close

विद्युतीय गाडीका लागि देशभर ५० वटा चार्जिङ स्टेसन निर्माण हुँदै

टेकपाना टेकपाना

फागुन १७, २०७७ ११:५

विद्युतीय गाडीका लागि देशभर ५० वटा चार्जिङ स्टेसन निर्माण हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विद्युतीय सवारी साधन चार्जिङ स्टेसन निर्माणको सम्झौता गर्ने अन्तिम तयारीमा छ ।

एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको एक हप्तामा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउने भएको छ । करिब ६० करोड रुपैयाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डरको आह्वान भएको थियो ।

प्राधिकरणका विद्युतीय चार्जिङ स्टेसन परियोजना प्रबन्धक सागर ज्ञवालीले भने, “बोलपत्रको मूल्यांकन सकिएर सम्झौता गर्ने तयारी भएको छ, अब एक हप्तामा सम्झौता हुन्छ ।”

उनका अनुसार देशभर ५० वटा स्टेसन निर्माणका लागि १३ वटा कम्पनीले परियोजना प्रस्ताव दिएका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एउटा चार्जरको मूल्य करिब ३० लाख रुपैयाँ पर्छ ।

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच/पाँचवटा काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा आवश्यकता भएका स्थानहरूमा राखिनेछ ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । एकै पटकमा तीनवटा सवारी साधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् । ५० वटा स्टेसनलाई विद्युत् आपूर्तिको अवस्था हेरी सञ्चालन गरिँदै जाने प्राधिकरणको योजना छ ।

सुविधा सम्पन्न स्टेसन

चार्जिङ स्टेसन सुविधा सम्पन्न हुनेछन् । मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने छ । प्राधिकरणका अनुसार सवारी साधन चार्ज गर्ने अवस्थामा पुगेपछि पालो कुरेर बस्नु पर्दैन । सवारी साधनले आफ्नो सुविधाअनुसार पहिल्यै मोबाइल एप्सबाट समय बुक गर्ने व्यवस्था मिलाइने भएको छ ।

चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारी धनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्ने छ । कति मिनेटसम्म वा कति रुपियाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन ।

५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाटै हुनेछ । स्टेसनमा यात्रुहरू फ्रेस हुन खेल तथा खाना, खाजाको व्यवस्था हुनेछ । खाजा खाना खाने समयमा जार्च गर्न सकिने भएकाले यात्राको समय बढी खर्च हुँदैन ।

प्राधिकरणले चार्जिङ स्टेसन निर्माण लागि एक वर्षअघि स्थानहरू उपलब्ध गराउन सूचना जारी गरेको थियो । पार्क, सपिङ मल तथा खुला स्थानहरूमा चार्जिङ स्टेसन निर्माण गरिने बताइएको छ ।

स्टेसन निर्माणका लागि जग्गा उपलब्ध भइसकेको र केही शपिङ मल तथा होटलहरू तयार रहेको प्राधिकरणले जनाएको छ । सम्झौता भएको छ महिनामा निर्माण कार्य सकिनेछ । –गाेरखापत्रबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४