close

बोइङ, एयरबस र नासाको काम छोडेर नेपालमै ईकमर्स व्यवसाय

टेकपाना टेकपाना

फागुन १८, २०७७ १३:१९

बोइङ, एयरबस र नासाको काम छोडेर नेपालमै ईकमर्स व्यवसाय

काठमाडौं । मनोज पन्थी पेशाले एरोस्पेस इन्जिनियर हुन् । अध्ययन सकेलगत्तै उनले विश्वप्रतिष्ठित कम्पनीहरू एयरबस, नासा, स्पेसएक्स, बोइङजस्ता विश्वप्रतिष्ठित ग्लोबल कम्पनीका विभिन्न परियोजनामा काम गर्ने अवसर पाए ।

एउटा नेपाली युवाका लागि यस्ता कम्पनीहरुका परियाेजनामा काम गर्ने सौभाग्य पाउनु नै ठूलो कुरा थियाे । स्पिरिट एरोसिस्टम कम्पनीमा रिचर्स एण्ड डेभलपमेन्टका लागि पोर्टफोलियो म्यानेजर र एरोस्पेस इन्जिनियरका रुपमा उनले ५ वर्ष काम गरे ।

बोइङ ७३७ मा अझै पनि आफूले डिजाइन गरेका पाटपुर्जा प्रयोग भइरहेकाे उनी सुनाउँछन् । एउटा सामान्य नेपालीका लागि मनोज पन्थी र उनले गरेको जागिर त सपना जस्तै थियो । तर दुई वर्षअघि ती विश्वप्रतिष्ठित कम्पनीहरुका लागि गरिरहेकाे काम छाडेर उनी नेपाल फर्किए ।

‘देशमा बौद्धिक पलायनको चरम दु:खदायी अवस्था देखेर व्यक्तिगत सफलताको आत्मसन्तुष्टिमा रमाइरहन सकिनँ । देशमै केही गर्न सकिन्छ भनेर अवसरहरुको निर्माण गर्ने र त्यो अवसर निर्माण गरेलगत्तै त्यसलाई बजारमा लिएर अगाडि ल्याउन २०१८ सेप्टेम्बरमा म नेपाल फर्किएँ,’ उनले भने ।

उनी अगाडि भन्छन्, ‘आफू पनि बनौं र देश पनि बनाउँ भन्ने सोचका साथ नेपाल फर्किएकाे हुँ । यसपछि युवालाई परिचालन गरी स्वदेशमै गरे के हुन्न र भन्ने अभियान स्वरूप व्यवासय सुरू गरेँ ।’  

नेपाल फर्कने बित्तिकै मनोजले ‘ब्यालेन्स मिडिया’ कम्पनी सुरु गरेँ । ब्यालेन्स मिडियाको उद्देश्य परम्परागत मिडियाभन्दा फरक थियो । देशमा भइरहेका नराम्रा घटनाहरुको सट्टा राम्रो कुरालाई अगाडि ल्याउने उद्देश्यले संघर्षपछि सफलताको कथा उठाउन त्यस्ता व्यक्तिहरुको प्रोफाइल स्टोरी तयार गरेर प्राइम टाइम टेलिभिजनमार्फत कार्यक्रम चलाए । 

हाल उनी ब्यालेन्स ग्रुप अफ कम्पनीका सहसंस्थापक, सीईओ तथा अध्यक्ष हुन् । युवाहरुलाई कर्म गर्न सिकाएर देशमै केही गर्ने उद्देश्य लिएको ब्यालेन्स ग्रुप अफ कम्पनीमो मूल मन्त्र नै ‘जय कर्म’ हो । 

सोही कम्पनीले लकडाउनको करिब चार महिनाअघि ‘भोक स्टेसन’ नामको क्लाउड किचेन सुरु गरेको थियो । तर लकडाउन सुरु भएलगत्तै त्यो अस्तव्यस्त बन्यो । लकडाउन सुरु भएको तीन दिनसम्म त ब्यालेन्स ग्रुप पनि निस्क्रिय बस्यो । तर चौंथो दिन अर्थात् चैत १५ गते देखि कम्पनीले ‘सबैभन्दा सस्तो’ नामको ईकमर्श सुरु गर्दै घरघरमा खाद्यन्न डेलिभरी गर्न थाल्यो । 

कम्पनीले राम्रै प्रदर्शन गर्न थाल्यो । आम्दानीमा जान थालेपछि ‘गरे के हुन्न र’, ‘जय कर्म’ र ‘हिँडे पुगिन्छ’ भन्ने तीन मूल मन्त्रलाई पछ्याउँदै कम्पनीले आफूलाई थप भाइब्रेन्ट बनाएर लग्ने योजना लिएको छ । 

हाल ब्यालेन्स ग्रुप अफ कम्पनीले ‘सबैभन्दा सस्तो’ ईकमर्श कम्पनीलाई अर्डर नाउको नामबाट रिब्राण्डिङ गर्दै सफ्ट लन्च गरेको छ । कम्पनीको सबै मोड्युलहरुमा अहिले पनि कामहरु त भइरहेका छन् । तर यी सम्पूर्ण मोड्युलमा तयारी सम्पन्न गरेर यसलाई आगामी असारसम्ममा एउटा इन्टिग्रेटेड डिजिटल मार्केट प्लेसकोरुपमा ग्राण्ड लन्च गर्ने योजना बनाएको छ । 

असार को ग्राण्ड लञ्चका लागि कम्पनीले आफ्नो ब्राण्ड ‘अर्डर नाउ’को रोडम्याप र नक्साङ्कन पनि तयार गरिसकेको छ । 

