close

सामाजिक सञ्जालमा देखिने सूचना कुन फेक, कुन सही ? यसरी छुट्याउनुहोस्

टेकपाना टेकपाना

फागुन १७, २०७७ १३:५३

सामाजिक सञ्जालमा देखिने सूचना कुन फेक, कुन सही ? यसरी छुट्याउनुहोस्

काठमाडौं । पछिल्लो समय गलत तथा भ्रामक जानकारीको विषयमा धेरै लेख तथा समाचारहरु प्रकाशित भए । विश्व जति धेरै मात्रामा  प्रविधिको माध्यमले एकआपसमा जोडिदै गइरहेको छ, यहाँ देखिने र सुनिने हरेक कुराहरुमाथि विश्वास गर्न त्यत्ति नै गाह्रो बन्दै गएको छ ।

प्रविधिसँगै भ्रामक समाचार र कथाहरुको उदय भएको छ । डिपफेकजस्ता प्रविधिहरुको जन्म भएको छ जसले तपाईंको मस्तिष्कलाई मात्र होइन, आखाँलाई पनि माथ दिन्छ । 

धेरै जसो भ्रामक जानकारीहरु नियतवश सामाजिक सञ्जालहरुमा फैलाउने गरिन्छ । सचेत प्रयोगकर्ताको नाताले तपाईंले फेसबुक, ट्वीटर र युट्युवको फिडमा देखिने भ्रामक समाचारलाई कसरी पहिचान गर्नुहुन्छ त ?

युट्युव भिडियो

के यो लेख वा सामग्रीका लागि सक्कली अकाउन्ट हो ?, यसलाई कसले शेयर गरेको हो वा कसले बनाएको हो ?, यो कहिले तयार पारिएको हो ?,  कस्तो अकाउण्टबाट यो शेयर गरिएको छ ?, यो अकाउण्ट कति पहिले खोलिएको हो ?, यो किन शेयर गरिएको होला ? भ्रामक सामग्रीबाट जोगिन यस्ता प्रश्न मनमा अवश्य राख्ने गर्नुहोस् ।

भ्रामक जानकारीबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको कुनै पनि फिड वा पोस्टलाई शेयर गर्नु वा रीट्वीट गर्नुअघि एकछिन रोकिएर त्यसलाई ध्यानपूर्वक हेर्नुहोस् । त्यस बारेमा अध्ययन गर्नुहोस् ।

यस किसिमका सामग्रीहरु सधैं मानिसहरुको भावनात्मक पक्षलाई लक्षित गरी बनाइएका हुन्छन् । यदि तपाईंको भावनामा पनि त्यस्ता पोस्टहरुले छोएको छ भने अवश्य पनि तुरुन्त एकपटक अडिएर ती सामग्रीहरुलाई ध्यानपूर्वक हेरेर विचार गर्नुहोस्, र आफैलाई सोध्नुहोस्, ‘के मैले यो सामग्री शेयर गर्न जरुरी छ ?’

यदि साँच्चिकै तपाईं अनलाइन तथा सामाजिक सञ्जालमा आउने सामग्री पहिचान गर्ने विषयमा गहिरोसँग ख्याल राख्ने ज्ञानको खोजीमा  हुनुहुन्छ ? गैर नाफामूलक संस्था फर्स्ट ड्राफ्ट न्युजले तपाईंलाई डिजिटल वृत्तमा रहेका सामग्री पहिचान गर्न सक्षम बनाउने एक घण्टाको कक्षा तपाईंका लागि उपयोगी हुनसक्छ ।

यहाँ तपाईंका लागि छोटकरीमा गलत वा भ्रामक सामग्री पहिचान गर्ने विषयमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ । 

यदि तपाईंले कुनै पनि सामग्री शेयर गर्नुअघि यी प्रश्नहरुको खोजी गर्नुभयो भने यसले तपाईंलाई भ्रामक जानकारी शेयर गर्नबाट रोक्नेछ ।

१. पोस्टमा उल्लेख भएको जानकारी वा दावीको बारेमा एकपटक अनलाइनमा राम्ररी सर्च गर्नुहोस्

कहिलेकाहिँ तपाईंले अनलाइन फ्याक्ट चेकरहरु पनि पाउन सक्नुहुन्छ, जसले ती सामग्रीहरुको वास्तविकता र खोट पत्ता लगाउन सघाउँछन् । समाचार तथा अनलाइनमा त्यसको कीवर्ड राखेर विभिन्न सामग्रीहरु खोजी गरी त्यस्ता कथन वा अभिव्यक्तिको वास्तविकता र आधिकारिकता पत्ता लगाउन सक्नुहुन्छ । 

२. कसले त्यो सामाग्री पोस्ट गरेको हो ?

