close

दोब्बरले बढ्यो अनलाइन भुक्तानीको सीमा, यस्तो छ नयाँ व्यवस्था

टेकपाना टेकपाना

फागुन १९, २०७७ १५:५०

दोब्बरले बढ्यो अनलाइन भुक्तानीको सीमा, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा एकै पटक दोब्बरले बढाएको छ । अब प्रतिदिन मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेटमार्फत (मर्चेन्ट पेमेन्ट) २० लाख रूपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ ।

यसअघि मोबाइल बैंकिङमार्फत प्रतिदिन एक लाख रुपैयाँ र इन्टरनेट बैंकिङमार्फत १० लाख रूपैयाँसम्म काराेबार गर्न पाइन्थ्याे ।

राष्ट्र बैंकका अनुसार यो सीमा एउटै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा भने लागू हुनेछैन ।

त्यतिमात्रै नभएर सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर लगायतका सेवा शुल्क भुक्तानी गर्दा कुनै सीमा लाग्ने छैन ।

यस्तै विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकम, शिक्षण संस्था (विद्यालय/कलेज), स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवाकाे कारोबारको भुक्तानी गर्नुपर्ने बिल बमोजिमको रकम भुक्तानीमा पनि सीमाले बाधा पुर्‍याउने छैन ।

धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबारबापत तोकिएको बैंकमा रकम भुक्तानी गर्दा पनि सीमाले असर नगर्ने उल्लेख गरिएको छ ।

केन्द्रीय बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानीका विशेष उपकरणहरुमा समेत सीमाले बाधा नपुर्‍याउने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१