आईटीमा के पढ्ने ?

Techpana article, Subarna Shakya

कम्प्युटर तथा आईटी भनेको अहिलेको विश्वको ‘हट केक’ विषय हो । यसमा रोजगारी पाउने सम्भावना एकदमै धेरै छ । यसको अर्को फाइदा के छ भने घरमै बसेर पनि बाहिरको काम गर्न सकिने अवसर हुन्छ ।

तर आईटी पढ्नु त्यति सजिलो कुरा भने होइन । प्रोग्रामिङ गर्न ज्ञानसँगै सीपको पनि आवश्यकता हुन्छ । यस्तोमा प्रोग्रामिङ स्किल बुझ्न सक्नुपर्छ ।

प्रोग्रामिङ कसरी लेखिन्छ भन्ने कुरा सिक्न सकिएन भने अगाडि बढ्न सकिँदैन । त्यसैले आईटी पढ्नका लागि विद्यार्थीमा लजिकल तथा म्याथम्याटिकल दिमाग लगाउन सक्ने खुबी हुन जरुरी छ ।

सरकारले शिक्षा नीतिमार्फत ९ कक्षादेखि नै कम्प्युटर इन्जिनियरिङ पढाई हुने व्यवस्था गरेको छ । त्यसपछि सीटीईभीटीई अन्तर्गतको डिप्लोमा छ । जुन प्लस टु सरह नै हो ।

कुनै विद्यार्थी सुरुदेखि नै म कम्प्युटर इन्जिनियरिङ अथवा प्राविधिक क्षेत्रमै जान चाहन्छु भन्छ भने त्यसैबाट अगाडि बढ्न सक्छ । ब्याचलरमा त आईटी सबैका लागि खुल्ला विषय जस्तै भइसकेको छ ।

गणित पढेको विद्यार्थीले सजिलै बीसीए (कम्प्युटर एप्लिकेशन) पढ्न पाउँछ । फिजिक्स र गणित भए इन्जिनियरिङ पढ्न सक्छ । बीआईएमका लागि फिजिक्स पढ्नुपर्छ भन्ने छैन ।

त्यस्तै स्टाटिस्टिक्समा मास्टर्स गरेर एक वर्षे पोस्ट ग्र्याजुएट कम्प्युटर पढेर फेरी एमसीए गर्नेहरु पनि छन् । यस हिसाबले विद्यार्थीले स्कुल तहदेखि मास्टर्स गरिसकेपछि पनि चाहेको खण्डमा आईटी पढ्न पाउने विभिन्न विकल्पहरु छन् ।

कम्प्युटर इन्जिनियरिङमा स्कोप पनि राम्रो छ । किनभने विश्वमै धेरै तलब भएको क्षेत्र नै यही हो । तर विद्यार्थीहरुमा कम्प्युटर इन्जिनियरिङ वा आईटी कुन भन्ने कुरामा ठूलो दुविधा रहेको पाइन्छ ।

वास्तवमा आईटीमा कम्प्युटर प्रविधिका साथै सफ्टवेयर प्रविधि प्लस कोर सञ्चार प्रविधि पनि आउँछन् । अहिले आएर त्यसलाई आईसीटी पनि भन्न थालिएको छ ।

कम्युनिकेसन तथा नेटवर्क, कम्प्युटर हार्डवेयर, कम्प्युटर सफ्टवेयर, र त्यसपछिको इमर्जिङ टेक्नोलोजी पनि आउँछ । इन्जिनियरिङ पढ्ने भनेपछि त्यसमा कम्युटर डिजाइन, एनालासिस, इनोभेसन आदि हार्डवेयर म्यानुफ्याक्चरिङ तिर बढी केन्द्रीत हुन्छ ।

तर हाम्रो नेपालमा कम्प्युटर इन्डस्ट्री नभएकाले कम्प्युटर इन्जिनियरले गर्ने काम र कम्प्युटर साइन्स पढेकोले गर्ने काम एउटै जस्तो देखिन्छ । त्यस्तै कम्प्युटर एप्लिकेसन विषयमा विशेषगरी एप्लिकेसन कसरी बनाउने भनेर सिकाइन्छ ।