ती सामग्री पोस्ट वा शेयर गर्नुअघि पोस्ट गर्ने व्यक्तिको प्रोफाइल चेक गर्नुहोस् ।  अकाउन्ट कति समय एक्टिभ हुन्छ, पोस्ट हिस्ट्री के छ, त्यसमा देखिएका क्रियाकलापहरु र अभिव्यक्तिको ढाँचा पनि हेर्नुहोस् ।

आजको समयमा सामाजिक सञ्जालमा गतिविधिको ढाँचालाई अध्ययन गरेर पनि धेरै कुरा थाहा पाउन सकिन्छ । उदाहरणका लागि यदि एउटै अकाउन्टले दिनभर विश्वका विभिन्न कुनाबाट पोस्ट गर्दछ र त्यसमा धेरै ध्रुविकृत राजनीतिक सामग्री छ, र त्यसमा अन्य अकाउन्टले रीट्वीट गरेको छ भने त्यो पोस्ट मसिनले गरेको हुनसक्छ । 

३. अकाउन्टको प्रोफाइल पिक्चर चेक गर्नुहोस् 

तपाईंले शेयर गर्न लाग्नुभएको सामग्री पोस्ट गर्ने व्यक्तिको प्रोफाइल पिक्चर हेर्न कहिल्यै नबिर्सनु होला । त्यसमा कुनै सेलिब्रेटी वा स्टक ईमेलबाट ल्याइएको फोटोहरु प्रयोग भएको छ भने ती आईडीहरु फेक हुनसक्छन् । 

४. पोस्ट गर्ने व्यक्तिको बारेमा सोसल मिडिया अकाउन्टमा खोज्नुहोस् 

सामाजिक सञ्जालमा त्यो व्यक्तिको बारेमा के थाहा पाउन सकिन्छ, खोजी गर्नुहोस् । कतै त्यो व्यक्ति कुनै राजनीतिक वा धार्मिक संस्थासँग जोडिएको छ कि ? जसले गर्दा उसले त्यस किसिमको भ्रामक जानकारी प्रसार गरेको हो कि, त्यो पनि थाहा पाउनुहोस् । 

५. पोस्टमा भएको कन्टेन्ट नियाल्नुहोस्  

तस्वीरको आधिकारिता र वास्तविकता पत्ता लगाउन तपाईंले रिभर्स इमेज सर्च (गूगलमा सर्च बाइ इमेज ) गर्न सक्नुहुन्छ ।  तपाईंले रेभआई जस्तो टुल प्रयोग गरेर पहिले नै अनलाइनमा देखापरेको तस्वीर नै पुनः प्रयोग भएको हो कि होइन भनेर थाहा पाउन सक्नुहुन्छ ।

कुनै पनि कथनलाई अघि सार्न अधिकांश भ्रामक समाचारहरुमा परिवेश मिल्नसक्ने पुराना तस्वीरहरु प्रयोग भएका हुन्छन् । रिभर्स ईमेज सर्च गर्नुभयो भने त्यो फोटो कुन स्टोरीमा पहिलोपटक प्रयोग भएको थियो, त्यो थाहा पाउन सक्नुहुन्छ । तपाईंले गुगलको ‘स्ट्रिट भ्यू म्यापिङ सर्भिस’ प्रयोग गरेर पनि तस्वीरको लोकेसन थाहा पाउन सक्नुहुन्छ । 

आज अनलाइनमा धेरै अत्याधुनिक फ्याक्ट चेकिङ टुलहरु (तथ्य जाँच गर्ने उपकरण) उपलब्ध छन् । बेलिङक्याट नामको एउटा गैरनाफामूलक संस्थाले अनलाइन भिजुअल इन्भेस्टिगेसन आउटलाइन सञ्चालन गर्दछ । नेपाल फ्याक्ट चेकमा हेर्नुभयो भने पनि कतिपय फेक न्युज तथा तथ्यहिन सामग्रीको विषयमा जानकारीहरु थाहा पाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४