ठ्यारो पर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४