close

क्लासिक टेकको इन्टरनेट सेवा अवरुद्ध पार्ने पूर्वकर्मचारी पक्राउ

टेकपाना टेकपाना

फागुन १७, २०७७ १३:११

क्लासिक टेकको इन्टरनेट सेवा अवरुद्ध पार्ने पूर्वकर्मचारी पक्राउ

काठमाडाैं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको इन्टरनेट सेवा अवरुद्ध पार्ने पूर्वकर्मचारी पक्राउ परेका छन् । भारतबाट ल्याइएको इन्टरनेट सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसहरु तोडफोड गरेकाे भन्दै बाराको निजगढमा कार्यरत किरण तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हाे ।

इन्टरनेट कनेक्सन गर्ने पथलैयाको नेपाल विद्युत प्राधिकरणमा राखेको डेटा सेन्टरको तारहरु निकाल्दा र अप्टिकल फाइबरलगायतका तारहरु काटिदिँदा बुधवार ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा सेवा अवरुद्ध भएको भएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीबाट काम छोडिसकेका तिमल्सिनाले क्लासिक टेकको नेशनल ब्याकबोन नै डाउन गराएका थिए । जसले गर्दा भारतबाट वीरगञ्ज हुँदै आयात गरिएको एयरटेल र सिफीको सम्पूर्ण लिङ्क डाउन भएको थियो ।

यसले मुख्यगरी बैंक तथा वित्तीय संस्थाहरुको सेवा अवरुद्ध हुनुका साथै सरकारी निकायहरुको इन्टरनेट तथा अन्य ग्राहकहरुको सेवामा असर पुगेको बताइएको छ ।

ग्राहकहरुलाई सेवा निरन्तर सेवा उपलब्ध गराउनुपर्ने इन्टरनेट सेवा अचानक काटिँदा र ‘पिक टाइम’ मा सेवा बन्द हुँदा क्लासिक टेकलाई समेत निकै हानी भएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार पूर्वकर्मचारी तिमल्सिनाले विद्युत प्राधिकरणको यस कार्यालयमा आफ्नो पुरानो परिचयपत्रमार्फत प्रवेश गरी कम्पनीका उपकरणहरुमा हानी नोक्सानी पुर्‍याएका थिए ।

ती कर्मचारी अहिले इलाका प्रहरी कार्यालय सिमरा, बाराको प्रहरी हिरासतमा रहेका क्लासिक टेकले जनाएकाे छ ।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने इन्टरनेट सेवामा अवरोध गर्न कानूनले रोक लगाएको छ । यस्तोमा प्रहरीले अत्यावश्यक सेवा ऐनअनुसार कारबाही गर्न सक्नेछ ।

अहिले काटिएको अप्टिकल फाइबर मर्मत गरेर सेवा सञ्चालन भइसकेको कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४