close

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

फागुन २१, २०७७ १४:१३

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने

काठमाडौं । साना तथा मध्यम आकारका पसल, व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लक्षित गर्दै मोफसलका केही युवाले सुरू गरेको मोबाइल एप मेराे काराेबार अब निःशुल्क प्रयोग गर्न सकिने भएको छ ।

यसअघि ६ महिनाको लागि एक हजार र एक वर्षका लागि दुई हजार रुपैयाँको प्याकेज रहेको एप अब सबै प्रयाेगकर्ताका लागि नि:शुल्क बनाइएकाे हाे । एन्ड्राेइडका लागि गत मंसिरमा सार्वजनिक भएकाे एपलाई प्रयोगकर्ताले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

यो एपले उधारो कारोबार गर्ने साना तथा मझाैला व्यवसायीहरूलाई सहयाेग पुर्‍याएकाे छ । यसमा ग्राहकको नाम, फोन नम्बर, कारोबार विववरण तथा पैसा सबै कुरा राख्न मिल्छ ।

कसैले १० दिनमा पैसा दिन्छु भनेको छ भने त्यसको पनि रिमाइण्डर राख्न मिल्ने बनाइएकाे छ । यसले किराना तथा साना पसलको कारोबारलाई नै पेपरलेस बनाउने लक्ष्य राखेकाे एप डेभलपर एवं बाइटकेयर सफ्टवेयर कम्पनीका संस्थापक समीर फुँयालले बताए ।

उनका अनुसार एपकाे यूआईमा थप सुधार भएको छ । साथै एपमा हाल इमेज (बिल) अपलाेड गर्ने फिचर थपिएकाे छ । केही दिनमै आफ्नो आम्दानी र खर्च कति भयो भनेर जानकारी दिने फिचर पनि थपिन लागेको उनले जानकारी दिए ।

कारोबारको डेटा ब्याकअपमा रहने र कस्टमरसँगको पुरानोभन्दा पुरानो हिसाबलाई समेत ट्रयाक गर्न सकिने हुँदा यसले व्यवसायीको सिङ्गो टर्नओभरको हिसाबमा समेत विश्वासिलो आधार दिने बताइएकाे छ ।

यस एपलाई नेपाली भाषामा चलाउन सकिन्छ । यो अफलाइन र अनलाइन दुवै मोडमा उपलब्ध छ । ‘अफलाइन डेटा लोड गरेपछि अनलाइन जाँदा डेटा सिङ्क हुन्छ,’ समिर भन्छन् ।

एन्ड्रोइडपछि अब आईओएस एप रिलिज गर्ने तयारीमा कम्पनी रहेको उनले बताए । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

याे पनि पढ्नुहाेस् : उधारो कारोबारको झन्झटलाई हल गर्ने गज्जबको एप : मेरो कारोबार

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१