close

कर्पोरेट पेबाट ५० दिनमा ५० करोड बढीको कारोबार

टेकपाना टेकपाना

फागुन २०, २०७७ १७:५२

कर्पोरेट पेबाट ५० दिनमा ५० करोड बढीको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको कर्पोरेट पेले छोटाे समयमै सफलता प्राप्त गरेकाे छ । सेवा सुरु भएको ५० दिनमा कर्पोरेट पे प्रणालीमा ५० भन्दा बढी व्यवसायिक (कर्पाेरेट) ग्राहक आबद्ध भएका छन् ।

उक्त प्लेटफर्ममार्फत ५० करोडभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट भएको कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका साना तथा मझौला व्यवसायलगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्नसक्ने गरी कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याइएको हो ।

यस प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी गर्न सकिनेछ । यसका साथै व्यवसायिक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक/वित्तीय संस्थाका लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यी भुक्तानी व्यवसायिक ग्राहकले छनोट गरेबमोजिम कनेक्ट आईपीएसमार्फत रियल टाइममा र एनसीएचएल/आईपीएसमार्फत नन–रियल–टाइममा गर्न सकिने छ । साथै यस प्रणालीमा ग्राहकले एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्नसक्ने व्यवस्था पनि रहेको छ ।

कर्पोरेट पे प्रणाली थालनी भएको छोटो समयमा नै यसको लोकप्रियता तथा प्रयोगले डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवर्द्धन गर्ने विश्वास कम्पनीले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१