एप्लिकेसन बनाउन इन्फ्रास्ट्रक्चर चाहिन्छ । हार्डवेयर इन्फ्रास्ट्रक्चर कम्प्युटर इन्जिनियरले नै बनाउने हो । त्यसलाई चाहिने नेटवर्क इन्फ्रास्ट्रक्चर लगायत सबै डिजाइन गर्नुपर्ने हुन्छ । एप्लिकेसनलाई त्यहिँ होस्ट गरिन्छ वा इन्प्लिमेन्ट गरिन्छ ।

अनि अर्को कोर्ष इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) छ । एमबीआईटी पनि छन् । त्यो भनेको व्यवस्थापनको विषय हो । सबैभन्दा माथिबाट हुने भनेकै व्यवस्थापनको काम हो ।

कुनै पनि क्षेत्रमा नीतिगत रुपमा सूचनाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । जस्तै बैंकमा म्यानेजरले गर्ने तथा सीटीओले गर्ने कामहरुलाई लिन सक्छौं । यसका लागि एमबीआईटी तथा बीआईटी उत्तम हुन्छ ।

तर यहाँ एउटै बास्केट जस्तो देखिन्छ, काम गर्ने पनि र व्यवस्थापन गर्ने एउटै जस्तो । भिन्नता छुट्याउन नसकेर त्यस्तो देखिएको मात्र हो ।

अहिले बजारमा विभिन्न कोर्षहरु आएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कम्प्युटर एप्लिकेसनको कोर्ष पनि छ । कम्युटर इन्जिनियरिङ छ । बीएड आईसीटी छ । एमआईटी आउने क्रममा छ ।

अन्य विश्वविद्यालयहरुपमा पढाई हुने पनि यीनै कोर्षहरु नै हुन् । तीबाहेक बीसीआईएस (ब्याचलर अफ साइन्स इन् इन्फरमेसन सिस्टम) चैं इन्फरमेसन सिस्टम र म्यनेजमेन्टसँग सम्बन्धित काेर्ष हाे ।

हामीकहाँ सफ्टवेयर इन्डस्ट्री पर्याप्त भएपनि हार्डवेयर इन्डस्ट्री भने छैन । त्यसका लागि ठूलो लगानी चाहिन्छ । इन्टेल, आईबीएम जस्ता कम्पनीहरु नेपालमा आउन सकेको भए अर्कै हुन्थ्यो ।

कम्प्युटर इन्जिनियरिङका लागि बिक्री गर्नेभन्दा पनि बनाउने कम्पनीहरु चाहिन्छ । त्यसपछि मात्रै कम्प्युटर इन्जिनियरहरुको भूमिका देखिन्छ ।

यद्यपि कम्प्युटर इन्जिनयरिङ पढ्नेहरु हार्डवेयर तथा सफ्टवेयर जुनसुकै इन्डस्ट्रिमा काम गर्न सक्षम नै हुन्छन् । नेपालको सन्दर्भमा कम्प्युटर साइन्सको स्कोपको कुरा गर्नुपर्दा प्रोग्रामिङतिर, थ्याेरेटिकल ब्याकग्राउन्ड आदिमा देखिन्छ ।

त्यस हिसाबले कम्प्युटर साइन्सको भूमिका यहाँ बढी देखिएको हो । विदेशी कम्पनीहरुसँग मिलेर काम गर्ने सफ्टवेयर कम्पनीहरु यहाँ धेरै छन् । उनीहरुले ती कम्पनीमा काम गर्न पाउँछन् ।

कम्प्युटर एप्लिकेसन पढ्नेले एप्लिकेसन बनाउने तिरै लाग्ने हो । जस्तै मोबाइल एपको कुरा गरौं । कसरी राम्रो एप बनाउने भन्ने हुन्छ ।