कम्पनीमा विभिन्न मुलुक तथा पेशगत क्षेत्रमा लागेका १३ जना शेयरधनीको लगानी छ । कम्पनीमा मनोज बाहेक कलाकारिता तथा हस्पिटालिटी क्षेत्रमा २५ वर्षदेखि काम गर्दै आइरहेका उद्यमी राजन सिंखडाको पनि लगानी रहेको छ । शेयरधनीबाहेक ब्यालेन्स ग्रुप अफ कम्पनीमा विभिन्न क्षेत्रसँग सम्बन्धित ५० भन्दा धेरै पेशाकर्मीहरु पनि आबद्ध छन् ।

कम्पनीले आगामी दिनमा आफूलाई स्वदेशी उद्योग, उद्यमी तथा वस्तुको लागि एउटा डेडिकेटेड इन्टिग्रेटेड मार्केटप्लेसको रुपमा तयार गरेर लैजाने लक्ष्य लिएको छ ।

यसअन्तर्गत कम्पनीले हाल स्वदेशमै उत्पादित वस्तु तथा उद्यमीहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक महिनाको अनलाइन मेला आयोजना गरिरहेको छ । 

‘धेरै ईकमर्शहरु आए, तर नेपाली उद्यमी तथा वस्तुमा नै केन्द्रित भएर डिजिटल प्लेटफर्ममा उनीहरु र उनीहरुको उत्पादनलाई अगाडि ल्याउने कोही भएनन्,’ मनोज भन्छन्  ।

उनी अगाडि भन्छन्, ‘हामीले फाल्गुन १ देखि चैत १ गतेसम्म उद्यमी नेपाली मेड इन नेपाल अनलाइन मेला चलाइरहेका छौं । यहाँबाट ग्रासरुट लेभलमा उत्पादनका काम गरिरहेका नेपाली उद्यमीहरुको उत्पादनलाई डिजिटल एक्सपोजर प्रदान गर्नुका साथै आफ्नो वस्तु उत्पादनलाई डिजिटल मार्केटप्लेसमा राख्न तथा बेच्न सबैलाई सिकाउने छौं ।’

यो अनलाइन मेला अर्डर नाउको वेबसाइट तथा फेसबुकबाट सञ्चालन भइरहेको छ । यसबाहेक कम्पनीले विभिन्न मोड्युललाई आफ्नो मार्केटप्लेसमा एकीकृत गर्ने भएको छ । यसैमध्येको एउटा मोड्युल हो ‘फार्म टु टेबल’ । 

लकडाउनको समयमा किसानले उत्पादन गरेका वस्तुहरु फालिएको बजारमा नपुगेको समाचारहरु आइरहेका थिए । ईकमर्श सञ्चालनमा आएको दुई/तीन महिनापछि मनोजको टिम काठमाडौं वरिपरीका फार्महरुमा पुग्यो । तर त्यता पनि बिचौलियाको हावी रहेछ ।

विचौलियाले धेरै भोल्युममा उत्पादन किन्ने हुँदा कृषकहरुको झुकाव त्यता बढेको उनले थाहा पाए । यसपछि कृषकहरुको उत्पादनलाई बिचौलियाको हातमा नपुर्‍याई सिधै उपभोक्ताको टेबलमा सुलभ मूल्यमा पुर्‍याउन अहिले अर्डर नाउले तयारी गरिरहेको छ । 

‘यसलाई हामीले तुरुन्तै समाधान त गर्न सकेनौं, तर ती कृषकहरुलाई हाम्रो प्लेटफर्ममा जोड्दै लगेर हाम्रो ग्राहकको भोल्युम बढेपछि उनीहरुको उत्पादित सामग्रीलाई प्लेटफर्मबाटै बजार दिलाउने हाम्रो सोच छ । क्वालिटी मेन्टेन गरेर कस्टरमको टेबलमा जावस् भनेर सुनिश्चित गर्ने छौं ।’

यसबाहेक अर्डर नाउले आफ्नो प्लेटफर्मबाट अर्को मोड्युल पनि थप गर्नेछ । जसमा प्रयोगकर्ताहरुले नयाँ तथा पुराना सामाग्रीहरु सिस्टमबाटै किनबेच गर्न सक्ने छन् । जसमा खुला बजारको नीति अपनाइनेछ । 

मेला सकिएपछि कम्पनी आफ्नो प्लेटफर्ममा सेवा क्षेत्रलाई जोड्न वर्कआउट गर्ने उनले बताए । मानिसहरुलाई आवश्यक पर्ने विभिन्न पेशाकर्मी तथा सेवाप्रदायकहरु जस्तै इलेक्ट्रिशियन, कार्पेन्टर, मेकअप म्यान आदि सबैको लिस्ट बनाएर सिस्टममा राख्ने तयारी रहेको पनि उनले बताए ।

‘यसरी हामीले मल्टी पर्पोज मल्टी भेन्डर प्लेटफर्म बनाउन लागिरहेका छौं । यसको ग्राण्ड ओपनिङ चाहिँ वैशाख १ गते गर्दैछौं । यसैका लागि कम्पनी अहिलेदेखि पूर्व तयारीमा लागिरहेको छ,’ उनले भने । 

त्यसो त कम्पनीले राखेका विविध मोड्युलहरु अहिले नेपाली ईकमर्श बजारमा नभएका होइनन् । तर कम्पनीको कार्यनीति र व्यवस्थापनले स्वदेशी उद्योग, उद्यमी र देशमा फर्किएर केही गर्न चाहेका युवाका लागि एउटा गतिलो प्लेटफर्म सृजना गरेर भ्याल्यु एड गर्न सकिने विश्वास मनोजको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४