close

बिटक्वाइन माइनिङमा अत्याधिक विद्युत खपत, वातावरणीय सन्तुलन बिग्रने चिन्ता

टेकपाना टेकपाना

फागुन १७, २०७७ १६:३४

बिटक्वाइन माइनिङमा अत्याधिक विद्युत खपत, वातावरणीय सन्तुलन बिग्रने चिन्ता

काठमाडौं । पछिल्लो समय बिटक्वाइनको मूल्य वृद्धि भएका धेरै समाचार बाहिर आए । तर यसले कति उर्जा खपत गर्‍यो भन्ने कुरा कतै आउन सकेन ।

बिटक्वाइनले हालै ५० हजार डलरभन्दा धेरै मूल्य कायम गर्‍यो (पछि पुनः घट्यो) । तर यति मूल्य प्राप्त गर्न बिटक्वाइनले खपत गरेको उर्जा भने निरन्तर बढिरहेको छ ।

क्याम्ब्रिज बिटक्वाइन इलेक्ट्रिसिटी कन्जम्प्सन इन्डेक्स अनुसार बिटक्वाइनले खपत गरेको उर्जा र अर्जेन्टिनाबाट वार्षिकरुपमा उत्सर्जित कार्बन फुटप्रिन्ट बराबर छ ।

क्याब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै डिजिटल मुद्राले खपत गर्ने उर्जालाई इन्डेक्स टुल प्रयोग गरी मापन गरेको थियो ।

जेपी मोर्गान जस्तो महत्वपूर्ण वाल स्ट्रिट संस्था तथा गोल्डम्यान स्याक आदिले बिटक्वाइनप्रति रुचि देखाउनुका साथै टेस्लाका एलन मस्कले उक्त मुद्रालाई समर्थन गरेपछि त्यसको मूल्य बढेको हो ।

भविष्यको मुद्रा बन्ने व्यापक सम्भाव्यताबीच बिटक्वाइनले ‘जेरो इमिसन फ्युचर’ बाट वातावरणीय असर रोक्ने वृहत अन्तराष्ट्रिय अभियानमाथि पनि असर पुर्‍याउने देखिएको छ ।

वास्तवमा बिटक्वाइन माइनिङ अर्थात् एल्गोरिदमका जटिल सिरिजलाई समाधान गर्ने कम्प्युटरलाई बिटक्वाइन प्रदान गरिने प्रक्रियाले अत्याधिक उर्जा खपत गर्दछ ।

नयाँ बिटक्वाइन बनाउने प्रक्रिया, जसलाई बिटक्वाइन माइनिङ भनिन्छ । यो प्रक्रियामा एकदमै धेरै जटिल समस्याकाे समाधान गर्नुपर्छ । जसले यी समस्या समाधान गर्दछन्, उनीहरुले बिटक्वाइन प्राप्त गर्दछन् ।

बिटक्वाइनको छोटो इतिहासलाई खोतल्दा यो मुद्रा सन् २००९ तिर निर्माण भएको थियो । जोकोही व्यक्तिले एउटा औषत क्षमताको कम्प्युटरमा बिटक्वाइन माइन गर्न सक्छन् ।

तर बिटक्वाइन निर्माताले एकदमै सीमित संख्यामा मात्र बिटक्वाइनको निर्माण गरेका छन्, जुन २१ मिनेटसम्म माइन गर्न सकिन्छ । बिटक्वाइन जति माइन गरिन्छ, त्यसलाई प्राप्त गर्न त्यति नै जटिल एल्गोरिदमहरु समाधान गर्दै लैजानुपर्छ ।

बिटक्वाइनको वातावरणीय प्रभावसम्बन्धी अनुसन्धान गरिरहेका न्यू मेक्सिकाे विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक बेन्जामिन जोनस भन्छन्, ‘बिटक्वाइन माइन गर्न प्रयोग भएको विद्युत आयरल्याण्ड जस्तो सिङ्गो मुलुकमा खपत हुने उर्जा बराबर छ ।’

उनी अगाडि भन्छन्, ‘बिटक्वाइन माइन गर्न नै वर्षमा दर्जनौं टेरावाट बिजुली खर्च हुन्छ, जुन एकदमै धेरै हो ।’

हालसम्म विश्वमा एक करोड ८५ लाखभन्दा धेरै बिटक्वाइन माइन भइसकेको छ । यस्तै अबको समयमा एउटा औसत क्षमताको कम्प्युटरले बिटक्वाइन माइनिङ धान्न सक्दैन ।

यसका लागि विशेष क्षमता भएका कम्प्युटर उपकरणहरुको आवश्यक पर्दछ, जसले तीव्र शक्तिशाली प्रोसेसिङ पावरलाई धान्न सकोस् । र यी विशेष क्षमताका कम्प्युटरहरुका लागि एकदमै धेरै उर्जा आवश्यक पर्दछ ।

तर बिटक्वाइनका पक्षधरहरुले भने यसले नवीकरणीय स्रोतका उर्जाहरुलाई खपत गरेको भन्दै बचाउ गरेका छन् । अमेरिकामा प्लग इन भएर चल्ने निस्क्रिय घरेलु उपकरणले जति उर्जा खपत गर्छ, त्यति उर्जाले बिटक्वाइन माइनिङ एक वर्ष ८ महिनासम्म धान्नसक्ने उनीहरु बताउँछन् ।

तर वातावरणविदहरु भने क्रिप्टोमाइनिङबाट सर्तक हुनुपर्ने बताउँछन् । माइनर्सजस्ता विद्युत सस्तो भयो त्यतै कुद्ने हुँदा कोइला प्रयोग हुने क्षेत्रमा पनि यी माइनर्सहरु लोभिएर जान सक्ने आशंङ्का गर्छन् ।

क्याम्ब्रिज विश्वविद्यालयका अनुसार हालसम्म सबैभन्दा धेरै बिटक्वाइन माइनिङ गर्ने मुलुकमा चीन पर्दछ । चीन विस्तारै नवीकरणीय उर्जातिर गइरहेको छ, तर अझै पनि त्यहाँ प्रयोग हुने दुई तिहाई विद्युतको स्रोत भने कोइला नै छ ।

बिटक्वाइन मानिङलाई ट्र्याक गर्ने कुनै पनि नियामक निकाय नहुँदा विद्युतको स्रोत के छ र कसरी भइरहेको छ भन्ने पक्का छैन । माइनर्सहरु सस्तो विद्युतको खोजीमा यताउता भौतारिरहने हुँदा यसलाई ट्रयाक गर्न पनि असहज छ ।

-द गार्जियनको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४