यसरी कुनै इन्डस्ट्रीको एप्लिकेसन बनाउनेतिर उनीहरु केन्द्रीत हुन सक्छन् । कम्प्युटर इन्जिनियर बन्ने वा कम्प्युटर एप्लिकेसनको एक्सपर्ट बन्ने भन्ने कुरा सुरुमा ख्याल गर्नुपर्छ ।

यहाँ कुनै कुनै विश्वविद्यालयमा इन्फरमेसन म्यानेजमेन्टको कोर्षका लागि कम्प्युटर इन्जिनियरिङ जस्तो पाठ्यक्रम बनाएको पनि देखिन्छ । खासगरी विज्ञताकै कमीले यस्तो भएको हो ।

कोर्षहरु एकदमै हार्डकोर बनाएपछि विद्यार्थीलाई पढ्न र बुझ्न गाह्रो हुन्छ । विश्वविद्यालय फरक भए पनि कोर्ष लगभग समान नै हुन्छन् ।

वास्तवमा विश्वविद्यालयहरुको कोर्ष एकै किसिमको मापदण्डमा बनेका हुन् । जुन विश्वविद्यालयमा पढे पनि त्यहाँका कोर्षले न्यूनतम आवश्यकता र मापदण्ड पुरा गरेकै हुन्छन् ।

किनभने उनीहरुले पछि गएर काउन्सिलको सदस्यता अर्थात मान्यता लिनुपर्ने हुन्छ । त्रिविलाई अरु विषयको कोर्ष हेर्नेगरी सीडीसी (करिकुलम डेभलपमेन्ट सेन्टर)को रुपमा सरकारले मान्यता दिएको छ ।

त्यसैले यसलाई केन्द्रीय विश्वविद्यालय पनि भनिएको हो । त्यस हिसाबले अन्य विश्वविद्यालयका कोर्षलाई त्रिविले पनि मान्यता दिनुपर्छ ।

यस अर्थ अन्य विश्वविद्यालयले आफ्नो स्लेभस बनाउँदा मनोमानी गर्न पाउँदैनन् । एसोसियसन अफ कम्प्युटर मसिनरी (एसीएम) नामक अन्तर्राष्ट्रिय संस्था छ ।

जसले कोर्षका लागि एउटा स्ट्याण्डर्ड तोकेको छ । त्यसैअनुसार अन्तर्राष्ट्रिय रुपमा नै कम्प्युटर साइन्सका लागि के के चाहिन्छ, कम्प्युटर इन्जिनियरिङमा के के पढाउने भन्ने कुरा विचार गरेरै कोर्ष तय गरिएको हुन्छ ।

विदेशी विश्वविद्यालयको सम्बन्धन

खासगरी विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले स्पेसलाइज्ड अर्थात विशिष्टकृत कोर्षहरु पढाइरहेको देखिन्छ । कसैले साइबर सेक्युरिटी सम्बन्धी कोर्ष पढाइरहेका छन् ।

नेटवर्क, इन्फरमेसन सेक्युरिटी विषयका कोर्ष पनि छन् । उनीहरुले यसरी नेपालमा नभएका विषय पनि पढाइरहेका छन् र नेपालकै विश्वविद्यालयमा भएको कम्प्युटर साइन्स पनि छ ।

तर इन्जिनियरिङ भने त्यस्ता कलेजहरुमा पढाई भएको देखिँदैन । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिने कुरामा पनि छुट्टै मापदण्ड छ ।

विश्वको एक हजारभित्र र्‍यांक भएका अर्थात त्रिविभन्दा उच्च र्‍यांकिङ भएका विश्वविद्यालयले मात्र नेपालमा सम्बन्धन दिन पाउँछन् । नेपालमा त्रिवि हुँदाहुँदै किन विदेशी विश्वविद्यालयलाई सम्बन्धन दिन पाउने भन्ने प्रश्न छ ।

यहाँभन्दा राम्रो गुणस्तर भएकै कारणले त्यस्ता विश्वविद्यालयलाई नेपालमा कोर्ष सञ्चालन गर्न दिइएको हो । कोर्ष नै नमिल्ने, आउटलाइन नै बेग्लै भएका विश्वविद्यालयका कोर्ष भने नेपालमा सम्बन्धन दिने चलन छैन ।

