close

आम्दानी र बचत व्यवस्थापन गर्न सघाउने नेपाली एप

टेकपाना टेकपाना

फागुन १९, २०७७ १५:२३

आम्दानी र बचत व्यवस्थापन गर्न सघाउने नेपाली एप

काठमाडौं । नेपाली युवाहरुले आम्दानी व्यवस्थापन तथा बचत गर्न सघाउने ‘फाइनान्सियल ट्र्याकर’ एप बनाएका छन् । नेपाली नागरिकमाझ वित्तीय साक्षरता विस्तार गर्दै आम्दानी व्यवस्थापन तथा तथा बचत गर्न सघाउन आरिया टेक्नोलोजीले यो एप बनाएको हो ।  

‘कमाऔं, बचाऔँ र बढाऔं’ नाराका साथ आएको यो एप अन्य देशमा बनेका ‘पर्सनल फाइनान्सियल ट्र्याकिङ एप’ जस्तै छ । तर यसमा नेपाली भाषा, नेपाली मिति सहितका अन्य थप सुविधा समेत रहेको कम्पनीका सहसंस्थापक तथा प्रबन्ध निर्देशक मनोज भुषाल बताउँछन् । 

‘हामीले बुझेसम्म नेपालमा यस किसिमका अन्य एपहरु अहिलेसम्म बनेका छैनन्,’ उनले भने, ‘अन्य देशमा भने पर्सनल फाइनान्सियल ट्र्याकिङ एपहरु थप्रै पाउन सक्नुहुन्छ ।’

अन्य देशमा बनेका यस्ता एपहरुमा सामान्यत: आम्दानी र खर्चको विवरण मात्रै राख्न सकिने फिचर हुन्छ । तर आरियाले बनाएको यो एपमा भने त्यससँगै  ऋण र सम्पत्ति समेत समावेश गर्न सकिन्छ ।

एपमा भएको ‘गोल’ फिचरले सम्पत्तिको लक्ष्य निर्धारण गर्न र त्यसलाई पछ्याउन समेत सघाउने मनोज बताउँछन् । उनी यसबारे स्पष्ट पार्दै अगाडि भन्छन्, ‘यदि तपाईं आफ्नै नयाँ घरको सपना देख्दै हुनुहुन्छ भने त्यसको योजना बनाउन सक्नुहुन्छ । मानौं ५ वर्षमा तपाईंले घर खरिद गर्ने योजना बनाउनुभयो, त्यसअनुसार यो एपले निश्चित लक्ष्य निर्धारण गरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा तपाईंलाई रिमाइन्ड गराउँछ ।’

अफलाइनमा चलाउन सकिने गरी बनाइएको यो एपमा वित्तीय साक्षरतासम्बन्धी सामग्री हेर्न भने अनलाइन हुनुपर्छ । एप प्रयोग गर्न पहिले आफूलाई रजिस्टर गर्नुपर्ने हुन्छ । तर प्रयोगकर्ताको मोबाइल नम्बर बाहेकको जानकारी भने एपको सिस्टममा नराखिने मनोजको भनाइ छ ।

‘अहिले एपमा प्रयोगकर्ताले राख्ने सबै विवरणहरु उहाँहरुकै मोबाइलमा स्टोर भएर बस्नेगरी डिजाइन गरिएको छ,’ उनले भने, ‘आगामी दिनमा भने त्यसलाई गुगल ड्राइभ, वनड्राइभ जस्ता क्लाउड स्टोरेजमा समेत ब्याकअप गर्न सकिने फिचर ल्याउँदै छौं ।’

मनोजका अनुसार अबको दुई महिनामा प्रयोगकर्ताले यस्तो सुविधा प्रयोग गर्न पाउनेछन् ।

एपमा वित्तीय साक्षरतासम्बन्धी भिडियो, ब्लगजस्ता सामग्री समेत समावेश गर्ने कम्पनीको योजना छ । जसमा ऋण कहाँबाट लिने, ख्याल राख्नुपर्ने नीति नियम, बीमा, आईपीओ भर्ने, मोबाइल बैंकिङ तथा वालेट प्रयोग गर्ने तरिका लगायतका जानकारी हुनेछन् ।

कम्पनीका अर्का सह-संस्थापक विभोर कायस्थ स्वयम् वित्तीय साक्षरताका प्रशिक्षक समेत हुन् । उनले आईएनजीओमार्फत नेपालका ग्रामीण क्षेत्रका नागरिकलाई त्यससम्बन्धी तालिमहरु दिएका छन् ।

विभोरले सन् २०११ यता कामको खोजीमा भारत जाने नेपाली कामदारहरुलाई विभिन्न तालिम तथा प्रशिक्षण दिए । आम्दानी तथा बचतको विषयलाई लिएर उनीहरुको सोच परिवर्तन गराउने काम पनि भयो । तर डायरी र कपीमा बजेट लेख्ने कुरा त्यति प्रभावकारी भएन ।

‘अहिले सबैको हात हातमा मोबाइल भइसक्यो, गाउँ-गाउँमा स्मार्टफोन पुगिसक्यो,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा त्यही मोबाइललाई आम्दानी तथा बचतको साधनको रुपमा प्रयोग गर्न सकिने गरी यो एप बनाएका हौं ।’

विभोरका अनुसार सेवा सुरु गरेको दुई महिनामा एपको डाउनलोड १००० पुगेको छ । जसमा ५० प्रतिशत जति सक्रिय प्रयोगकर्ता ५०० भन्दा बढी छन् ।

प्रयोगकर्ताले दिएका प्रतिक्रियाको आधारमा एपमा परिमार्जन गर्ने तथा फिचरहरु थप गर्ने काम भइरहेको उनको भनाइ छ । ‘कतिपय सुझाव तथा प्रतिक्रियाहरु विभिन्न सेवाप्रदायकहरुसँग समेत सम्बन्धित हुन्छन्,’ उनले भने, ‘त्यस्ता विषयहरु हामी सम्बन्धित सेवाप्रदायक कम्पनीहरुमा पुर्‍याइदिन्छौं ।’

प्रयोगकर्ता बढ्दै गएको अवस्थामा आगामी दिनमा यो एपमा मोबाइल बैंकिङ तथा वालेटहरुलाई समेत इन्टरलिङ्क गराउने कम्पनीको योजना छ । जसमार्फत प्रयोगकर्ताले आफ्नो शीर्षकगत रुपमा गर्ने खर्च यही एपबाट ट्र्याक गर्न सक्नेछन् । साथै सम्पत्ति एपमा शेयर पोर्टफोलियो समेत राख्ने योजना रहेको विभोरले बताए ।

एप निःशुल्क रुपमा डाउनलोड तथा प्रयोग गर्न सकिन्छ । यसका लागि प्रयोगकर्तालाई भावी दिनमा समेत कुनै किसिमको शुल्क नलगाइने कम्पनीले जनाएको छ । जताततै प्रयोगकर्तालाई मात्र शुल्क थोपर्ने मोडल रहेको भन्दै कम्पनीले सेवाप्रदायकबाट शुल्क लिने मोडालिटी बनाइरहेको छ ।

यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् अनि आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१