close

अब स्मार्टसेलका ग्राहकले पनि नागरिक एप चलाउन पाउने

टेकपाना टेकपाना

फागुन १९, २०७७ १९:२

अब स्मार्टसेलका ग्राहकले पनि नागरिक एप चलाउन पाउने

काठमाडौं । अब स्मार्टसेलका सिम प्रयोगकर्ताले पनि नागरिक एप प्रयोग गर्नसक्ने भएका छन् । त्यसका लागि हाल सिस्टम इन्ट्रिगेशनको काम अघि बढेको स्मार्ट टेलिकमले जनाएको छ ।

स्मार्ट टेलिकमका एक प्रतिनिधिका अनुसार हाल नागरिक एपका लागि डिएनस लगायतका सिस्टम इन्ट्रिगेशनको काम अघि बढेको छ । यसअघि नागरिक एपको सिस्टममा नजोडिएकाले स्मार्टका सिम प्रयोगकर्ताले एप प्रयोग गर्न पाएका थिएनन् ।

स्मार्टका अनुसार यसअघि नागरिक एपको विषयमा भएको पहिलो बैठकमा स्मार्ट टेलिकमलाई पनि बोलाइएको थियो । तर, त्यसपछि कुनै जानकारी उपलब्ध नभई एप सार्वजनिक हुँदा स्मार्टको सिममा एप प्रयाेग गर्न मिलेकाे थिएन ।

त्यसपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवाप्रदायकलाई आफ्नो नेटवर्कमा नागरिक एप नि:शुल्क रुपमा प्रयोग गर्न मिल्ने बनाउन निर्देशन दिएको थियो ।

‘प्राधिकरणबाट उक्त पत्र पाएसँगै हामीले यस विषयमा जानकारी गराएका थियौं’, स्मार्टका प्रतिनिधिले भने, ‘त्यसपछि बल्ल अहिले आएर हाम्रो सिस्टममा नागरिक एपलाई जोड्ने काम भएको छ । यो प्रक्रिया सकिएसँगै स्मार्टफोनका सिम प्रयोगकर्ताले पनि नागरिक एप प्रयोग गर्न पाउने छन् ।’

साथै याे एप स्मार्टका ग्राहकले निःशुल्क प्रयाेग गर्न पाउने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१