वास्तवमा विदेशी वा स्वदेशी विश्वविद्यालय भनेर छुट्याइरनु आवश्यक पनि छैन । विश्वविद्यालय आफैंमा युनिभर्सल हो । एजुकेसन भनेको विश्वव्यापी विषय हो ।

हामीले अरु विश्वविद्यालयसँग जति सम्पर्क र सम्बन्ध बढाउन सक्यौं, त्यति नै राम्रो हुन्छ । त्यसैले त हाम्रा विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिहरु अमेरिका, जापान, कोरिया जस्ता देशमा राम्रा राम्रा विश्वविद्यालयमा पढिरहेका छन् । अन्तर्राष्ट्रिय ठूला कम्पनीमा काम गरिरहेका छन् ।

काठमाडौंमै पढ्नुपर्ने बाध्यता कति ?

वास्तवमा आईटी काठमाडौंमै पढ्नुपर्छ भन्ने छैन । किनभने मानवीय जनशक्ति उपत्यका बाहिरपनि राम्रै किसिमले विस्तार भएको छ ।

नेपालमा यसको पढाई सुरु हुँदा कम्प्युटरका मान्छे नै थिएनन् । अहिले त कम्प्युटर साइन्स पढेका अथवा त्यसमा मास्टर्स डिग्री गरेका धेरै जनशक्ति छन् ।

पीएचडी गर्नेहरु कम भए पनि मास्टर डिग्री पढ्नेको अभाव छैन । काठमाडौं बाहिर पनि आईटीका विषयहरुको पढाई हुन थालेपछि क्रमशः जनशक्ति पनि त्यसै हिसाबले फैलिँदै गएको छ ।

जहाँ पनि सुरुमा थोरै संख्याबाट यस्ता कार्यक्रम सञ्चालन हुने हो । अर्को कुरा अब हामी अनलाइनबाट पनि पढ्न र पढाउन सक्छौं ।

नेपाल खुला विश्वविद्यालयले देशभरका विद्यार्थीलाई अनलाइनबाटै पढाइरहेको छ । यस हिसाबले उपत्यका बाहिर जहाँ दक्ष जनशक्तिको अभाव छ, त्यहाँबाट अनलाइन माध्यमको सहयोगमा आईटी पढ्न सकिने वातावरण बन्दै गएको छ ।

नेपाल मात्र होइन, बाहिरका विश्वविद्यालयका कतिपय कोर्षहरु अहिले अनलाइनमै पढ्न सकिने किसिमका छन् ।

नवीनतम् प्राविधिक विषयको अध्ययन

आर्टिफिसियल इन्टेलिजेन्स जस्ता विशिष्टकृत कोर्ष नेपालमा आइसकेका छैनन् । यस किसिमका स्पेसलाइज्ड कोर्षहरु ब्याचलर लेभलमा भन्दा पनि मास्टर्स लेभलमा अध्ययन गर्ने स्तरका हुन्छन् ।

तर पनि  इलेक्ट्रिक अन्तर्गत मसिन लर्निङ, आईओटी तथा आर्टिफिसियल इन्टेलिजेन्सका विषयहरुको पढाई नेपालमै भइरको छ । कतिपय आफैं सिक्न सकिने विषय पनि हुन्छन् ।

कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ र डेटा साइन्समा मास्टर्स तहसम्म पढाई हुन्छ । एमबीआईटीमा बिग डेटा विषयको पढाई भइरहेको छ ।

विश्वविद्यालयहरुले पनि त्यस किसिमका स्पेसलाइज्ड कोर्षहरु आवश्यकता अनुसार थप्दै गइरहेका छन् । यस्तोमा स्पेसलाइज्ड विषय पढ्न बाहिरै जानुपर्छ भन्ने अवस्था क्रमशः नरहने स्थिति बन्छ । तर अहिलेका लागि भने कुनै कुनै विषयको अध्ययन ग र्न बाहिर जानुपर्ने अवस्था रहनसक्छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team